समीक्षा : चीत्कारको सौन्दर्य

~गण्डकीपुत्र~Gandakiputra

जीवनमा सधैं हतारो छ उनलाई । घर अफिस गरेर मात्र पुग्दैन । फिल्डमा गइरहनुपर्छ । कहिले माथि पहाडतिरका गाउँमा कार्यक्रम पर्छ । कहिले धुलाम्य तराईका गाउँहरूमा पुग्नुपर्छ । यसै बीचमा राष्ट्रिय चाडजस्तै भएर आउँछन् दादुरा, पोलियो, हात्तीपाइले आदिका विरुद्धको खोप अभियान । त्यसबेला त झन् व्यस्त रहन्छन् उनी । खोपहरू दिएको दिनदेखि फेरि बज्न थाल्छ फोनको घन्टी । यो खोप लगाएको मेरो बच्चालाई त ज्वरो आयो । मेरो परिवारमा यस्तो भयो । जवाफ दिंदादिंदा आजित हुन्छन् उनी । फेरि साहित्यिक समारोह हुन्छन् । साथीभाइको बचन राख्न जानै पर्‍यो । आफू पनि लेख्ने बानी लागेको लेख्नै पर्‍यो । यताउता गरेर बेफूर्सद रहने तर लेखनमा कुनै न कुनै रूपले सक्रिय रहने यी व्यक्ति हुन् कवि, गीतकार नवराज सुब्बा

नवराज सुब्बा राम्रो कवि सफल गीतकार र कुशल कार्यालय प्रमुख हुन् । उनको लेखनको विधा गीत, कविता मात्र होइन निबन्ध पनि हो । पछिल्लो पटक उनी मुक्तककारका रूपमा पाठक सामु उभिन आएका छन् । नेपाली मुक्तकको इतिहास विधागत हिसाबले हेर्दा त्यति लामो छैन । तर पनि यस विधामा नेपालका प्रख्यात कवि साहित्यकारहरूले पनि कलम चलाएका छन् ।
भीमदर्शन रोक्का, हरिभक्त कटुवाल, भूपि शेरचनहरूले मुक्तकको बगैंचा हराभरा गराउनमा आफ्नो विद्वता खर्चिएका थिए । त्यसपछि यस क्षेत्रमा कलम चलाउने स्रष्टाहरूको सूची निकै लामो भइसकेको छ । यसै लाममा उभिन आइपुगेका छन् नवराज सुब्बा । उनी लेखनमा निरन्तर सक्रिय मात्र हैन त्यसको सार्वजनिकीकरण गर्न पनि सक्रिय रहन्छन् ।

भर्खरै साझा प्रकाशनले आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनी तथा कला, साहित्य मेलामा आयोजित पुस्तकहरूको विमोचन कार्यक्रममा यो पुस्तक सार्वजनिक गरिएको हो ।

देशको मर्ममा घाउ लागेको बेला साहित्यिक बजारको भाउ कस्तो होला र ? तर पनि साहित्य आफ्नो गतिमा अघि बढिरहेको हुन्छ । त्यस समयका पिला र खटिराहरूको पीडामा मलमपट्टी गर्दै । एउटा भनाइ छ राजनीतिले मानिसको सम्बन्धलाई बिगार्छ । एकआपसमा वैमश्यता र कटुता सिर्जना गर्छ । राजनीतिमा सधैं छल, कपट, बेइमान मौकाइरहेको हुन्छ । एउटै झण्डामुनि बस्छन् । एउटै छाता ओड्छन् तर पनि उनीहरूका बीच वैमनश्यताको रेखा सधैं तेर्सिरहेका हुन्छ । साहित्य यसभन्दा फरक हुन्छ । साहित्यले मानिसका मन र मुटुमा हार्दिकता उत्पन्न गराउँछ । एकआपसमा सद्भाव बढाउँछ र मानिसलाई एकआपसमा जोड्छ । यो मानिसका मनमा सकारात्मक सोच विकास गर्ने कुरामा नवराज सुब्बाको मुक्तक संग्रह चित्कारले सतत प्रत्यन्न गरेको पाइन्छ । एकातिर राजनीतिमा आएको विशृङ्खलता, अर्कातिर देशवासीले भोगिरहनुपरेको पीडा । युवाहरू आफ्ना पौरखी हात र जोशिला आँट लिएर विदेशी गल्लीहरूमा आफ्नो भविष्य खोज्दै भौतारिएका कथा, अरुका ताता बगरमा भेडाको बथानका बीचमा देश सम्झेर उदास उदास टोलाइरहेका यो देशका जोशिला काँधहरू, सीमाभित्रै आफ्नै आँगनमा विभेदको शिकार हुनुपरेका गरिबहरू, आफन्तहरूबाटै बेचिन बाध्य भएकी चेली र दाइजोको बहानामा जिउँदै जलाइएका विचरा छोरीहरू यिनकै कथाव्यथाहरू बोकेर आएको छ चीत्कार।
चित्कार मुक्तकसंग्रहभित्र संग्रहित मुक्तकमा विषय विविधता प्रशस्त पाइन्छ । उनका मुक्तकहरूमा व्यङ्ग्यात्मक मिठासता पनि पाइन्छ । समाजभित्र रहेका विसंगत पक्षमा उनका मुक्तकले तीरले झैं मानिसका मुटु छेड्ने काम गरेका छन् । आफ्नो कर्तव्यबाट च्यूत भएका आमाबाबु, आधुनिकताका नाममा समाजमा भित्रिरहेका विकृतिहरू, काम गर्नभन्दा गफ गर्न सिपालु समाजसेवीहरू, प्रेमको बहाना गर्र्दै बलात्कारमा उत्रने प्रेमीहरू, यस्ता धेरैधेरै विषयमा नवराज सुब्बाका मुक्तकले व्यङ्ग्य प्रहार गरेका छन् । त्यतिमात्र होइन, उनका मुक्तकहरूमा प्रकृतिको सुन्दरपक्षको चर्चा गरेको पनि पाइन्छ । खोला, नाला, वन, जंगल, डाँफेमुनालजस्ता प्रकृतिसँग गाँसिएका विषयपस्तु उनका मुक्तकमा पाइन्छ । धाननाच, भोटेशेला, झिझियाजस्ता समाजका विविध संस्कार र संस्कृतिका पाटामा पनि चित्कारको ध्यान गएको पाइन्छ । यसैले चित्कार मुक्तकसंग्रहलाई सौन्दर्य प्रदान गर्ने काम गरेको छ ।

नवराज सुब्बा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख हुन् । साहित्य साधनामा निरन्तर उनी नेपालीमा एमए, एमपीएच जनस्वास्थ्य र विद्यावारिधि शोधार्थी हुन् । जनस्वास्थ्य व्यवस्थापनमा दक्षता हासिल गरेका उनी नेपालका विभिन्न क्षेत्रमा पुगिसेका छन् ।

द्वन्द्व स्वास्थ्य व्यवस्थापन र शरणार्थी स्वास्थ्य व्यवस्थापनमा समेत संलग्न उनीबाट हालसम्म जीवन मेरो शब्दकोषमा कवितासंग्रह, मनको मझेरी निबन्धसंग्रह, बीच बाटोमा ब्यूँझेर कवितासंग्रह, सहिदलाई सलाम गीतसंग्रह, यात्रा आधा शताब्दीको कवितासंग्रह र चित्कार मुक्तकसंग्रह प्रकाशित कृतिहरू हुन् । पत्रपत्रिकामा नियमित जस्तो उनका जनस्वास्थ्यसँग सरोकार राख्ने लेखहरू प्रकाशित भइरहन्छन् । उनका संगीतबद्ध गरिएका सिडी र एल्बमहरूमा देशको माया, लुकेको रहर, अमूल्य जीवन र हामी पहिले नेपालीजस्ता संकलनहरू सार्वजनिक भइसकेका कृतिहरूमा पर्दछन् । नवराज सुब्बा विभिन्न आयामहरूले बाँधिएका एक सफल स्रष्टा र स्वयम् गायक पनि हुन् । उनी साहित्यमा जतिकै प्रेम सांगीतिक क्षेत्रमा पनि दिन्छन् । तिल, चामल कपाल भइसकेका सुब्बा व्यक्तिगत भेटघाटमा अत्यन्त शालीन र विनशील लाग्छन् । सधैं हाँसिरहने सबैसँग मित्रवत् व्यवहार गर्ने यिनको स्वभावका कारणले होला यिनको कतै पनि टीकाटिप्पणी र आलोचना सुनिँदैन ।

मुक्तक संरचनाका हिसाबले चार पदीय अभिव्यक्ति मानिन्छ । तर पनि विभिन्न स्रष्टाहरूले तीभन्दा छोटा र लामा मुक्तक पनि लेखेका छन् । मुक्तकका विषयमा विभिन्न समयमा विभिन्न विद्वानले आफ्ना धारणा राखेका छन् । वरिष्ठ प्रगतिवादी समालोचक नरेन्द्र चापागाईंका अनुसार मुक्तक “छोटो, छरितो, खिरिलो र झरिलो अभिव्यक्ति जो स्वयम्मा परिपूर्ण रहन्छ भन्ने परिभाषाको आधारमा मुक्तकको स्वरूप–संरचनाको निम्ति यति नै पंक्तिको अनिवार्यता रहन्छ भन्न चाहिं सकिँदैन । यस आधारमा त अर्थपूर्ण अभिव्यक्ति एक पंक्तिबाट पनि मुखरित हुन सक्दछ भने त्यसलाई मुक्तक भन्न सकिने देखिन्छ । यसैगरी दुई पंक्ति, तीनपंक्ति, चारपंक्ति, पाँचपंक्ति, जति भए पनि आत्माभिव्यक्तिको सरलता, वस्तुताको सूक्ष्म आभास, प्रबन्धहीनता र अनुभूति स्वयम्मा संरचित हुने कवितालाई मुक्तक भन्न सकिन्छ । तै पनि एक सबल, प्रभावकारी, प्रखर तथा चमत्कारपूर्ण कथन र कथ्य रहेका मुक्तकको स्वरूपचाहिं चार पंक्तिको हुँदा बढी रोचक र प्रभावोत्पादक बनेको देखिन्छ । यसमा पहिलो, दोस्रो र चौथो चरणका अन्तिम पद वा पदावलीको विधान सानुप्रास र तेस्रो चरण अनुप्रासहीन रहेका देखिन्छन् ।” समालोचक चापागाईंले पनि परम्परागत मान्यताजस्तै बनेर आएका चनुष्पदीय संरचनालाई मुक्तकमा प्रयोग गर्नु उपयुक्त मानेका छन् । यही मान्यतालाई अनुशरण गर्दै अर्का वरिष्ठ समालोचक रविलाल अधिकारी भन्छन्, “फारसीका रुवाइयातका आधारमा बनेको स्वरूपको पहिलो, दोस्रो र चौथो पाउका अन्त्यमा अन्त्यानुप्रास मिल्ने र तेस्रो पाउनमा मुक्तकले भन्नुपर्ने सार कुरो भन्ने मुक्तकको स्वरूप हो ।

सालाखाला सबै पंक्तिमा २–४ अक्षरभन्दा अक्षर घटी वा बढी नहुनु यसको अर्को आधार हो ।” समालोचकका आ–आफ्ना परिभाषा होलान् वा हुन सक्छन् । तर पनि मुक्तकमा कलम चलाउने स्रष्टाहरूको अभियान आफ्नै गतिमा अगाडि बढिरहेको छ । र, यही यात्रामा आफ्ना सुन्दर मुक्तकहरूको संगालो चित्कार बोकेर स्रष्टा नवराज सुब्बा पाइला मिलाउन आइपुगेका छन् । यो उनको उत्साह, गतिशील भएर बढिरहोस् । यही शुभकामना ।

(स्रोत : Nawaraj Subba’s Facebook)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.