~रोहित शाही~
जाडो याममा सूर्यले भर्खरै घुम्टो खोल्नै लागेको एक मध्यदिन । बोट चढेर मूइवो आइल्याण्ड जाँदै गर्दा एकतमास, एक्लोपनले गिज्याइरहेको ओसिलो मनका ढोकाहरुमा अचनाक कतैबाट ढोका ढक्ढकाए जस्तोगरी एउटा पूर्वीय लवज मिश्रित स्वरले बोलाए जस्तो लाग्यो । यसो पछाडि फर्केर हेरेँ, एउटी गहुँगोरी भारतीय जस्ती लाग्ने यूवती मतिर हेर्दै “दाजु हेर्नुस् न !! मूइवोमा म्याडमको एउटा पार्सल कलेक्सन गर्न जान लागेकी तर मलाई त्यहाँको लोकेशन थाहै छैन, के तपाईंलाई चाइना बियर कतापट्टी पर्छ, थाहा छ होला ?” ताज्जुव लाग्यो । म उनीभन्दा अघिल्लो सिटमा छु,
उनी मभन्दा पछाडि अर्थात् मेरो अनुहार उनले देखेकी पनि छैनन्, अनि कसरी सीधै नेपाली नै हो भनेर ठम्याउन सकेकी होलिन् !
: “तपाईलाई म नेपाली नै हो भनेर कसरी लाग्यो ?” मेरो आश्चर्य आतुर थियो उत्तरका लागि ।
: “तपाईंले नेपाली गीत गुनगुनाउनु हुँदैथियो । त्यसमा पनि नारायण गोपालको ….” उनको सपाट उत्तरले कता-कता काउकुति लागेजस्तो भयो । म आफैलाई थाहा थिएन कि मैले गीत गुनगुनाउँदै छु भनेर, तर मलाई थाहा थियो कि म यसरी हराउने गर्छु । साथी भाइहरु भन्ने गर्छन्, म एक्लै मुस्कुराउने पनि गर्छु अरे, सायद हुन पनि सक्छ । विस्तारै विस्तारै बाहिरी संसारबाट बरालिँदै छ, दुनिँया भएर पनि किन किन म आफू नितान्त एक्लो भए जस्तो लाग्न थालेको छ । वस्, म छु अनि मेरो गोरेटो छ मेरो जिन्दगीको ।
: “मेरो प्रश्नको उत्तर दिनुभएन त ?” उनको पुरक प्रश्नले मेरो ध्यान भंग भयो ।
: “प्रश्न ?”
: “मैले तपाईलाई चाइना बियर कतापट्टी पर्छ भनेर सोधेकिथिएँ ।”
: “साँच्ची ! के नेपाली गीत गाउनेहरु सबै नेपाली नै हुन्छन र ? मलाई त हिन्दी गीत मनपर्छ अनि गाउन पनि मनलाग्छ ।” म अझै उही आश्चर्यको धङधङीले मुक्त भईसकेको थिइँन, यसैले उनको प्रश्नभन्दा म आफू चाँडै मुक्त हुन चाहेँ ।
: “तपाई जतिसुकै हिन्दी गाउनुस् वा अंग्रेजी तर तपाईंले गुनगुनाउनु भएको नेपाली गीतमा भएको नेपाली सुवास मेरो कानले ठम्याउन कत्ति पनि समय लागेन ।”
: “ए हो र ! जे होस्, तपाईको तर्क वजनदार छ ।” म हारेको सिपाहीं भइसकेको थिए ।
: “अनि के मेरो प्रश्नको उत्तर पनि साह्रै वजनदार छ र ?”
: “प्रश्न ? ए, साँच्ची !! चाइना बियर सोध्नु भा’थ्यो हैन ? कस्तो संयोग म पनि त्यहीं जाँदै छु र त्यो चाइना बियर भन्ने रेष्टुरेण्ट खोज्नु नै पर्दैन । बोटबाट उत्रनासाथ तपाईंको नाकमै ठोक्किन आईपुग्छ ।”
यसपालि उनी हाँसिन् निस्फिक्रि ! मानौं, उनी मलाई वर्षैदेखि चिन्दछिन् । उनका अनौपचारिकता र मलाई नेपाली ठम्याएर जुन आफनोपनका साथ खुलिन् । मलाई लाग्यो म हङकङमा हैन, कतै नेपालकै गामवेसीमा छु अनि थकाइ मार्न चौतारीमा बसेका बेला कसैले मेरै गाउँको नाम लिएर ….’त्यो ठाउ कतापट्टी पर्छ ?’… भनेर सोधेजस्तो लाग्यो । मलाई आफनो गाउँको ‘नोस्टाल्जीया’ले सताउन थाल्यो । तर बोट रोकिँदाको घचक्क आवाजले पुनः मलाई प्रवासको वास्तविकताबाट पर भाग्न दिएन ।
हामी दुवै उत्रियौं । चाइना बियर दश कदमको अन्त्यमा थियो तर पाइलाहरु अल्छी मानेझैं सुस्तरी चल्दै थिए । त्यो निष्ठुरी दश कदम मलाई गिज्याउँदै थियो । कदमहरु भारी थिए तर गन्तव्य टुसुक्क छेवैमा एकाएक वैंशले उन्मुक्त भएको यूवतीझैं मुसुमुसु हाँसिरहेको थियो । हामी दुवै चाइना बियरको काउन्टरमा गयौं र मैले म्यानेजरको नाम लिँदै एउटा मझौला ओजनको पार्सल झोलाबाट निकालेर टेवुलमा राख्न नपाउँदै एउटा चाइनिज हाम्रोसामु आयो ।
: “खासमा यो पार्सल मेरालागि होइन, एउटा मेरो साथीको लागि हो र त्यो लिनका लागि एउटी मेड पठाएको छु भन्दै थियो यतिबेलासम्म त आउनु पर्ने !”
हामी याने कि उनी र म एक अर्कालाई हेर्दै हास्यौं । अब पालो थियो उनको “एक्स् क्यूज् मी, सर, मलाई मेरो मेडम मतलव मिस तुङ्गले पठाउनु भएको ।”
निकै शंकालु पाराले त्यो चाइनिज मेनेजरले, हामी दुबैलाई पालैपालो हेर्यो र कुटील पाराले हाँस्यो ।
: “तपाईहरु पक्का पनि जोक गर्दै हुनुहुन्छ होला !”
: “हैन सर, वास्तवमा हामी दुबै बोटमा भेट भएका हौं । संयोगवस हाम्रो गन्तव्य एउटै थियो । सायद यो ‘डेस्टिनी’ पनि हुनसक्छ ।”
मेरो स्पष्टिकरणले हामी माथिको शंकालाई निवारण गरेको उसको अनुहारमा छाएको चमक र पहेंला दांतहरुले बोलिरहेका थिए ।
: “ऐनी वे ! यो एउटा गजवको संयोग हो र धन्यवाद π” हात हल्लाउँदै मेनेजर भित्र पस्यो ।
हाम्रो काम सकिएको थियो । अब र्फकन दश कदम मात्र बाँकी थियो र उही बोट यात्रुहरुको प्रतीक्षमा आँखा टोलाउँदै थियो । त्यो दश कदम कतिसम्म निष्ठुरी थियो भने हामी दुई-चार कुरा र औपचारिक परिचय गर्न पनि पाएका थिएनौं तर उनका खुट्टाहरुले अर्कै बाटो नाप्न खोजिरहेका थिए ।
: “अब फर्कने होला हैन ?” मैले त्यो दश कदमलाई आशापूर्ण नजरले हेर्दै आशको त्यान्द्रोमा झुण्डन खोजेँ ।
: “फर्कन त फर्कने हो तर यहाँबाट तुङचुङ जान बस पनि लाग्छ रे, यसैले म अब बसबाटै फर्कन्छु । के तपाईं अब डिस्कभरी बे नै फर्कने ?”
चटक्कै चुँडियो मेरो त्यो आशाको त्यान्द्रो तर पनि मर्नुभन्दा वौलाउनु निको लाग्यो ।
: “हो, मैले काम गर्ने अफिस त्यहीँ छ । यसैले म डिस्कभरी बे नै फर्कनुपर्छ ।”
: “हवस्त अनि धन्यवाद । पछि भेटौंला ।”
वस्, उनले घोषणा गरिन् हाम्रो छोटो मिलनको समापनको । अघिदेखि शान्त देखिएका मेरा हातहरु अचानक उनको घोषणापश्चात् एकाएक हावामा…..हल्लिए “ओके बाई बाई !”
अब मेरोलागि त्यो दश कदम पनि थिएन । न कुनै गन्तव्य, बेहोसी पाइलाहरु बोझिलो मन लिएर अगाडि बढ्दै थिए । अचानक मलाई केही केही छुटेजस्तो लाग्यो र खल्ती छामें, मोवाइल, वालेट दुरुस्तै थिए, ल्याएको पार्सल बुझाइसकेको थिएँ तर पनि केही बिर्सेजस्तो लाग्यो । फरक्क फर्केँ, चाइना बियर भएतिर । नेपथ्यबाट त्यो दश कदम ‘सम्भावनायुक्त’ पाराले मलाई हेरिरहेको थियो । उनी अघि हामी छुटि्टएकै ठाउँमा उभिरहेकी रहिछिन्, मलाई हेक्का भएन तर जब उनी मेरोनजिकै आईन्, म झसङ्ग भएँ, कताकता मार्कसिक्स पर्दा आत्तिए जस्तो ।
: “तपाई अझै यहीँ ?” मेरा मुखबाट फूलझैं खसेका थिए यी शब्दहरु ।
: “मलाई तपाईंको नाम सोधौं कि नसोधौं भयो, यही द्विविधामा यत्तिकै टोलाएर उभिएछु । अनि तपाईं किन फर्कनु भएको ?”
: “मलाई कता कता केही चिज छुटेजस्तो लाग्यो ।”
: “तपाईंको बोट पनि त छुट्न लाग्यो नि !”
: “मलाई थाहा छ, मैले बोट पनि मिस गर्नु हुँदैन तर म केही चिज हराएर रित्तो फर्कन पनि त सक्दिनँ ।”
: “हेर्नुस्, मेरो त बस पनि छुट्न लाग्यो होला, म त जानुपर्दछ । ए साँच्ची ! तपाईंको मोवाइल नम्वर दिनुस् न, कहिलेकाँहि फुर्सदमा फोन गरौंला ।”
हतार- हतारमा मैले मेरो मोवाइल नम्बर दिएँ । उनी अगाडि बढ्दै “हेर्नुस् है ! बोट मिस नगर्नुहोला, फेरि समयमा नपुग्नु होला नि ! बाई …बाई !!”
मेरो शरीर सम्पूर्ण रुपले शिथिल भएको थियो । यसैले हात नउठाइकन बाई बाई भनेँ । यत्तिकैमा बोटको साइरन बज्यो । मेरा पाइलाहरु स्वचालित भए, हतारमा बोट चढेर माथिल्लो वर्थमा गएँ र पुनः चाइना बियरतिर हेरेँ, त्यो निष्ठुरी दश कदम मलाई पनि ‘बाई…..बाई’ गर्दै थियो ।
– हङकङ
May 27th, 2008
(स्रोत : Nepalisahityasansar)