~मोदनाथ प्रश्रित~
अफ्रिका, पुर्वीएसिया, युरोप र दक्षिण एसियाबासीका थरिथरी अनुहार, छालाको रंग, नाक, आँखा, रौं आदिको विविधता देख्दा पहिले धेरैलाई लाग्थ्यो यिनीहरू छुट्टाछुट्टै मूलबाट विकसित सन्तान होलान्। धार्मिक कथाहरूले बनाएका थिए – संसारका सबै मानिस मनु र शतरूपा वा एडम र इभका सन्तान हुन्, तर यो धेरैलाई पत्यार लागेको थिएन। जब बिज्ञानले आर्य, मंगोल, आस्ट्रिक, द्रविड सबका आदिम पुर्खाका जोडी एउटै हुन् भन्ने प्रमाणित गर्यो “वसुधैव कुटुम्बकम्” (विश्वका सबै मानिस एकै परिवार हुन्) भन्ने पूर्वजको भनाइमा सबैको विश्वास जाग्न थाल्यो। “समान प्रसवात्मिका जातिः” (समान प्रजनन प्रक्रिया हुने समुदाय एउटै जाति हो) भन्ने शास्त्रीय परिभाषा विज्ञानसम्मत ठहर्यो। आफ्नो पुर्ख्यौली नातागोता सम्बन्ध पत्ता लगाउन हामीकहाँ थर, वंश, जात, जाति, गोत्र, प्रवर आदिको लहरो पहिल्याउने परम्परा छ। यी कुराले दुई चार सय या दुई हजार वर्षको आंशिक संकेत दिन सक्दछन्। “थर” प्रायः गाउँ, देश आदिका आधारमा र “जात” वर्णव्यवस्थाको श्रम विभाजनका आधारमा छुट्टिन्छ। “जाति” भाषा संस्कृतिले छुट्टयाउँछ। वेद पुराण आदिका प्रमाणद्वारा गोत्र र प्रवरले तीन चार हजार वर्षसम्मको पुर्ख्यौली साइनोका संकत जुटाउँछन्। तर त्यस्ता चिनारीले प्रायः दक्षिण एसियाको नेटो काट्न सक्दैनन्।
भाषा र शब्दहरूबाट पत्ता लाग्ने पूर्ख्यौली सम्बन्धले विश्वकै सेरोफेरो छिचोल्दो रहेछ। संस्कृत व्याकरण महाभाष्यको भनाइ छ, “एउटा शब्दलाई राम्ररी केलाएर बुझयो र सही ढंगले प्रयोग गरियो भने त्यसैले सबै लोकमा कामधेनुको भूमिका खेल्छ।” अहिले शब्दकै आधारमा मानिसको विश्वव्यापी नातागोता पहिल्याउने त्यही जंगी कामका ज्ञान भिडाउँदै छन्। संस्कृतका प्रखर युवा विद्वान् जनार्दन घिमिरेले। उनको लामै समयको शोध सधानाबाट प्रकाशित भएको छ – ३३६ पृष्ठको गहकिलो ग्रन्थ “शब्द सन्दोह।” अर्थात् शब्दरूपी कामधेनुबाट के के कुरा दुहुन सकिन्छ भनी प्रमाणित गर्ने पुस्तक। यसमा संस्कृत मूलका भाषा र युरोपेली भाषाका शब्दहरूको तुलनात्मक अध्ययन गरी यी सबैको आदिम माउ भाषा एउटै भएको तथ्य प्रस्तुत गरिएको छ।
दक्षिण एसिया र युरोपमा फैलिएका भाषाहरूमा सबभन्दा पुराना बैदिक, ग्रिक र ल्याटिन भाषा देखिएका छन्। ती मध्ये सबभन्दा प्राचीन (कम्तीमा पनि चार हजार वर्ष पुरानो) ऋग्वेदमा प्रयोग भएको पुरानो संस्कृत भाषा प्रमाणित रूपमा भेटिएको छ। यी भाषाको तुलनात्मक अध्ययन गर्दा तीनको एउटा माउ भाषा रहेको स्पष्ट त हुन्छ, तर त्यो कुन भाषा थियो भन्ने किटान नभएकोले त्यसको संयुक्त नाम दिइयो – “भारोपेली भाषा।”
भारोपेली भाषा “शतम्” र “केन्टुम्” दुई हाँगामा बांडिएका छन्। “शतम्” हाँगामा इरानी, डार्किक र संस्कृतसहित दक्षिण एसियाका माथिल्लो भागका संस्कृतसहित दक्षिण एसियाका माथिल्लो भागका भाषा पर्दछ्। “केन्टुम्” हाँगामा ग्रिक, ल्याटिन, अंग्रेजी, फ्रान्सेली, जर्मन, रूसी आदि भाषा पर्छन्। जनार्दनजीको मूल उद्देश्य बैदिक संस्कृत मूलका भाषा र युरोपेली भाषाका शब्दहरूको तुलनात्मक विवेचनाका आधारमा यिनको प्राचीन सम्बन्ध एवं भाषाको आदिम सम्बन्ध पत्ता लगाउनुको लाभ र परिणाम दक्षिण एसिया र युरोपका बासिन्दाका आदिम पुर्खाहरूको मूल वंशावली (गोत्र प्रवरहरूको उद्गम स्थिति) पत्ता लगाउने भर्याङ तयार गर्नु हुन जान्छ।
मानव जाति पशुपालन युगमा प्रवेश गर्नु अघि अर्थात् फल कन्दमूल र सिकारको आहार संग्रहको आदिम युगमा ससाना परिवार र समुहको रूपमा रहन्थ्यो। त्यसैले उसको भाषा साँगुरो थियो र शब्द सीमित हुन्थे। नेपालमा हामी त्यसको एउटा रूप लोप हुन लागेको कुसुन्डा र जीवीत अवस्थामा रहेको राउटे समुदायमा देख्छौं। राउटे तीन “गुण” भएको एउटा “जन” (जहान) हो। त्यो फल–कन्द र सिकार संग्रहको घुमन्ते युगमै छ। पशुपाल र कृषि युगमा प्रयोग हुने शब्द राउटेहरूको मूल भाषामा छैनन्।
नेपालमा भाषा र शब्दको तुलनात्मक अध्ययनका दृष्टिले मंगोल र आग्नेय मूलका मगर, गुरूङ, तामाङ, चेपाङ, लाप्चे, सुनुवार, राई, लिम्बु, सेर्पा आदि जनजातिमा आदिम आहार संग्रह र सिकारी युगको चरणमा प्रयोग हुने १५–२० वटा शब्दमात्र मिल्दा जुल्दा पाइन्छन्। ती हुन् –आगो, दाउरा, धुवाँ, आँखा, आँसु, रूख, माछा, मासु, बाटो घुएँत्रो, गुलेली, आमा, कुकुर आदि। पशुपालन र कृषि युगका गाई, भैंसी, घोडा, कोदालो, हलो, जुवा, गोरू, खेत, बारी, अन्न, पुस्तक आदि शब्दमा उनीहरूमा समानता पाईदैन।
भारोपेली समुदायका भाषाका शब्दहरूमा त्यो भन्दा भिन्न स्थिति छ। यिनमा पशुपालन, व्यापार कृषियुगका पनि अनेक शब्दमा समानता पाइन्छ। केही उदाहरण
संस्कृत –मातर, पितर, भ्रातर, गौ, सूर्य, त्रि।
अंग्रेजी – मदर, फादर, ब्रदर, काउ,सन, थ्री।
रूसी – माच, ….ब्रात, …. त्रि।
इटाली – माद्रे, पाट्रे, फ्रातेलो… सोरे …।
स्पेनी – माद्रे, पाद्रे …. सोल …।
संस्कृत , नेपाली, हिन्दी र अंग्रेजीमा शब्द समानता एकम्, एक, एक, ए/एन।
मुखम्, मुख, मुह, माउथ।
हस्तम्, हात, हाथ, ह्यान्ड।
नासिका, नाक, नाक, नोज।
“शब्द–सन्दोह” का लेखक जनार्दनले संस्कृतका कुन–कुन ग्रन्थमा प्रयोग भएका शब्दहरू भारोपेली भाषामा मिल्दाजुल्दा छन् भनी सिंगो ग्रन्थभरि उदाहरण सहित प्रस्तुत गरेका छन् –
संस्कृत, नेपाली, हिन्दी – विधवा,
अंग्रेजी – बिडो, ल्याटिन, – बिडुवा,
स्पेनिस – विउडा, जर्मन – विहवे,
संस्कृत – क्रुर, अंग्रेजी – क्रुयल
संस्कृत – कर्कट, अंग्रेजी – केंकर
संस्कृत – अग्र, अंग्रेजी, – एगो
संस्कृत र अंग्रेजीको शब्दार्थ समानताको लामो सूची दिइएको छ। यस कृतिमा एक – ए, दान – डोनेट, दमन – डोमिनेट, बमन – भोमिट, द्वार – डोर, न – नो, कफ – समिति – कमिटी, दन्त – डेन्ट, अन्त – इन्ड, अन्तर – इन्टर, मध्य – मिड, सम – सेम, शत – सेन्ट इत्यादि।
“शब्द सन्दोह” मा शब्दहरूको सोझो अर्थ र भावार्थ व्यक्त गर्ने चित्रहरूसमेत दिइएको छ। “पात्र” वा “भाँडा” शब्दमा डिप्ची, तसला, कराही, “रात्री” शब्दमा जून र तारा, “चारू” शब्दमा सिंगारिएकी युवती, “आदर” शब्दमा शिष्यले गुरूलाई अभिवादन गरेको आदि सुन्दर रेखांकित चित्र दिइएका छन्। यसमा चित्र बनाएका छन् प्रसिद्ध चित्रकार रविन कोइरालाले। चित्रहरूले वस्तुको आकार वा विषयको भाव बुझ्न सजिलो तुल्याएका छन्। चित्र र शब्दको भाव बुझ्न सजिलो तुल्याएका छन्। चित्र र शबदलको भाव बुझाउने सम्बन्धमा रविनले भनेका छन् “नितान्त उक भित्रले अर्के मित्रप्रतिको भित्रताको कारणले कुँदिएका चित्रहरू यहाँ प्रस्तुत गरिएका छन् ….। संस्कृत शब्दका भावनात्मक पक्षहरूको चित्रांकन गर्नु मेरा लागि कम चुनौतिको विषय थिएन। यस्ता धेरै भावनात्मक पक्षमा मैले कलम चलाएको छु। वास्तवमा जनार्दनजीको कलम र मुरो कुचीको “फ्युजन”बाट प्रस्तुत पुस्तकको जन्म भएको छ।”
अहिले संसारमा जतिसुकै रूपरंग, जुनसुकै भाषा बोली बोल्ने, जुनसुकै महाजेश वा राष्ट्र, सहर वा गाउँ महल वा छाप्रामा बस्ने, जुनसुकै जात, जाति, थर, गोत्र वा राष्ट्रियताका जस्तोसुकै खानपान गर्ने, जुनसुकै धर्म मान्ने वा नमान्ने मानिसहरू भए पनि मूलरूपमा ती सबै एउटै पुर्खाका सन्तान हुन्। सबका अंगप्रत्यंग उस्तै छन्, उस्तै रूपले काम गर्छन्। आआफ्ना सन्तान, बन्धुवान्धवहरूप्रति स्नेह, आदर लगभग सबैमा उस्तै खालका हुन्छन्। सबलाई सम्मान र मित्रता मन पर्छ, अपमान र वैरभाव मन पदैृन। मानिसलाई बुद्धि भएको विवेकशील प्राणी भनिन्छ, तैपनि एउटाले धन कमाएको गरीबलाई हेपिरहेको छ। ठूलो र सम्पन्न राष्ट्रले सानो र अविकसित राष्ट्रलाई हेपिरहेछ। किन एउटै मूलका सन्तानलाई एउटै पृथ्वीमा बस्ने अर्को देशको मानिसले अशिक्षित, असभ्य भनेर हेपिरहेको छ। एउटाले अर्काको शोषण–दमन गरिरहेको छ। एउटा मानछेले अर्को मान्छेलाई दास बनाउन, वेश्या बनाउन बेचिरहेको छ। एउटा जातिको नाममा अर्को जातिमाथि दमन चलिरहेको छ। एउटै पुर्खाका सन्तानमा यस्तो भयंकर विभेद, असमानता र अपमान किन चलिरहेछ? यस पुस्तकले सायद यस्ता कुरातिर आंशिक रूपमै भए पनि ध्यानाकर्षण गर्न केही मात्रामा प्रेरित गर्छ होला।
शब्दहरूका माध्यमबाट भाषा विस्तार र मानिसको विश्वव्यापी फैलावटको कथा बुझ्न बुझाउन यस पुस्तकले सघाउने छ। भाषा विषयकै अध्ययन गर्ने, भाषा पठाउने, भाषाबारे अनुसन्धान गर्नेहरूलाई यो पुस्तक निकै उपयोगी हुनेमा कुनै सन्देह छैन।
संसारका सबै मानिस समान पुर्खाका सन्तान हुनाले नेपालीले युरोपेलीलाई भयंकर विकसित र बुद्धिमान ठानेर उनैका शब्द र रहनसहनको नक्कल गर्दै आफ्नो भाषा–संस्कृतिको अपमान गर्ने, आफ्ना “आमा”, “बा” जस्ता शब्दलाई ठहरै मारेर “ड्याडी”, “मम्मी” भन्दा आफूलाई सभ्य ठान्ने जस्ता हिनताबोध र अविवेक हटाउन र कम गर्न पनि यस कृतिले मनोवैज्ञानिक रूपमा केही काम गर्न सक्नेछ। विश्वव्यापी भाषाहरूको अन्तर्संम्बन्ध बुझाएर देशदेशान्तरका मानिसको परस्पर समझादारी र मित्रता बढाउन पनि यो कृति सहयोगी हुने ठानें मैले। हाम्रा विश्वविद्यालय र महाविद्यालयहरूले यस्तो महत्वपूर्ण पाठ्य विषय भएको कृति सम्बन्धित विषयका पाठ्यक्रममा समावेश गर्ने पनि आशा सकिन्छ।
लेखक स्वयंले स्विकारे झै विशाल भाषिक क्षेत्रको ज्ञान आफूमा सीमित हुंदाहुंदै पनि मेहनत गरी नेपालीमा यस्तो कृति तयार गरी बाङ्मयको श्रीवृद्धि गरेकोमा सबैतिरबाट लेखकले जस पाउनेमा विश्वस्त छु। लेखकमा यस्तो काम गर्ने जाँगर उत्तरोत्तर बढेमा नेपाली बाङ्मयको शिर अल्लिदै जानेछ।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४० – २०६७ भाद्र ०९ गते, बुधबार)