~नारायण अमृत~
राति बाह्र बज्यो । निद्रा त कहाँ पुग्यो कहाँ ! बाहिर वर्षा रोकिएको छैन । अरू जोड-जोडले दर्केको छ । उछिट्टिएर झ्यालको चेप हुँदै बाछिटा कानसम्म आइपुग्यो । छटपटी बढ्यो । गाउँको बर्खे-परिदृश्य आँखावरिपरि नाचिरह्यो निरन्तर । विगतमा हराउनुको रोमान्स र विरक्तिको मध्यविन्दुमा अल्मलिएँ म ।
–– –– –– ––
त्यहाँ पनि पानी नै छ । खोला-नाला, कुलो-खोल्सा, पाखा-पखेरा सबैतिर । छिपछिपे छपनी टेकेर गुन्यु उचाल्दै मेला जाँदाका दिन अब फेरि यो जुनीमा
फर्केर आउलान् र खै ! गाउँको पानीले मकैका पात र स्याखु बजाउँछ, तर यता थोत्रा मिनिबस, सिमेन्टका छत र रेनकोटमा चित्त बुझाउनुपर्छ । उता पानीले भिजाउँछ पसिना उमार्ने खेत र आशा फुल्ने आली, तर यता त्यही पानीले घिसारेको छ ढलसँगै मिनरल वाटरका रित्ता बोत्तल ।
–– –– –– ––
बिहानै उठ्यो घाँसको जोहो गर्न हिँड्यो । आयो, हतार-हतारमा ‘भात’ खायो । र, लाग्यो स्याखु च्यापेर पर्ममा । दिनभर खेतलासँग कहिले जिस्क्यो, कहिले गीत गायो, कहिले अरूका कुरा काट्यो र निरन्तर बीउसँग खेल्यो । यी उपक्रममा कुनै पनि वेला लपक्कै कपडा टाँस्सिने गरी भिजाउँथ्यो, उही पानीले । भिज्नु नै त थियो जिन्दगी ।
डाँडामा घाम डुबेपछि केश-केशबाट पानी चुहाउँदै घर फक्र्यो । जोस थियो, जवानी थियो र हिम्मत पनि । त्यसैले त मध्यरातसम्म काम गर्दा पनि कुनै ऐया थिएन, कुनै अत्था थिएन । ओहो ! सम्झँदा पनि कति मीठो दुःख त्यो । रहरलाग्दो व्यस्तता । सिमिसिम पानी परिरहेको थियो । हामी खेताला हिलाम्मे गह्रामा रत्तिँदै थियौँ । बाउसेहरू आली लगाउने निहुँमा हामी खेतालीलाई हिलो छ्याप्थे । र, उभिएर हास्नसम्म हाँस्थे । हलीदाइ पनि कम थिएनन् । गोरु फर्काउँदै हिलै उराल्थे उनले पनि घरी-घरी । मलाई थाहा थियो, यही मेसोमा उसका चोर नजर ममाथि परेका थिए । अरूका आँखा छलेर उसले जे विनिमय गरिरहको थियो त्यसले मलाई अरू रोमान्चित पाथ्र्यो । लाजले रातै हुन्थेँ । अजीव आकर्षणले तरंगीत हुन्थ्यो सिंगो शरीर । हल्लन्थ्यो मुटु । शारीरिक रूपमा ऊ हेमान थिएन, तर हँसिलो, पटक-पटक ठट्टा गरिरहनुपर्ने, हँसाइरहनुपर्ने । घतलाग्दो बोल्थ्यो ऊ ।
मेला सकेर फर्किंर्दै गर्दा डाँडाको चौतारीमा उसले मेरो हात मुसार्दै प्रशंसा गरेको थियो, ‘तिमी साँच्चै राम्री छ्यौ मनिता ! ठूलो निधार छ, गोलो अनुहार र लाम्चा आँखा । तिम्रो मायाले मलाई पागल बनायो ।’ प्रशंसाका शब्द मेरा कानमा गुन्जिरहँदा म केवल दाँतले ओठ टोकेर सुनिरहेँ उसलाई । भन्न त मलाई पनि मन लागेको थियो, ‘तिमी पनि कम छैनौ नि ! तिमीमा म लठ्ठै छु । रातभर तिम्रै कुरा खेल्छन् यो मनमा । साँच्ची, म तिमीलाई माया गर्छु ।’ तर शब्दमै नभए पनि मेरो भंगीमाले यही सम्प्रेषण गरिरहेको थियो ।
बरको छेल पारेर प्रणय-संलाप चलिरहँदा खेतालाको लर्को गीत गाउँदै चौतारो छिचोल्थ्यो । हलो-जुवा बोकेका बाउसेहरू गोरुका ताँती अघि लगाएर स्याँ-स्याँ र सुइँ-सुइँ गरेको सुनिन्थ्यो । योभन्दा पि्रय थियो, मलाई उसको बोली, सामीप्य र तल बेंसीमा बगिरहेको मोदी खोलाको सुसावट ।
पानी थियो, प्रेमी थियो र पानीजस्तै मनग्गे प्रेम । हिलो र धान-बीउको सम्बन्धजस्तै अन्योन्याश्रति बन्दै गयो हाम्रो प्रेम । बर्खामै उसले मलाई धेरैपटक भेट्यो । गफ गर्यो । कहिले रोयो । कहिले हाँस्यो । र, कहिले सपना बाँड्यो । डाँडाको चौतारीको छपनीमा बसेर जून हेर्दै गफ गरेको सम्झना कहिले मेटिएला र ! अन्नपूर्ण शृंखलाबाट मोदीसँगै बग्दै आएको मन्द हावा, पानीले भरिएका गह्रामा टल्केको जुनेली छाया र मेरो गालामा पोखिएको उसको तातो हावा । सम्झँदा पनि मन झंकृत हुन्छ । उसले भन्थ्यो, ‘बर्खाले जुरायो हाम्रो प्रेम । पानी र प्रेमको नाता हाम्रा लागि गहिरो छ ।’ उसले कविता लेखेको मलाई थाहा त छैन, तर ऊ पूरै कवि हृदयको भन्ने लाग्थ्यो ।
एकपटक उसले रोपाइँ गर्दा फाँटको एउटा थुम्कामा उभिएर ‘भलो’ गायो । लाग्यो, उसले मलाई फकाइरहेछ । माया गरिरहेछ । जे भनेको छ, त्यो मेरा लागि हो । भलोमा कहिएकी कान्छी मै हुँ । पानीसँगै गाँसियो भलोमा पोखिएको माया पनि ।
भर्खरै रोपेको धानले हिलो समाउँदै थियो । पानीमा तैरिएकाजस्ता देखिने गाभा हरिया बन्दै थिए गह्राछेउछाउका खाँझ र खरबारीमा अर्को छिमल घाँस मौलाउँदै थियो । बाली लगाइसकेका गाउँका अनुहारमा फुर्सदको ताजगी देख्न सकिन्थ्यो ।
एकदिन उसले मलाई सिमेखेतको धारामा भेट्यो । ऊ हतारोमा थियो, खुसी गुमेको देखिएको । मैले कपडा धुँदैगर्दा उसले मूलगह्राको आलीमा उभिएर भन्यो, ‘अब म गाउँ बस्न नपाउने भएँ ।’ अध्ययनको सिलसिलामा उसले गाउँ छाड्नुपर्ने भयो । ऊसको यो खबरले म रन्थनिएँ । धारातल जमेको पानीमा देखिएको चम्किलो सूर्यको प्रतिविम्ब पनि केवल एउटा भ्रमजस्तो लाग्यो मलाई । साथ गुम्नुको सम्भावनाले मेरा आँखा रसाए । मैले निर्निमेष उसलाई हेरिरहेँ । उसको मुहारमा पनि ‘सियाँल’ छाएको थियो । आँखा झमिझमि पार्दै उसले भन्दै थियो, ‘म भइनँ भने पनि तिमीले आफ्नो ख्याल गर्नू । पढ्न नछाड्नू । हामी गाउँलेको जिन्दगी यस्तै हो ।’
उसले मलाई जे भनेर सम्झायो त्यसले म अरू विचलित बनेँ । निरन्तर बग्दो धाराको पानी मुखमा छ्याप्दै आँखा मिचेँ, यो सपना थिएन । अन्ततः उसले झोला बोकेर घर छाडेको दृश्य हेर्नुपर्यो मैले । ऊ हिँडेको देखिन्जेलसम्म हेरिरहेँ । उसले गाउँ छाडेको महिनाँसम्म पनि उसको सामीप्यता याद आइरह्यो । अरूभन्दा पनि हाम्रो प्रेमको भविष्यबारे चिन्तित थिएँ म । मनमा अनेक कुरा खेले । कतै उसले मलाई बिर्सने पो हो कि ? यो प्रश्नले मलाई पटक-पटक झस्क्याइरह्यो । डाँडाको चौतारी, चौतारीमा उभिएका वर-पीपल, घरछेवैको धारो, रातो-दिन ऊ हिँडेको बाटो र रोपाइँ गरेको फाँट, सबैतिर उसको छाया देख्थेँ म ।
उसले मैले पत्र लेखुँला भनेको थियो । घरगाममा हुलाकी आउँदा कतै उसले मलाई चिठी पो लेख्यो कि भनेर मुटु धड्कन्थ्यो । जब हुलाकी हाम्रो घरछेउको बाटो हुँदै अर्को गाउँतिर लाग्थ्यो, त्यतिवेला म मूर्छित हुनुसिवाय अरू केही विकल्प थिएन । म झोक्राएर बस्थेँ ।
कहिलेकाहीँ सोच्थेँ ‘मैले उसलाई यतिसाह्रो किन माया गरिरहेकी छु ?’ यसको सत्य जवाफ मसँग थिएन, थियो त केवल उसको याद ।
असोज लागेपछि गामघरमा पूजाआजा हुन थालेँ । कतै सत्यनारायणको पूजा, कतै चण्डी र कतै सप्ताह वाचन । सबै पूजाआजामा भजन-कीर्तन हुन्थ्यो । हामी साथीसंगी पनि ‘रुमानी रङ’मा रग्मगाउँथ्यौँ । रमाइलो गर्दैगर्दा बीचमा मलाई अचानक उसको यादले सताउँथ्यो । र, म शून्यमा हराउँथे । नाचगानको वातावरण एकाएक एउटा निस्सार परिदृश्यमा बदलिन्थ्यो मेरा लागि । र, मैले साथीहरूलाई भन्थेँ, ‘आज पुग्यो, घर जाम भो ।’
मोराको न कुनै पत्र प्राप्त भएको थियो न त कुनै समाचार । गाउँले कसलै मलाई भनेको थियो, ऊ काठमाडौं पुगेको छ रे ! ऊ काठमाडौं पुग्यो भनेपछि मेरो मनमा अरू धेरै शंका-उपशंका उब्जिन थाले । उतै कुनै केटी पो पायो कि उसले ! एक्लै रिसाउन थालेँ म । कतिसम्मको पापी त त्यो, कमसेकम एउटा पत्र त लेख्न सक्थ्यो नि ! मैले उसका अप्ठ्यारा, बाध्यता र संघर्षका पाटालाई कहिल्यै सोच्न सकिनँ वा चाहिनँ । मलाई उसको साथ, तृप्ति र संवेगको खाँचो थियो ।
बिहे महिना सुरु भयो । हुर्केका छोरा-छोरीका लागि आफन्तहरू मिल्दो जोडी खोज्न थाले । कहिले सानीलाई केटा हेर्न आएको कुरा सुनियो, कहिले तल गोबिन्देले वधू हेर्न गएको । त्यति मात्र होइन, मेरा कतिपय साथीको बिहे नै तय भएको खबर सुनियो ।
एकदिन मलाई पनि केटा हेर्न आयो । म विवश थिएँ, मलाई मेरो उसले बिहेको वचन दिएको थिएन । परिवार र आफन्तहरूको चौघेरामा उभिएँ म । ‘तैले धेरै सपना नदेख कान्छी, अब बिहे गर्नुपर्छ । केटा राम्रो छ’ अहिल्यै आफ्नो बिहेको उमेर नभएको भन्ने मेरो जिकिरको प्रतिरोधमा आमाले भनिन्, ‘अब अरू कुरै छैन । बिहे पक्कापक्कीजस्तो भयो ।’
नभन्दै बिहे तय भयो । मलाई यस्तो चंगुल बनाएर मनाइयो, मसँग विद्रोहको ताकत थिएन । मेरी एउटी संगीले सोधी, ‘जीवनलाई तैले अब छाड्छेस् त ?’ मैले आँखाबाट आँसु झार्दै मेरो बाध्यता र उसको बेखबरको अवस्था दर्साएँ । बिचरी, संगी काली पनि रोई ।
प्रकृतिमा पानी थिएन, त्यसैले मेरो औपचारिक प्रेमी पनि थिएन । अब मसँग थियो, एउटा अपरिचत, अन्जान र राम्रो भनिएको अर्कै साथी । घरपरिवारका तमाम रंग-ढंग, शैली र रिवाज । सबै मलाई नाटकजस्तै लाग्थे । शरीर र व्यवहार एउटा थियो, मनमस्तिष्क र सपना अरू-अरू नै । पृथक् ।
मैले पछि सुनेँ, उसले मेरो बिहेको खबर पायो रे ! रोयो रे ! विछिप्त भयो रे ! र, अरू अरू… पनि । तर, सबै मेरा लागि केवल सन्तप्त पार्ने समाचार मात्रै थिए, कुनै विद्रोही उद्दीपक थिएनन् ।
बिहेपछिका पाँच वर्षसम्म पनि मैले उसलाई भेट्न सकेकी छैन । देख्न पाएकी छैन । सुन्छु ‘उ पनि सहरमा कहीँ कतै समयसँग भौँतारिँदै छ ।’ त्यतिवेला मैले उसलाई भनेकी थिएँ, ‘तिमी मेरो भगवान् हौ । हामी सँगै नभए पनि भगवान् त जहाँ पनि हुन्छन् ।’ तर, अहिलेसम्म मैले भगवान् भेट्न सकिनँ ।
हरेक वर्ष वर्षात्मा उसको यादले मलाई तड्पाउनसम्म तड्पाउँछ । बाहिर पानी दर्किरहेको रात एकातिर उसको मीठो सम्झना र अर्कोतिर आफूसामुको तीतो यथार्थले मलाई अनौठो चेतमा भसाएको छ ।
अहिले मसँग वर्षात् त छ, तर ऊ छैन । उसका कुरा छैनन् । हलो-जुवा, रोपाहार छैनन् । अर्म-पर्म छैन । रोपाइँ छैन । भलो छैन । पानी भरिएर समाबाट पानी छचल्काउने गह्रा छैनन् । मोदीको सुसावट छैन । भन्ज्याङको चौतारी छैन । छेल पार्ने वर-पीपल छैन । मात्र पानी छ र साथमा फगत जुनेली विगतको तिर्सना ।
नारायण अमृत
narayan.amrit@gmail.com
(स्रोत : Amritbachan.com)