ढोकै ढोकाको संसार
प्रत्येक बस्तु, पल, परिस्थिति
बाध्यता, नियति, र स्वार्थका
प्रकारान्तरण आ–आफ्नै ढोकाहरु
एउटा ढोका उघारेर
एउटा मन मस्तिष्क र भौतिक विम्व आयो
त्यो म भएछु ।
अनगिन्ति ढोकाहरु भएको पृष्ठभूमीमा
म सलबलाईरहेको छु
ढोका खुल्ला हुँदा
आजादी आकाश देखिरहेछु
जहाँ स्वतन्त्रताको बिम्व उभिन सक्छ
सबै ढोकाहरु बन्द हुँदा
अपराधीको आत्माझै
आफैभित्र निसास्सिएर सकस भोगीरहेछु ।।
आफ्नै भौतिक विम्वमा
अर्धचेतनका
ईन्द्रियहरुको ढोकाहरु खुले
पश्चात …
मैले संसार पाएँ वा सकस
संसारले म पाए वा भार
मैले सयौं ढोकाहरु पाईरहेको छु
हजारौं ढोकाहरु देखिरहेछु
कर्मका मार्गमा बाध्यता, नियति र स्वार्थका
दरा र बलिया ढोकाहरु
र मनमा निरास, निर्दयी निर्ममताको
उदासिन कठोर ढोकाहरु ।
मेरो आकांक्षा
सबै ढोकाहरुमा निसर्त प्रबेश पाउने
र मेरो अगाडी रहेको ढोकाहरु
अनुभवका चाबीहरुले
स्वतन्त्र बन्द गर्ने र खोल्ने
तर चावी भए ढोका हुन्न
ढोका भए चावी हुन्न
अनुभवहिन लुला चावीहरुले
म ढोका खोल्न सक्दिन
र बन्द गर्न पनि सक्दिन ।।
अनि त म र मेरा
चाहाना र मनोकांक्षा
निरर्थक शुन्य र शुन्यतामा बन्द छन्
ईन्द्रियहरुको लोभ र मोहले
कहालीलाग्दो मरुभूमीमा
यातना र सकस दिइरहेका छन्
एक ढोकाले प्रबेश दिएर
अर्को ढोकाले भोटेताल्चा मारेर
सबै–सबै ढोकाहरु बन्द छन्
भोटेताल्चा मार्न
सबै–सबै ढोकाहरु खुल्ला छन् ।।।
23 Jun, 2009, Ktm.
(स्रोत : रचनाकारको ब्लगबाट सभार )