~मनु वि.क.~
हेपिएका जिन्दगीका काला दिन कति कति
नहुनु र रुनु उसका भाग्यका मति
जन्मिंदैमा लेखिन्छ गरिब भन्ने नाउँ
बस्ने खाने थात छैन हुन्न टेक्ने ठाउँ।
चौबाटोको रात्री यात्रा काँडा विछ्याइए
दोबाटोमै अलपत्र गन्तव्यहीन भए
नहुनेलाई सधैभरी हेप्नेहरु खेद्छन्
तिनकै घाँटी अठ्याउने काला कानुन लेख्छन्।
एक छाक खान दुःखी कति दिन गर्छन्
एक नाना फेर्न नपाई सयौंं जुनी मर्छन्
नहुनेका ऐन छैन हुने राज गर्छ
अमन चयन सयों जुनी उसकै भागमा पर्छ।
नहुने मर्छ सडकमा सिटामल नपाई
हुने साहुँ जल्नेगर्छ सुनको ढिको चपाई
नहुनेका श्रम सीपमा हुनेहरुकै रजाइँ
गरिबले दुष्टजनलाई दिनु छ है सजाय।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३३ – २०६७ आषाढ २३ गते, बुधबार )