कथा : उद्घाटन

~रोशन प्रजापति~Roshan Prajapati

“भन्ज्याङको बखते आ’को थियो । तिम्लाई दिनु भनेर एउटा पत्र छोडेर गा’छ । घरमा थोपो पानी छैन । पानी लिन पँधेरा गएँ म । पत्र माथि तख्तामा राख्दियाछु रातो खोल भएको बाइबलमाथि ।” गर्मीले असिनपसिन भएको शरीरले आँगन टेक्न नपाउँदै तुलबहादुरलाई श्रीमतीको हतारोले झस्काइदियो । “ए जुनकिरी, कति हतार गर्छेस् ? बूढाले आँगन टेक्न नपाउँदै मृगभैँm कुदिहाल्नुपर्छ ? फेरि यो बखते भन्या को हो ? के कस्तो चिठ्ठी लिएर आ’को हो ?

म यहाँ थाकेर लोथ भा’छु । बरु पानी एकछिनपछि मै ल्याइदिउँला । मलाई माथि जान पनि अहिले अल्छी ला’छ । झर्को नमानी पैला चिठ्ठी ल्याइदेन ।” भादगाउँले टोपीले हम्किँदै तुलबहादुरले जुनकिरीको पाइला रोक्यो ।

“कति मात्र स्वास्नीको भर पर्छौ ए बूढा । साँझ पर्न लागिसक्यो, भात पकाउन त परै जाओस्, खानलाई समेत एक घुट्को पानी छैन भनेको कुरा सुनेनौ कि क्या हो ?” खुट्टा बजार्दै जुनकिरीले हल्का रिस पोखिन् । मुढामा थुचुक्क बस्दै तुलबहादुरले शान्त स्वरमा भन्यो, “मैले भनेँ त पानी मै ल्याइदिउँला, एकछिन पसिना त ओभाउन दे । तँ यतै भात पकाउन तरखर गर् । तरकारी छैन भने बरु करेसामा गएर फर्सीको मुन्टा लिएर आ । अनि केलाउँदै गर् । त्यतिञ्जेल त म पानी लिएर आइपुगिहाल्छु ।”

“कुरा सुन्दा त अहिले पानीको गाग्रो घर ल्याएजस्तो । नेताको आश्वासनले पेट भरिन्न । मलाई खुल्लासँग काम गर्न दिए मात्र पनि कति सञ्चो हुन्थ्यो । कहिले सुध्रिने हो यो बूढा ? म त हार खाइसकेँ ।” घरको पेटीमा गाग्री राखेर जुनकिरी भित्र छिरिन् । जुनकिरीले झर्कोफर्को गरेको हेरी तुलबहादुर जुड्डामा ताउ मिलाउँदै मुस्काइरह्यो । उसले एकपल्ट आङ तन्काएर चारैतिर हेर्‍यो । आँगन सफासँग बढारेर पोतेको । किलोमा बाँधिएका बाख्राहरू टन्न खाएर सुस्ताइरहेको । आँगनको डिलमा ढकमक्क फूलहरू फुलिरहेको । हरेक ठाउँ चिटिक्क मिलेको, सफा । साँच्चै आइमाई भएको घरको रूप नै बेग्लै हुँदोरहेछ । बिहान झिसमिसेमा उठेदेखि झमक्क रात नपरुञ्जेल घरको धन्दामा एकछिन फुर्सद पाउन्न । तैपनि कामको उचित सम्मान पाउँदैनन् यिनीहरूले । न त पारिश्रमिक नै पाउँछन् । यस्तो भए तापनि उनीहरू आÇनो कर्तव्यबाट कहिल्यै विमुख हुँदैनन् ।

हातमा चिठ्ठी बोकेकी जुनकिरी आँगनमा देखापरिन् । जति झर्कोफर्को गरेपनि श्रीमान्को आज्ञा, आग्रह उनी कहिले पनि टार्न सक्दिनन् । चिठ्ठी तुलबहादुरको हातमा थमाउँदै भन्न थालिन्, “म नभए कसरी बस्दो हो यो बूढा । एउटा सिन्को भाँच्न पनि मेरै भर पर्नुपर्ने । घर बाहिर त ‘सबैलाई सहयोग गर्दै हिँड्छ तेरो बूढा त’ भनी सबै मलाई फुक्र्याउँछन् । पत्याउँ कि नपत्याउँ म त दोधारमा परेँ ।” जुनकिरीको कुरा सुनेर तुलबहादुर मज्जाले हाँस्यो । “किन खिसी गर्छौ अर्कालाई ?” हल्का रिसाउँदै जुनकिरीले भनिन् । जुनकिरी साँच्चै सोझी छिन् । यसैले त तुलबहादुर उनलाई जिस्काइरहन मन पराउँछ ।

“कुन चाहिँ बखतेले ल्याएको चिठ्ठीमा के लेखेको रहेछ त, हेरिहालुँ ।” चिठ्ठी हातमा लिँदै तुलबहादुरले भन्यो । “साकार मण्डलीका एल्डर छ नि के रे प्रेमनाथ, हो उनैका छोरा त हो नि बखते । तीन चार वर्ष विदेश नि बसेर आ’का हुन् क्यारे । तिम्लाई दिनु भनेका छन् क्यारे । मैले पढ्न जान्या भए खबर अघि नै सुनाएर यतिखेरसम्म त पँधेराबाट पानी समेत ल्याइसक्थेँ हुँला क्यारे । अलमल अलमल गरेर झमक्कै साँझ पार्ने भो यो बूढाले । के गर्नु, बाउआमाका सन्तान धेरै भए । भाइबहिनी स्याहार्दा स्याहार्दै स्कुलको मुख देख्न पाइनँ ।” पेटीमा रहेको पिरकामा बस्दै जुनकिरीले भनिन् ।

“पढ्ने रहर गर्छेस् भने अहिले पनि के बितेको छ र । पढ्नलाई उमेरले छेक्दैन । हाम्रै मण्डलीमा प्रौढ कक्षा ल्याउँला अनि पढ्लास् तर बीचैमा छोड्न पाउन्नस् नि ।” खाम च्यात्दै तुलबहादुरले भन्यो । एउटा पत्र पनि पढ्न नजान्दा साँच्चै विरक्त लाग्दोरहेछ । परमेश्वरका वचन समेत अर्काले पढेको भरमा बुझ्नुपर्ने । आज पहिलोपल्ट तुलबहादुरको वचनले जुनकिरीको मुटुमै छेड्यो । हँसियाको टुप्पोले आँगनमा टुक्क टुक्क हान्दै उनले सोच्न थालिन् । अक्षर नजान्नुजस्तो कानो जीवनमा केही रहेनछ । मर्ने बेला हरियो काँक्रो भनेर किन नीच मारिबस्नु । अहिले अक्षर पढ्न जान्या भए परमेश्वरको वचन सुन्न पनि अर्काको बैशाखीमा भर पर्नुपर्ने थिएन । प्रौढ आइहाले त कम्मर कसेर अनि घुँडा धसेर पढ्नुपर्छ । मान्छेले प्रौढ पढेर पछि म्याट्रिक कटाएको खबर पनि रेडियोले दिएकै हो । प्रार्थना गर्नुपर्छ, आँट हुनुपर्छ, असम्भव के होला र ।

“बूढी, यो काटाकुटी बजारमा फेरि अर्को मण्डली सुरु हुने भो । प्रेमनाथका छोरा बखते अब त अझ बेन्जामिन रे, हो, उही पास्टर भएर आ’का रहेछन् विदेशमा तीन वर्ष पढेपछि । साकार मण्डली फेरि चोइटिने भो । भन्ज्याङमा उनीहरूकै घरको चोटामा मण्डली उद्घाटन कार्यक्रम राख्या रै छ । त्यही निम्तो पत्र रै छ यो ।” तुलबहादुरको कुराले जुनकिरीको कान ठाडो भयो ।

काटाकुटी बजारमा पुग नपुग दुई सय घर जति होला । हिँडेर जाँदा बजार छिचोल्न पन्ध्र बीस मिनेट भन्दा बढी लाग्दैन । यही बजारमा पहिलो पल्ट जीतबहादुर पास्टरले स्थापना गरेको थियो साकार मण्डली । बजारको मध्य भागमा स्थापना गरिएको मण्डलीले स्थानीय बजारवासीको निकै विरोध खेप्नुपर्‍यो । पास्टर जीतबहादुरलाई तीनपल्टसम्म चौकी पुर्‍याइयो । तैपनि पास्टरले हरेश खाएन । उपवास बसेर प्रार्थनामा निरन्तर जुटिरह्यो । एक रात सुत्ने तरखरमा रहँदा अचानक उसको ढोका कसैले ढक्ढक्यायो । पास्टर भित्रैबाट ‘को हो ?’ भनी करायो । बाहिर उही उसलाई चौकीमा पोल लाउने व्यक्ति रहेछ । ऊ उसको घरमा गएर प्रार्थना गरिदिनुपर्‍यो भनेर अनुनय गर्दै रहेछ । ‘कतै यो अर्को षड्यन्त्र त होइन ?’ पास्टरको मनमा चिसो पस्यो । ‘कतै परमेश्वरले प्रार्थनाको उत्तर स्वरूप यो बजारमा अचम्मको कार्य गर्न खोज्नुभएको पनि हुनसक्छ” अर्को मनले भन्यो । पास्टर जीतबहादुर द्विविधामा पर्‍यो । उसले एकपल्ट श्रीमतीको अनुहारमा पुलुक्क हेर्‍यो । श्रीमतीले उसको हात च्याप्प समाइन् । “तँ नआँटी, मेरो निम्ति जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो ।” ढोका खोलेर जीतबहादुर त्यही मान्छेसँग अन्धकारमा बिलायो । साँच्चै परमेश्वरको योजना अचम्मको रहेछ । घरमा त्यो मान्छेको छोरा पीडाले छट्पटाइरहेको थियो । डाक्टरले माया मारेपछि घरमै ल्याएको रहेछ । केही सीप नलागेपछि छोराले नै प्रार्थनाको लागि पास्टरलाई बोलाउन पठाएको थियो । पहिलाको सबै घटना बिर्सेर पास्टरले उसको लागि प्रार्थना गर्न थाल्यो । प्रार्थना गर्दा गर्दा घण्टाहरू बित्न थाले । उता घरमा पास्टरकी श्रीमती उसको बाटो हेर्दै प्रार्थना गर्दै रात कटाउन थालिन् भने यता पास्टर भने सैतानलाई डाँट्दै बिरामीको चङ्गाइको लागि खुरन्धार प्रार्थनामा लागिरह्यो । परिवारका सबैले विगतमा भए गरेका गल्तीहरूको लागि क्षमा माग्यो । त्यहाँ क्षमा लेनदेन भयो । बिहानीपख बल्ल बिरामी केही सुस्तायो । प्रार्थनाको उत्तरस्वरूप रोगले क्रमश: उसको शरीरलाई छोड्दै गयो । धेरै महिनापछि ऊ राम्ररी निदायो । सबैको आँखाबाट खुशीका आँसु बर्सिन थाले । सबैजनाले उत्तिखेरै ग्रहण गरे । सम्पूर्ण परिवार निरन्तर मण्डलीमा जान थाले । उही व्यक्ति पछि एल्डर प्रेमनाथको नामले चिनिन थाल्यो । अहिले तुलबहादुरलाई पत्र पठाउने बखते अर्थात् पास्टर बेन्जामिन त्यही मर्न लागेको बिरामी थियो जसलाई पास्टर जीतबहादुरले रातभर जागा रहेर परमेश्वरमा प्रार्थना गरी ब्युँताएको थियो ।
“हुन त आफू अनपढ मान्छे । त्यति धेरै जानेको, बुझेको पनि छैन । यो सानो काटाकुटी बजारमा अहिले नै आठ, नौ वटा मण्डलीहरू भैसके । अब फेरि नयाँ मण्डली खाँचो छ र ? भएका मण्डली भवनहरू अझै भरिएका छैनन् । यताको मान्छे उता, उताको मान्छे यता तान्नमै अगुवाहरू व्यस्त छन् । बजारभरि सुसमाचार नसुनेका मान्छे कोही छैनन्, बजारियाहरू मण्डली छिर्ने कुरै गर्दैनन् । यस्तो अवस्थामा बरु सबै एकजुट भएर भएका मण्डली मात्रलाई पनि सुसज्जित बनाएमा परमेश्वरको काम प्रभावकारी हुन्छ जस्तो लाग्छ । खोइ किन अर्को मण्डली खोल्नुपर्‍यो ?” जुनकिरीले तुलबहादुरको मुहार ताकिन् । जुनकिरीको कुराले तुलबहादुर एकछिन गम खायो । वास्तवमा उनको भनाइमा सोह्रै आना सत्यता छ । कुनै संस्था वा व्यक्तिको स्वार्थको लागि मात्र मण्डली स्थापना गर्न खोज्नु कतिको बुद्धिमानी हो ? विश्वासीहरूलाई विभिन्न डिनोमिनेसनको घनचक्करमा पेलेर लानुको साटो ख्रिस्टलाई केन्द्रविन्दु बनाएर एउटै विशाल मण्डलीमा गोलवन्द भएर जान सके कति असल हुन्थ्यो । तर के गर्नु, लाटो देशमा गाँडो तन्नेरी बन्नैपर्ने । निमन्त्रणा पत्रले हम्किँदै तुलबहादुरले भन्यो, “यस्तै हो बूढी, तिम्रो जस्तो विशाल मन सेवकाइको ढोङ रच्ने अगुवाहरूमा पाइन छाड्यो । परमेश्वरको अगुवाइभन्दा पनि आÇनो चाहना र संस्थाको स्वार्थको लागि मण्डली खोल्न थालियो । पास्टर जीतबहादुरको मृत्युसँगै टुक्रिन सुरु भएको साकार मण्डलीले अझै स्थिरता पाएन । पास्टर जीतबहादुरको जस्तो त्याग र तपस्या नयाँ पुस्तामा खट्कियो । उनी छउन्जेल कसैले चुईंक्कसम्म बोल्न सकेनन् । उनको उच्च व्यक्तित्व र परमेश्वरप्रति इमानदार सेवकाइले सबैलाई एकतावद्ध हुन करमै पारेको थियो । उनी पछि आएका पास्टरले आÇनो प्रतिष्ठा जोगाउन सकेन । परमेश्वरभन्दा मान्छेमा बढी भर पर्न थाल्यो । मण्डलीमा निस्वार्थ सेवकाइ गर्नेहरूलाई पाखा लगाउने चालबाजी सुरु भयो । अनि त के चाहियो र ? एउटै मालामा उनिएका फूलहरू क्रमश: झर्न थालिहाल्यो ।”

“तिम्रा कुरा पनि ठीकै हो बूढा तर म साकार मण्डलीको मात्र कुरा गरिरहेकी छैन । हुन त मभन्दा तिमी धेरै घुमेका छौ । अझ तिम्लाई बढी थाहा होला । विकट गाउँवस्तीमा मण्डलीको नामोनिशान छैन, सहर बजारमा घरैपिच्छे मण्डलीको बोर्ड झुण्डिन थालेको छ । कि कसो बूढा ?” जुनकिरीले आÇनो असन्तुष्टिलाई मनभित्रै दबाएर राख्न सकिनन् ।
“सुविधामुखी अगुवा भएको कारण नै यो असन्तुलन पैदा भएको हो । परमेश्वरको बोलावटलाई बुझ्न नसकेको हो वा बुझपचाइरहेको हो, मैले पनि बुझ्न सकेको छैन । अब जेसुकै होस्, मण्डली खोल्ने निर्णय नै गरिसकेर उद्घाटन कार्यक्रम राखेपछि यसो मुख देखाउन भए पनि जानै पर्‍यो ।”

“जान त जानु, उद्घाटनमा जानु, बैठकमा जानु, गोष्ठीमा जानु, तिमी चाहिँ सबैतिर जानु, म भने पानी लिन समेत नजानु ?” अचानक जुनकिरी रिसाएकोमा तुलबहादुरलाई अचम्म लाग्यो । उसले पश्चिमतिर नजर लगायो । घाम डुब्नै आँटेको रहेछ । गफले गर्दा पानी ल्याउनै भुलेछ । मुढाबाट उठ्दै तुलबहादुरले गाग्रो समायो । “अब पसिना ओभायो । म पानी लिन गएँ । तिमी भान्छाको तयारी गर्दै बस । तु गएर तु आइहाल्छु ।” गाग्रो बोकेर ओरालो झर्न लागेको तुलबहादुरलाई फेरि जुनकिरीको चर्को आवाजले ठिड्ड उभ्यायो, “ए बूढा, यतिका ढिलो त भइ नै सक्यो । अब मेरो अलिकति कुरा सुन्दैमा रात परिहाल्दैन । अब तिमी उद्घाटनमा जाने भैहाल्यौ । तिम्लाई पनि दुई शब्द पक्कै बोल्न देला । त्यसमा एक शब्द मेरो पनि राख्देऊ । अबदेखि बैज्ञानिक हिसाबले मण्डली खोल्नुपर्छ । एउटा मण्डलीबाट कति दूरीमा वा कति जनसंख्याको फासलामा अर्को मण्डली खोल्न पाउने हो, एउटा आचारसंहिता बनाएर लागु गरौँ भनेर प्रस्ताव राख । परमेश्वरको बेवास्ता गरी कसैको निहित स्वार्थको लागि मण्डली खोलेर दुनिया हँसाउने कार्य नगर अगुवा हो भन । घरैपिच्छे, टोलैपिच्छे बीस पच्चीस जना मान्छे जम्मा गरेर मण्डली भनी झ्याली पिट्दै हिँड्दा छिमेकीहरूले क्या हो तिमेरु सबै क्रिस्तान एकै होइनन् भनेर हाम्लाई सोधेर हैरान पारेका छन् भनिदेओ । भन्नलाई डराउनु पर्दैन बूढा ।”
“म अहिले उद्घाटनको लागि जान लाग्या होइन बूढी, म पानी लिन जान लाग्या ।” ओरालो झर्दै तुलबहादुरले भन्यो । उसको कुराले जुनकिरी आँगनै थर्किने गरी हाँसिन् ।

समाप्त

क्वाइनोनिया भक्तपुर मण्डली
हाल: धुलिखेल, काभ्रे
प्रतिक्रियाको लागि: helpandcare99@gmail.com

(स्रोत : Ebachan.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.