~रमेशजंग थापा~
“यो आकस्मिक बैठकमा तपाईंहरूलाई स्वागत छ” मन्त्रीगणतर्फ दृष्टि लगाउँदै राजा त्रिलोचन पुनः भन्न थाल्दछन् ः-
“आजभन्दा पन्ध्रवर्ष अगाडिको तुलनागरी हेर्दा हाम्रो देश अहिले सबै क्षेत्रमा उत्साहजनक उत्कर्षमा पुगेको सर्वविदित छ । राज्यले हरेक नागरिकलाई योग्यता अनुसारको काम र श्रम बमोजिमको माम दिएर भोक, रोग र बेरोजगारीको चङ्गुलबाट छुटकारा दिलाएको छ । समग्रमा भन्नुपर्दा देश विकासमा हामीले एउटा ठूलै फड्को मारेका छौँ तापनि शतप्रतिशत सन्तोष लिने ठाउँ भने म देख्दिनँ ।”
राजा अगाडि राखेको गिलासको पानी घुटुक्क पिउँछन् र सुरु गर्छन् बोल्न “अँ….त….मैले विगत छ महिनाको समयमा राज्य पद्धतिका हरेक भागको सूक्ष्म अध्ययन र विश्लेषण गरे र यस्तो फाँट देखियो एउटा जो अझै पनि निष्पन्द भइबसेको छ । त्यो स्थावर क्षेत्र जहाँ राज्यले कुल बजेटको ५ प्रतिशत खर्च गरिरहेको छ भने प्रतिफल….छकाटूट ।” उनी टक्क रोकिन्छन् कतै आफ्नै मन्त्रालय भित्रको कुरा त परेन भनी सोच्दै सबै मन्त्री त्रसित हुन्छन् ।
“महामान्य, देशको हरेक ठाउँ हराभरा, लटरम्म देखिन्छ र त्यो कुन अबकेशी भाग हो जो अहिलेसम्म पनि स्थिर गतिहीन छ ?”
एकजना युवामन्त्री हात जोडेर सोध्ने हिम्मत गर्छन् । राजा सबैलाई हेर्दै भन्न थाल्छन्- “त्यो अपश्री तथ्य फेलापर्दा म चकित भएको थिएँ र मलाई ज्यादै नमज्जा लाग्यो । आज म यो बाध्य भई भन्न लागिरहेँछु, जुन कुरा तपाईंहरूलाई पनि तीतो अवश्य लाग्नसक्ला ।” मन्त्रीहरूका मुटु हल्लिन थाल्छन् र अनुहार तिमिरमय बन्न थाल्छ । सबैका आँखा एकाग्र भई राजातिर सोझिन्छन् । कोठा केही क्षण चकमन्न हुन्छ । त्यसलाइ छिचोल्दै राजा बोल्छन् -“त्यो विनाप्रतिफलको अकृष्ट महाशून्य- देशको वाङ्मय विधा ‘कला र साहित्य’ हो ।” सबै भयक्रान्त हुन्छन् र पश्चिम पट्टकिो झ्यालबाट तातो हावा हुत्तिँदै भित्र पस्छ । राजा खोक्न थाल्छन् । यसबेला स्रष्टा मन्त्रीको हालत झन् दयनीय हुन्छ र उनको भित्रको बत्ती झपक्क निभ्दै अनुहार चुक बन्छ । वास्तवमा उनी देशका मूर्धन्य साहित्यसर्जक पनि हुन् । आफूलाई निकै समालेर हात जोडी राजालाई उनी सम्ब्ाोधन गर्न थाल्छन्-“महाराज, हामी सबै बिलखबन्दमा पर्यौं किनकि देशको वाङ्मय क्षेत्र पनि अन्य मुलुकको दाँजोमा कम छैन…..।” बीचैमा राजा कुरा काट्छन् “तर प्रतिफल खै त ? लगानी अर्बको ….कमाई खरानी….? हेर्नुहोस् भौतिक उपलब्धि बिनाको लगानी सबै बेकार हुन् ।” यसैबीचमा चिया, कफी, बिस्कुट आउँछ । आज स्रष्टा मन्त्रीलाई बिस्कुट थाङ्नो चपाएर निलेजस्तो हुन्छ । चिया पिउँदै सोच्छन्, “यो मनोविषाद राजामा कहाँबाट आयो ? यिनले कतै सोमरस त पिएका छैनन् ?” कोठामा एउटा बोझिलो पल छाएको छ, जो एकदमै ढिलो घिसि्रँदै हिँडिरहेको छ । लाग्छ कुनै लाश मुर्दाघरबाट बाहिर निकालिँदैछ र मलामीहरू भने कुर्दै बसेका छन् ।
राजा त्रिलोचन घडी हेर्दै भन्न थाल्छन्- म पुनः प्रकाश पार्न चाहन्छु कि देशको कुनै अङ्ग या अवयव निस्क्रिय या बक्रगामी उन्मुख भएमा, त्यस गतानुगत प्रक्रियालाई गतिशील र गुणात्मक बनाउनु एउटा शासकको कर्तव्य हुन आउँछ ।
“सरकार, सिर्जना आफैँमा परिपूर्ण छ । यो महाशून्य देखिएर पनि ज्योतिर्पथमा अविरल लरित हुन्छ । यस विराट शून्यभित्र प्रेम, दया, करुणा, समानुभूति, क्षमा आदिको अद्भुत सागर छ । जहाँ द्वेष, ईष्र्या, लालच, तृष्णा, धूर्तता, कृपणता एवम् क्षुद्रताको स्थान हुँदैन । यो देवकल्प पात्रलाई धितो राखी सावाँब्याज हिसाबकिताब गर्नु राज्यको अकिञ्चनताको द्योतक हो र लगनीअनुसार प्रतिफल खरानी र खाकदेख्नु जलभ्रम हो ।” राजालाई राम्रै चस्को पर्छ र उत्तेजित हुन्छन् ।
“मन्त्रीजी तपाईं हवाईमहलको साँच्चै कुरा गर्दै हुनुहुन्छ र त्यो वास्तविक महल नभई सपनाको त्यो भुलभलैया हो । भ्रमकालमा देखिने वस्तुको ज्ञानकालमा अस्तित्व रहँदैन र तपाईंका लच्छेदार ब्याख्यान सुन्नमा मात्रै आनन्ददायक छन् तर साँचो अर्थमा सबै अनृत/अप्रमा/मिथ्या हुन् ।
“सरकार अबबाट स्रष्टाहरूले के गर्दा राष्ट्र कल्याण हुन सक्ला ?” राजा जोशिलो स्वरमा जवाफ दिन्छन् “त्यो क्षेत्रमा राज्यको अर्थदुषण भएको देखिन्छ । तसर्थ यसको स्वरूपलाई व्यावसायिकीकरण गर्नु आवश्यक छ ।” मन्त्री आत्तिएर भन्छन् “यो त स्रष्टा र सिर्जनाको प्रयोजनको निहुँमा मानमर्दन साथै ध्वंस हुने भयो सरकार ।”
“ध्वंस नभई नवसिर्जनाको कल्पना गर्न सकिँदैन । फिजनका लागि फ्युजन अनिवार्य छ । यसर्थ पुरानो कुराको प्रतिशोध नभई नवीनता खोक्रो नारामा मात्र सीमित रहन्छ ।” राजा अड्डी लिँदै भन्छन् । मन्त्री निर्भीक भएर भन्न थाल्छन् “महाराज त्यो त हलुवा र बालुवाको खिचडीमिचडीजस्तो कुरा भयो । सिर्जना भित्रै नवसिर्जना अट्छ र विध्वंस रोकिन्छ, अर्कोतर्फ ध्वंसले भने झन् विनास बोलाउँछ ।”
यस वादविवादलाई मत्थर पार्न प्रमुखमन्त्री हात जोडेर राजालाई सम्बोधन गर्छन्-” सरकार, यो विशेष उपलब्धिलाई केही गृहकार्य अझै गरेमा उत्तमोत्तम परिणाम आउने थियो जस्तो लाग्छ ।”
”हेर्नुहोस् म कार्य उत्पादन र त्यसको परिणामलाई विहङ्गम दृष्टिले हेर्नेगर्छु र साथै यो कुरा मेरो धेरै समयको अध्ययन पछिको अवज्ञा हो । यस विषयमा कुनैलाई विमति छ भने म बाटो प्रशस्त गरिदिनेछु ।” बाँकी मन्त्रीगण आफैँमाथि राजा खन्निएलान् भन्ने डरले मौन रहन्छन् तर स्रष्टा मन्त्री अधीर भई बोल्नथाल्छन् – ”महाराज, जडतत्त्व र चेतना अथवा भौतिक र आत्मिक कुराको जीवन र जगत्मा सन्तुलन नभएमा प्रत्येक चिजहरू भष्मीभूत हुँदै अवनतितिर बढ्छन् । सबै कुरालाई जबरजस्ती एउटै रूपमा हेरिकन बाँध्न खोज्नु उसको दिग्ध अभिमादबाट प्रेरित परिणाम हो र प्रत्येक चिजलाई वस्तु देख्न थाल्छ भने ऊ स्वयं बस्तुमा परिणत हुँदै जानेछ । तब संसारका प्रत्येक आमा आफ्नो बच्चालाई सन्तान नसम्झेर लगानी देख्ने छिन् । यसरी नै बच्चाले पनि जननी नठानेर उत्पादक मेसिन ठान्नेछन् ।”
राजाबीचैमा कुरा काट्दै भन्छन्-”तपाईंले भनिरहेका यी सबै मैले पनि अध्ययन गरेको छु तर म कर्म र फल दुवै टड्कारो चाहन्छु, न कि तपाईंले भनेजस्तो कल्पवृक्षमा फलेको चित्तकलित फल….।” राजा खिल्ली उडाउँदै हाँस्छन् ।
“महामान्य, अब कुन तरिकाबाट पहल गर्दा असल हुन्छ….सरकार ?” एक जना कनिष्ठ मन्त्रीले सोध्ने साहास गर्छन् ।
“सबैले ध्यान दिएर सुन्नुहोस्, त्यस विधालाई व्यवस्थितगरी खेर गइरहेको मानव संशाधनलाई आयआर्जनमा अग्रसर गराउनु मूल उद्देश्य हुनेछ ।” राजा गजक्क परेर भन्छन् ।
स्रष्टा मन्त्री अलि चर्को स्वरमा भन्छन्-”महाराज अरू देशलाई हामीले गर्वगरेर कुन धरोहर चिनाउने ?”
राजा तुरुन्त जवाफ फर्काउँछन्-“…हाम्रो समृद्धि….मात्र समृद्धि….।” ”सरकार, उसोभए त्यो सबै धातु र कङ्क्रिटभित्रको सञ्जाल मात्र हुनेछ । महाराज, यो कुरा रोकिबक्स्योस, नत्र साह्रै अनर्थ हुन जानेछ ।”
राजा प्रत्युत्तर नदिई मन्त्रीलाई एकोहोरो हेरिरहन्छन् । मन्त्री कुरा जारी राख्छन् ”ज्यादै अनौठो हुनेभयो, उस्तैजस्तो कोइली चरालाई वनमा गाउन रोक्नु, मुजुरलाई नाच्न रोक्नु,…मधुलिटलाई फूलमा जान रोक्नु…..।” राजा मुन्टो हल्लाएर इन्कार गर्छन् ।
”सरकार, स्याल, चील, गिद्ध आदिले सिनु खाएर आफ्नो भोक मेटाउनुको साथै वातावरण फोहोरमुक्त बनाउँछन् । ढुकुर, परेवा, जुरेली, माछा, मृग, बाघ, भालु वा अन्य जीवजन्तुले आफ्नै हिसाबले पर्यावरण जोगाई वनजङ्गलको शोभा बढाइरहेका पाउँछौँ । त्यस्तै, मौरी-मधुकर फूलमा आहृलादित भएर भुल्छन् तर गोब्रेकीरो बिष्टा लोटाउनुमा नै आनन्दित भएर रमाएको हुन्छ । चातक गगनाम्बुको आशामा कैयौँ दिन तृषित भइ कुर्न सक्छ तर प्रचुर अभिजल उसका लागि निर्थक हुन्छ । यो जगतीतलमा सबै प्राणीहरू मौलिक, मोदित छन् र त्यही कारणले ती आफैँमा परिचित भएका छन् । महामान्य, यो सबै मिथ्या नभई शाश्वत सत्य हो ।” उनको घाँटी शुष्क हुनथाल्छ । उनी रोकिन्छन् । “मन्त्रीजी, हामी त मानवजाति हौँ । प्रत्येकले श्रमको पूजा गर्दै राज्यलाई क्षमतानुसार कमाएर दिनैपर्छ ।” राजा आदेशको स्वरमा भन्छन् ।
बीचैमा प्रमुख मन्त्री भन्न थाल्छन्- ”महाराज, स्रष्टाहरूले पनि देशका लागि पसिना नबगाएको त देखिन्न । हरेक क्षेत्रबाट राम्रो प्रयास भएको देखिन्छ ।”
“हो मैले सबै बुझेको छु । परन्तुः सबै त्यो अयथार्थपरकको रूपमा भएको छ । ल भन्नुहोस् कुनै पनि कवि, लेखक, कलाकार अर्थात् स्रष्टाको पसिनाले कतै पुल, नहर, राजमार्ग, कलकारखाना बनेको छ ?…कसैको रोगब्याधी, अनिकाल, दुःख पीडा हटेको छ ? बरू उनीहरूको कृति कवाडखानामा प्रायः थुप्रिएको भेटिन्छ हैन र ?” प्रमुख मन्त्री नाजवाफ भइ बस्छन् ।
अन्तरपीडाले स्रष्टा मन्त्रीको ओंठ थरर काप्यो र उग्र स्वरमा भन्न थाल्छन्, महाराज, सरकारले भनेका ती सबै थोक देखाउने हुन् र दिएका छन् स्रष्टाले त्यो हो तरणीपथ । किनभने उज्यालो विना न पुलको बाटो पुगिन्छ, न नहर बन्नसक्छ र न रोगव्याधी-पीडा र क्षुधा नै हट्नसक्छ । यसर्थ आत्मा विभा बिनाको भौतिक उपलब्धि भ्वाङ परेको डुङ्गाजस्तै हो, जहाँसम्म स्रष्टाको कृति कवाडखानामा थुप्रिइएको कुरा हो, के कुनै दुर्जनले आफ्नो, जनि जनयिता र जन्मभूमिमाथि पनि घात गरेको छैन र ? त्यसैले भनिन्छ-” कुपुत्रो जायेत क्वचिदपि, कुमाता नभवति ।” ….मन्त्री लामो श्वास फेर्छन् ।
”मन्त्रीजी तपाईंका अमूर्त गन्थन म जान्दिनँ, म सबैकुरा मूर्तरूपमा स्पष्ट देख्न र गर्न चाहन्छु । त्यो नै मेरो सत्य हो ।”
”सरकार, यो भवचक्रमा पदार्थ विज्ञानले मात्र सबै क्षेत्रको सीमाङ्कन कदापि गर्न सक्दैन र अर्को कुरा मान्छेले खुसी साथै बहृमानन्द कसरी कहाँबाट पाउँछ ?”
”मानिसले आनन्द बाहिर खोज्ने होइन आफूभित्र खोज्नुपर्छ । आइन्दा सर्जकहरूले निव, कूची…..ख्याउने हैन हलोको अनौ समात्नुपर्छ ।” राजा कडा स्वरमा बोल्छन् ।
”मौसुफजस्तो ज्ञानीगुणीले यस्तो गर्न खोज्नु शोभा दिँदैन, सबै जानेर ढिपी कस्नु आत्मावञ्चना हो ।” मन्त्री निराश भई भन्छन् । राजा उत्तेजित र चर्को स्वरमा भन्नथाल्छन् ”म तपाईंजस्तो वाङ्मय साधक होइन तर चाहिने कुरा अवश्य बुझेको छु । बेकारका कुरामा समय खेर नफालौँ ।” स्रष्टा मन्त्री भरङ्ग भएर भन्न लाग्छन्, ”सरकार मानवजाति सदा खानलाउन पाए मात्र रमाउँछ ? उसको आफ्नो मौलिकता अर्थात् अभिव्यक्ति, भावना, संवेदना, वात्सल्य, स्वतन्त्रता आदि कुराको कुनै माने छैन ? सरकारले भनेबमोजिम सबै स्रष्टाले मञ्जुर गर्लान् ? नामञ्जुरीमा सर्वप्रथम मेरो नाम हुनेछ ।”
राजा यसलाई चुनौती ठानेर कुर्लन थाल्छन्-”मन्त्रीजी, तपाईंको फाँटको उपादेयता अब रहेन । चाल्स डार्बिनको सिद्धान्त ‘नेचुरल सेलेक्सन’ मा भनिए जस्तै- जो वातावरण अनुकूल बाँच्न जान्दैन ऊ विलुप्त हुँदैजान्छ ।”
”धन्यवाद ! सरकार म मुक्त भएँ । देशमा जुन कदम चालिँदैछ, त्यो वास्तवमा अगम्यागमनको निस्त्रय उदाहरण बन्नेछ ।” स्रष्टा मन्त्री आँधीझैँ बाहिरिन्छन् । बैठक हल सामसिम्म भयातुर देखिन्छ र बाँकी मन्त्रीहरू निष्पन्द सालिक बन्छन् ।
त्यसपछि राजा त्रिलोचन प्रमुख मन्त्रीतर्फ हेर्दै आदेश दिन्छन्, “समय धेरै खर्च भइसक्यो । त्यसैले आजैबाट कार्यदल गठन गर्नुहोस् र जसलाई अवज्ञा गर्ने मन छ, ऊ मेरो टिमबाट अलग हुनसक्छ ।” अनि त्यहाँ कसैको बोल्ने ठाउँ रहेन र राजा उठेर हिँड्नै लागे ।
देशभरि स्रष्टा आन्दोलन फैलियो, कयौँ कवि, लेखक, कलाकारहरू मारिए र हजारौँ हजार देश निकालामा परे । नगण्य व्यक्ति राजाको हुकुम मानेर बसे । अन्ततः सो आन्दोलन निरङ्कुश तवरले दमन भयो ।
देशमा नयाँ प्रणाली लागू गरियो, तदनुसार पत्रपत्रिका, रेडियो, टेलिभिजन, सिनेमाघर, रङ्गमञ्च यावत कुरामा व्यावसायिक, शीपमूलक, आयमूलक र विकासे निर्माण कार्यक्रम प्रशारण साथै मञ्चन हुन थाल्यो ।
कार्यक्रमको झलक यस्तो छ, राजाको वक्तव्य-भाषण-निर्देशन, पशुपालन, बालीनाली, फलफूल, गोबर ग्यास, कुखुरापालन, ऊर्जा, आत्मरक्षा, बङ्कर टेक्नोलोजी, मनि एन्ड माइन्ड टेक्नोलोजी….आदि….थुप्रै प्रतिफलमुखी विषयको नौलो प्रयोग… ।
एवम् रितले दुई वर्ष देशको आर्थिक स्थिति रजतमय भइ आयस्रोतमा दोब्बर बृद्धि हुनगयो र सबैले राष्ट्र अग्रगमनतिर बढेको अनुभव गरे । आफ्नो खाका अनुकूल परिणाम निस्किरहेकोले राजा हर्षविभोर भए र सम्बन्धित सबैलाई मानपदवी, तक्मा, पदोन्नति र पुरस्कारको घोषणा गरे ।
तेस्रो वर्षको मध्यतिर समाजमा असाधारण लक्षणहरू प्रकट हुन थाल्यो र खासगरी मानिसहरूको अनुभूति, स्वभाव, चित्तवृत्ति, चर्चा, अनुशीलन आदिमा जुन साह्रै कहालिलाग्दो भएर देखिन सुरु भयो । जीवन र जगत्प्रति विक्लान्त हुँदै मान्छे एकोहोरो सन्तप्त र स्वयंमा हराउनथाल्यो । ऊ खानलाउने समस्याबाट त मुक्त भयो तर अर्को पाटो जीवनको रामारुमी उन्मुख हुँदैगयो । मनोद्वेग, चित्तदुधा, मतिभ्रम, उदासिनता, अक्रमण्यताजस्ता कुराहरू समाजमा बढ्नगई रगतमासुको आवरणमा मान्छेको अन्तस्तल रहितत्वमा विलिन हुनथाल्यो ।
पहिले रित्ता देखिने मानसिक अस्पतालका वार्डहरू थेगी नसक्नु चापमा देखिन थाल्यो र डिप्रेसन साथै आत्महत्या तीन गुणा बढेर गयो । प्रायः मानिस निद्राको औषधि नखाइ सुत्नै नसक्ने भए ।
सधैँ एउटै खाले कार्यक्रम प्रशारण र मञ्चन हेर्दाहेर्दा वाक्कदिक्क भइ जनताले रेडियो सेट र टीभी बाटोमा मिल्काई दिनथाले । त्यसैगरी एकरङ्ग चलचित्र, नाटक हेर्न छाडी सिनेमाहल र रङ्गमञ्च भुताहाघरमा परिणत हुँदै गए । मनोरञ्जनको विकल्पमा जुवाघर, बेश्यावृत्ति, मधुशाला, लागूऔषधजस्ता व्यवसाय अति फस्टाउँदै गयो र त्यसको प्रतिफल समाजमा डर, त्रास, हत्या, बलात्कार साथसाथै विभिन्न अपराध पहिलेको भन्दा चारगुना वृद्धि भएको देखियो ।
थोरै बाँकी रहेका बौद्धिक जमात् वनजङ्गल, पहाडमा पर्णकुटी बनाई त्यसमा दिन बिताउन लागे । उनीहरू झरनाको कलकल, पछीहरूको कूजन, पुष्पलिटको भुँ….भुँ, नदीको कलरव सुनेर मनोरञ्जन लिँदै वनपाखामा रम्नथाले ।
दिन प्रतिदिन देशको हालत अस्तव्यस्त, भयावह हुनगई राष्ट्रको आय पहिलेको भन्दा तीन गुणा तल झर्यो । राजा त्रिलोचन आफ्नो अभीप्सा चकनाचुर भएको देख्दा मर्माहत भए । तुरुन्त एउटा आपतकालीन बैठक बोलाइयो । अन्ततोगत्वा बैठकले सबै निर्वासित स्रष्टाहरूलाई सम्मानसाथ यथाशीघ्र देशमा फर्काउने निर्णय गर्यो । भोलिपल्ट नरेशले छिमेकी देशका राजालाई एउटा अनुरोधपत्र पठाए । धेरै दिन बित्यो तर कुनै पत्रको जवाफ छिमेकी देशबाट आएन । यता राष्ट्रको हालत झन् बिग्रँदै जानथाल्यो र राजा त्रिलोचन एकदिन राम्रै थला परे । सार्वजनिक सभा-समारोहमा उनी देखिन छोडे । उनमा रोगको विलक्षण प्रकृति देखियो । कुनैबेला कराउने, रुने, आफैँ एक्लै कुरा गर्ने र हाँस्ने, कहिले आत्तिने, डराउने, झम्टिने र उनी विक्षिप्त हुँदै गए । अनेकांै तवरले उपचार गरियो तर सबै बेकार भई उनी दिनप्रतिदिन गल्दै जानथाले । अचानक एउटा प्रातः कालमा राजाले आफूलाई धेरै हलुका भएको महसुस गरेर दरवारको बगैँचामा टहल्न थाले । यसबेला उनलाई उद्यानमा भएका विभिन्न फूलहरू, चराचुरुङ्गी, कीटपतङ्ग र वरिपरिको वातावरण नौलो र मनोहर लाग्नथाल्यो । उनी मनमनै विभोर भई सोच्न थाले । “ओहो ! यो चर र अचरको महि सन्तुलन वास्तवमा विकल्पमा रहेछ ।” एक्कासि उनले देशको परिस्थिति सम्झेर तुरुन्त प्रमुख मन्त्रीलाई डाक्न भने । प्रमुख मन्त्री राजाका सामु शीघ्र हाजिर भई सबै जानकारी विस्तारमा दिन थाले । यसैबीच परिचरले एउटा सिलबन्दी रुक्कापेस गर्यो । जुन छिमेकी देशबाट आएको पत्र थियो र राजाले ज्यादै हषिर्त भएर पत्र वाचन गर्न लगाए । पत्रको व्यहोरा यस प्रकार थियो,
महाराज,
हाम्रो देशका सम्मानित नागरिक स्रष्टा त्यहाँ पठाउन हामी असमर्थ भएका छौँ । परन्तु दुई देशका हाम्रा जनतालाई एउटै नागरिकको सूत्रमा समायोजन गरेमा स्वतः सिद्ध सबै कुरा साझा बन्नेछन् ।
हाम्रा बहादुर सैन्यदल जतिसक्दो चाँडै त्यहाँ पुग्दैछन् । मौसूफको उपचारका लागि यहाँको प्रसिद्ध मानसिक अस्पतालमा राम्रो व्यवस्था गरिदिएका छौँ । धन्यवाद ।
राजाको दाहिने छाती चसक्क पोल्यो र पीडाले रन्थनिए । साथै….आँखा वरिपरि मलिमस टाटैटाटा स्थूलाकार हुँदै उनको देह अनालम्ब डङ्ग्रङ्ग लड्यो र कताकता कानमा एउटा क्षीण कोलाहल हरायो । मोलित दृष्टि लगाई उनी बरबराए ”एउटै….लघुपात्रमा, सबै…..असम्भव…..के सोचेँ ? के भयो अहो ?…..छत्रभङ्ग……।” अब पीडा हराउँदै गयो र एकदम स्थिर भारहीन भइकन त्रिलोचन महाँनिद्राभित्र हराउँदै गए र साथै अनौठो अनुभव गरे…..कोही उनको छातीबीचमा प्वाँखले पङ्क्तिबद्ध लेख्दैछ….र काउँकुती जस्तो लाग्दैछ उनलाई अनि राजा पुगे एकादेशमा ।
(स्रोत : मधुपर्क माघ, २०६७)