अखबारका पृष्ठहरुमा
मौनधारण गारिरहेछन्
नीला दागहरु
हरेकपल्ट
बोधीव्रिक्ष्यको हाँगो भाँचिदा किचिएका
एकएक धूनबाट
नीलो थोपा खस्छ
अखबारमा!
अखबारमा
कालोपत्रे सडकमा बिस्कुन लगाइका
दु:खका नीला अनुहार छन्
शिशिरमा अँगेनुको डील नाघेर अँगेनुमै पस्दा जलेका
इच्छाका नीला सिउँदाहरु छन
र प्रकाशको तलाउमा झ्वाम्म हाम्फालेपछि
दृष्टि गुमाएका
कामनाका नीला आँखाहरु पनि छन
थुप्रै नीला नदीहरु बगेका छन
अखबारका पानाभरि
र क्रमश
होँचिदै गएका छन हिम शिखरहरु!
म अखबारका पानाहरु पल्टाइरहेछु
जहाँ घाउहरु
नीला दह बनेर मौनधारण गरिरहेछन्
म आफ्नो देशका पानाहरु पल्टाइरहेछु
जहाँ आस्थाहरु
नीला दाग बनेर मौनधारण गरिरहेछन्
अखबारका पृष्ठहरुमा
मौनधारण गरिरहेछन नीला दागहरु!!
(तत्कालीन् नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०५५ मा रजत पदक प्राप्त )
May 30, 2009
(स्रोत: Khadgasen Oli sir’s Facebook)