बारीको कान्लामा डल्ला फुटाइ सकेर
दौराको फेरामा अलौटा र ठेट्ना खाँदै
चप्लेटी ढुङ्गामा थकाई मेट्न बस्ने
धने र बिरे त आज भोली
आधुनिक शहरमा पसी
आधुनिक सभ्यताको आनुयायी भएछन ।
बिहानिको मिर्मिरेमा हरियाली जङल
चाहर्ने उनिहरु ,
साँझको गोधुलिमा रङिन क्षितिजसँग रमाउदै
गाईबस्तु फर्काउँदै ”रिटिङ रिटिङ नबजाउ बिनायो”को
गीतमा रमाउने उनिहरु त —
आज भोली बिहानिको मिर्मिरेमा पनि
रातको धङ धङीमा नै लट्ठ हुँदा रहेछन ।
भीर, पाखा, कन्दराहरुमा प्राक्रीतिक
फल,फूल खाइ प्राक्रीतिक
आनन्द लुट्ने मनहरु त ,
आज भोली लाछी मन लिएर
धरहरा देख्दा नै काँप्ने भएछन।
दमाइ नाच,धान नाच,सोरठी हरुमा
रमाउने आँखाहरु त ,
क्याब्रे,बेल्ली डान्स र डिस्कोमा
मोहित भएछन ।
गोरेटो हिंड्ने र झोलुङेपुल तर्ने गोडाहरु त …,
कालोपत्रे सडकमा पनि हिंड्न नसकी
चिप्लिने कारमा मात्र चड्ने
स्वाभिमानी खुट्टाहरु भएछन
त्यसैले —समयको परिवर्तनले
आज भोली उनिहरु त
मिष्टर’ डन ‘ र मिष्टर ‘बिक्की’भएछन
‘धने’ र ‘बिरे’को निश्छल नामहरु त
आडम्बर र स्वार्थले पुरिएर
मौनतामा बिलाएछन ।
(प्रस्तुत कविता, कवयत्री आचार्य को कबिता सङ्रह, “परदेशबाट” -२०६२- मा प्रकासित भयको छ । )
(स्रोत : Nepalisahityasansar)