कथा : शंका

~राजु दाहाल~Raju Dahal

“तिमीलाई अचेल कहाँ भेटुँ , पहरामा भेँटु वा छहरामा भेँटु ……………………… …। ” लामो समय पछि उनलाई भेट्ने तिर्सना मनमा सलबलाउँदो छ , यसैको कारणले गर्दा हो वा ?? बिहान देखिनै यो गित त्यसै त्यसै ओठमा झुन्डिराखेको छ, सुनीको ।

अस्ति साथीहरुसँग सपिङ्ग जाँदा किनेको छालामा टिपिक्क टाँसिने नयाँ कालो जिन्स पाईन्ट, अगाडी पट्टि निकै खुलेको गुलाबी रङ्गको स्लीभलेस टिसर्ट र कालो निलो स्याण्डल । आज अफिस जादाँ उनले ती सबै लगाएर ऐनामा आँफैलाई निहारीन । अगाडी फर्किन, पछाडि निहारीन

घुमी घुमी चारैतिर हेरीन, ओठमा अलिकति लाली थपेर ऐनातिर हेर्दै ओठ चुच्चो पारेर हावामा एक चुम्मा फ्याँकिन । केहि खुलेको टिसर्टमा बनेको अंग्रेजी अक्षर भी आकार उनैलाई रोमाञ्चीत बनाउँदै थियो । टिसर्ट थोरै तानेर अगाडि झुकिन, आफ्नै सौन्दर्यमा सम्मोहित हुन थालिन् । पातलो टिसर्टबाट उनको भित्री बस्त्र प्रस्टै देखिन्थ्यो, तर उनलाई यसले केहि फरक पारेन । तल्लो कोठामा बस्ने हरि, तरकारी पसले, भाईको साथमा आउने कृष्ण, अफिसका कर्मचारीहरु सबैप्रति एउटा दया जाग्यो उनलाई, हिजोका सबै अप्ठ्यारो भुलिदीइन उनले ।

बाहिर आएर स्कुटर स्टार्ट गरिन, हरि तीन तला माथिबाट चियाउँदै थियो सधैँ झैँ, उनी सधैँ भन्दा फरक मुस्कुराईदिईन आज, हरि मख्ख पर्‍यो । उनी गेटबाट बाहिर निस्केर स्कुटर रोकिन, गेट लगाउन फर्केर आउँदा एक झलक पूनः तेस्रो तलाको झ्यालमा लगाईन मुस्कुराउँदै । हरिले हातका पाँच औँला एकै ठाँउमा जम्मा पार्‍यो र बन्द गर्दै खोल्दै केहि ईशारा गर्‍यो तमतमाईन उनी । यी केटा मान्छेको जातै खत्तम के एक पटक हाँसेको थिँए, अश्लिल ईशारा गर्नुपर्ने । कत्रो साहस ?? बरबराउँदै स्कुटर अगाडी बढाईन ।

अगाडी मोडको पसलको छेउमा पुगेपछि पसलेले पनि पहिलेकै जस्तो इशारा ग¥यो । उनी रातो अनुहार पार्दै अगाडी बढिन । उन्लाई आफ्नो खुलेको टिसर्ट देखि सारै रीस उठ्यो । केहि पर एकान्तमा पुगेर उन्ले टिसर्ट माथि तर्फ तानिन्, जति तान्दा पनि कुनो प्रष्टै देखिरह्यो । पातलो टिसर्टबाट जति गर्दा पनि भित्री बस्त्र झुल्किरहेकै थियो । उनलाई त्यहीँबाट कोठामा फर्केर सबै लुगा खोलेर फ्याँक्न मन नलागेको भने होइन । तर हिजो अस्ति पनि अफिस नगएको हुँदा अफिसबाटै निकालीने डर थियो मनमा ।

मन मार्दै अगाडी बढिन उनी । केहि पर बाटोमा पुगेपछि जाममा परिन उनी, शायद केहि घटना दुर्घटना पो भएको थियो कि ? “ओहो कस्तो राम्रो गाडी !” अगाडी आईरहेको सानो कार लाई हेरिरहीन उन्ले । लौ फेरि त्यही इशारा, त्यो पनि कपाल फुलिसकेको बुढाले । सारै नमज्जा लाग्यो उनलाई । एकाएक उनको अनुहार रातो भएर आयो, संसार घुम्न थाल्यो उनको वरिपरि, ज्वरो आउन लागेको जस्तो भो उनलाई । बेहोशिमै स्कुटरको एक्सिलेटर घुमाईन उन्ले फलतः अगाडिको ट्रकसँग ठोक्किन पुगिन उनि । बिचरा ! ट्रकको त के हुन्थ्यो र ? उनले स्कुटरको अगाडिको भाग नराम्रोसँग कुच्चियो । सामान्य चोट लाग्यो हातमा , तर भर्खरै पाएको चोटको पिडा भन्दा यो पिडा निकै कम थियो । बल्लतल्ल अफिस पुगिन, कम्पाउन्डमा प्रबेश गरिन । अगाडि पट्टि पालेदाई र अर्को नयाँ मान्छे गफ गरिराखेका थिए । पालेदाई सधैँ झैँ ङिच्च हाँस्यो बिना अर्थको जबरजस्ति मुख खोलिदिएजस्तो, हठात ! सो नयाँ मान्छेले फेरि उहि ईशारा गर्‍यो हातका पाँच औँला एकै ठाँउमा जम्मा पार्‍यो र बन्द गर्दै खोल्यो । उन्ले स्कुटर पार्किङ्गसम्म पनि पुर्‍याउन नसकि त्यतै राखेर आफ्नो कार्यस्थल तिर लम्किन ।

जादाँजादैँ हाकिम साब भेटिए, उन्ले तल देखि माथिसम्म राम्रो सँग हेरे । उनि खुम्चिईन त्यसै त्यसै, सँधै छेडखानी गर्न बाँकी नराख्ने हाकिमले ……….?? तर उनको आशा बिपरीत अनपेक्षीत रुपमा, उन्को अवस्था हेरेर सन्चो नभएको संकेत गर्दै केहि दिन छुट्टी दिएर घर फर्काइदिए ।

उनि बाटोमा कतै पनि नहेरि नफर्की आफ्नो बासस्थान फर्किन । उन्को दिमाग शुन्य प्रायः थियो । घर कम्पाउन्डमा प्रबेश गर्न स्कुटरलाई बाहिर रोकेर गेट खोल्न गईन । आमा आएको थाहा पाएर छोरी हत्तपत्त झ्यालमा निस्कीन । स्कुटर भित्र राख्ने बेलामा माथिबाट सानी छोरीको आवाजले उनी माथि फर्किन । लौ ! पुनः त्यही इशारा उनले केहि सोच्नै सक्दिनन् । स्कुटरलाई त्यसै छोडेर उनि माथितीर दौडिन । मुलढोकाको छेवैको सिढिँमा अल्झेर लडिन् उनी । उठ्न खोज्दा, हठात ! उनको नजर गेटमा लडिरहेको स्कुटरमा पर्‍यो । स्कुटरको हेडलाईट बलिरहेको थियो, बलिरहेको थियो ।

(स्रोत : Raju Dahal’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.