कथा : चोटका लयहरु !

~प्रकाश के.सी.~Prakash KC

यो एउटा अर्धविराम मात्र थियो, तर त्यसको अन्तरालभने लामो हुन गयो र यस अन्तर्निहित अन्तरालभित्र दोस्रो कडीको समन्वयमा एउटा अर्को अन्योलर् इकाइको पृष्ठभूमि एक तमाससँग जम्यो बीचमा कि सर्वप्रथम त्यसलाई प्रसँगसँग पृथक राख्न खोज्ने जमर्कोले नै कुरा लम्बिईन गएको हुन सक्छ ।

उनीहरुले भर्खरै मलाई जमीनमा पछारेकाथिए र एउटा उनीहरुकै लागि कर्णप्रिय अट्टहासमा मग्न ती हूल वर्णहरुमा, जमीनमा थला परेको मेरो अवस्थामा निश्चेष्टता भेटेर अनायासै अर्धविराम चिन्ह टाँस्सिएका हुनसक्छ ।

दोब्रिएर जमीनभन्दा तल झुक्न नसकेको मेरो अवस्था ‘प्यारालाइज्ड्’ थियो । आखिर धूलो पो हुन पुगेछु म, आफ्नैहरुको आँखामा ! सपनाको बलौटे फाँटहरुमा एउटा सायद सुन्दर भविष्यको खाका तयार पारेर कोरिएका ती एपिटाफहरु कति चाँडै यथार्थको दमनरुपी छालले पखालिसकेछ, थाहै भएन । मुठीभित्र टम्म पारेर सँगालेका जिजीविषाका अभिलेखहरु आफ्नै स्वामित्वमा रहेको भ्रम, पलभरमा नै हात खोल्दा पो थाहा भयो……थरि-थरिका दिग्भ्रमित रेखाहरु र जिन्दगीको ठोक्करले पारेका ठेलाहरु बाहेक केही रहेनछन्, र उक्त खाली हातहरु अहिले जमीनको धूलोमा आवाद बनेकोछ ।

चोट महसुस गरिन्छ तर शब्दमा उतार्न गाह्रै हुन्छ । दुखाइलाई परिवर्तित मुहारको असहजपन या विभिन्न किसिमको आर्तनादबाट सायद छुट्याउन सकिएला, तर मलाई विश्वास छ म स्लेट भएको छु । धुजा-धुजा परेको पेटिकोट लगाउने महिलालाई सायद छोप्ने नै चाहना हुन्छ होला, तर मेरो चोटले त्यो सीमा पनि पार गरेकोछ, सायद चोटैभन्दा माथि या मानवीय सम्वेदनाभन्दा बैग्लै खेपेकोछ होला ।

कता-कता थुम्थुम्याउँ ? कुन कुनातिर सुम्सुम्याउँ ? निचेष्ट म उनीहरुको कार्यको समन्वयको प्रतीक्षामा छु, किनकि त्यो सिर्फ अर्धविराम थियो, पूर्ण विराम होइन ।

म मानिसहरुको घृणाको पराकाष्ठालाई भोग्ने तयारीमा छु, किनकि कृपाले दुखेँ, मायाले जलेँ, दयाले छचल्किएँ, आँतसँगै आँखाबाट । हेरुँ, आज आफ्नैहरुको घृणाको तयारी र यसको पराकाष्ठाहरु !

‘मर्‍यो कि क्या हो ?’

टाढैबाट जस्तो गरी आवाज सुनियो । स्वरमा जिज्ञासासँगै खिन्नताझैँ लाग्थ्यो । सायद निरास पो छन् कि ! म सजिलैसँग चल्मलिने प्रयत्न गरेँ र कसैको कसिलो लात देब्रे कोखामा पाई दोब्रिएँ । आफैलाई अनौठो लाग्यो, ‘आह !’ सम्म निक्लिएन मुखबाट । मस्तिष्कमा उसको हँसिलो मुहार अनि भरिलो गालाबीचका खोपिल्टाहरुको सजीव तस्वीर छाइरहृयो । आँखाहरुको परेली नचाउँदै कुरा गर्ने उसको बानी मलाई औधी मन पर्छ । एकदिन प्रसँगवस मैले भनेको थिएँ-

‘तिमी हाँस्दा बन्ने त्यो गालाका खोपिल्टाहरु मलाई असाध्यै मन पर्छ, ती नै मेरा जीवनका निधिझैँ लाग्छ, चोटका मलहमझैँ लाग्छ’ ।

उसले फेरि प्रदर्शन गर्दै भनेकिथिई-

‘हन्छ, जब तिमीलाई चोट लाग्छ, म नरोएर रमाई-रमाई हाँसिदिन्छु’ ।

मुस्किलले आँखा खोल्न पुगेँ र उसलाई आफ्नो दाजुको काँधमा हात राख्दै मुस्कुराइरहेझैँ देखेँ र छुट्याउन भने सकिन, मलाई त्यो गालाका खोपिल्टाहरु मलहम बनिरहेछ मनको घाउको या चुक !

एउटा समय थियो, जीवन फूलझैँ फुलिरहेकोथियो । मधूमासका दिन-रातहरुले जीवन फलाउँदै गएको थियो । म गीत गाउँथेँ र ऊ सुन्ने गर्दथिई । एउटा मीठो सरगम र न्यानो तालीले एउटा अवस्थाको शुभारम्भ भने भएको थियो । किनकि एउटी गरिमामय प्रशँसकको न्यानो प्रेममय सद्भावनामा म आफूलाई निर्लिप्त पाएँ र समर्पित भएँ यस बिरानो मुलुकमा उसको भरोसामा, उसको आडमा ।

ताली बजाउनेहरुको लहरमा उभिएर ऊ उस्तै गरी मुस्कुराउँदथिई र उसका कोमल-कोमल हातहरु यसैगरी एकअर्कामा ठोकिन्थे जसरी सायद यतिखेर, उसका दाजुहरुले मलाई दण्डित गरेकोमा समर्थन जनाउँदैहोली ।

एउटा भावुक मन तरलिँदै गएको थियो । उसको मायाजालमा र उसको सुन्दरतम मुहारको कवि पनि बनेकोथिएँ । एउटा दह्रो आड पाएपछि आफ्नो विगतलाई सिँगार्ने ध्याउन्नमा म चलायमान भएँ उसैगरी नेपालीहरुको जमातमा, यहाँको फाँटहरुमा । फेरि एकपटक भन्दैछु, जमीनभन्दा मुनि झुक्न नसकेर घस्रिईँदै, धेरै स्वाभिमान, अभिमान र वीरताको उँचोपनलाई निहुराएर जीवनरत भएँ ।

एउटा त्यो आवेग, जुन क्षणिक आकर्षणद्वारा, सतही प्रलोभनद्वारा अभिभूत हन्छ, त्यो मुठीको बालुवा पो बन्दोरहेछ । ममा सायद ऊ यस्तै आवेगले नजिकिएकी थिई र उसैगरी कपको चिया जस्तै चिस्सिईँदै गई अनि म भने एउटा अपच्य र तीतो स्वादमा रुपान्तरित हुँदै गएँ । ऊभन्दा बाहिर पनि मेरो आफ्नै दुनिया थियो र उक्त सँसारकोलागि केही गर्न पर्ने कर्तव्यमा प्रयत्नशील हुनुपथ्र्यो । यसैगरी यहीँ एउटा खाडल तयार भएछ ऊ र मेरो सान्निध्यबीच अनि उक्त खाडल एउटा पार गर्न नै नसक्नेगरी फैलिँदैगएछ एउटा नियमितताबिना । म जोडिईन खोज्दा-खोज्दै टुक्रिन पो पुगेछु ।

अतः ऊ आफुहरुसँगै क्रमबद्ध हुने क्रममा ठोस एवँ जटिल बन्दै गई र मलाई प्रष्टसँग थाहा छ, ऊ उक्लन खोज्दा-खोज्दै दिन-प्रतिदिन झन् तल झर्दै गएकी थिई । हो, स्वभावतः म लोग्नेमान्छे र उसको लोग्ने अनि उसमा निर्भर, त्यसैले इर्ष्या तथा जलनको पीडाले मर्माहत भई केही सम्झाउने प्रयत्नमा शक्ति पो प्रयोग गर्न पुगेछु र त्यो नै मेरो ठूलो क्षमारहीत भुल हुन गयो । यसै त मेरो दैनिकीले र मेरो बेफुर्सदीले ऊ आफूमा भएको सौन्दर्यमा निरसता सम्झेर फलाम बनी तातिएकी थिई, र त्यसमा राम्रो प्रहार मेरो विरोधले गर्‍यो र ऊ एउटा ठोस आकारमा परिणत भई उक्त शास्वत मनसँगै पनि ।

म उसलाई पगाल्न खोज्दा-खोज्दै दिन-प्रतिदिन हेय हुँदै गएँ । एउटा मिहिन आस्थाको पनि शेष नरहेर आज उसैद्वारा एउटा व्याकूल अवसाद भएँ, विषाक्त उपस्थिति भएँ र यसरी अब गिर्राईँदैछु कि सायदै फेरी उसकोअगाडि शिर उठाउन सकुँला ।

अतः एउटा विषाक्त र विवस परिस्थितिबीच लाचार, निरुपाय अनि बेवारिसे भई आफ्नैहरुको सौहार्दताले जमीन भइरहेकोछु । लाचारीको चरम सीमामा शिरनत गर्दै माफी मागेर ती विगतका सपनाहरुलाई थाँती राख्ने बिचारको मेरो मनमा र उक्त भावले उद्देलित भएको शरमको आगोले पोलेर राँकिएको अनुहारमा उसको झट्कारो स्तरको लोप्वाले अचानक छ्रि्र भई तीर्ण-तीर्ण हुन पुगेछु । ती उही सुकोमल हातहरु थिए, जसद्वारा ऊ ताली बजाई मलाई प्रेरणा दिने गर्दथिई, जसलाई म सगर्व चुम्वन गर्दथेँ, मेरो जीवन बनाईदिने हातहरु भनेर र जसले बार-बार मेरो मुहार सुम्सुम्याइरहन्थे ।

थाक्नुको सीमाभन्दा बढी थाकेर म बद्हवाश भास्सिन पुगेँ, मेरो हालात र सपनाका चरमचुलीबीच ।

लामो वक्तव्यझैँ गाली र अन्य तथानामका बोली बचनहरुको सम्प्रेषण गरिसकेपछि ऊ उनीहरुसँगै पलायन भई सजिलैसँग र म मनभित्रको भुइँचालो या टाइफूनले आक्रान्त भई मूक भएकोछु । मलाई थाहा छ, मेरो सामु अब अनगिन्ति प्रश्नहरु उभिइनेछन्, र केही समयभित्र म यो प्रवासबाट धपाईनेछु र ती भविष्यका स्वप्निल दृश्यहरु, एउटा भयँकर स्वरुपमा एकाकार भएर मतिर यसरी कालो अन्धकार फैलाउँदै लम्कनेछ कि म सम्पूर्णतः अनि स्वतः विलीन हनेछु ।

दृश्यहरु उस्तै सँधैकै जस्तो लाग्छन् । म यो कुनाबाट उस्तै देख्दैछु । मानिसहरु आइरहेछन्, गइरहेछन् गन्तव्यतिर सायद ! हाँसिरहेकाछन्, रमाइरहेकाछन् । कोलाहलले व्याप्त यो शहरको यो कुनामा मेरो मनभित्रको रोदन, एउटा क्षणिक र सतही हावाभित्रै हावा भएको छ ।

यसरी आँषिक लडिरहेकोछु यो कुनाको भुँइमा……..सबै आ-आफ्नै धुनमा मस्त भई चलायमान छन् । म उस्तैगरी विखण्डित् मन मस्तिष्कसहित बेवारिशे टोलाइरहन्छु ।……..पर-पर…… कतै टाढा…..कतै समाधानको आशामा र सहानुभूतिको प्रलोभनमा ।…….एउटा घिस्रिएरै पनि बाँच्न सकिन्छ कि भन्ने आशामा….निरन्तर अनि रिरुत्तर….उदास अनि उजाड……।

April 16th, 2007

(स्रोत : Nepalisahityasansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.