~ इन्द्रकुमार श्रेष्ठ ‘सरित्’~
एउटा कथा लेख्नु छ, यही सम्झेर सुशान्तलाई रातभरि निन्द्रा लागेन । भोलिपल्ट कार्यालयमा पनि दिनभरि उसले छटपटी बेहोररिह्यो । सुत्दा, उठ्दा, खाँदा, काम गर्दा जत्तिखेर पनि एउटा नवीन कथा लेख्ने हुटहुटीले उसलाई गाँजिरह्यो । आफ्ना मित्रमण्डलीसमक्ष उसले कुरो राख्यो । तर, कस्तो नवीन कथा लेख्ने भनेर समाधान निस्कन सकेन । झन्झनै उसको छटपटी बढिरह्यो ।
आफ्ना पुराना रचनाहरू पल्टायो उसले । साहित्यमा लेखेरै तीसौँ वर्ष बिताएँ भने एउटा कथा लेख्न मलाई किन यो विधि छटपटी ? किन यो महाभारतको पीडा ? ऊ घोरियो । यो विषयमा लेख्छु, त्यो विषयमा लेख्छु भन्दै उसले दर्जनौँ साहित्यिक रचना पढ्यो, समाचारपत्रहरू स्वाट्ट पियो, रेडियोलाई कानैमा टाँस्यो भने टेलिभिजनलाई आँखैमा राख्यो । तर, उफ ! उसले आफूले खोजेजस्तो कथानक कहीँ कतै भेट्टाउन सकेन ।
कथानक खोज्दै उसले जनयुद्ध लडेका साथीहरूसँग पनि छलफल गर्यो । तर, लामै छलफल चलाउँदा पनि उसले चाहेजस्तो कथानक र खोजेजस्तो पात्र पाउन सकेन । दिक्क मान्दै ऊ घरितर लाग्यो । भोक लागे पनि भोजन स्वादिलो पटक्कै लागेन उसलाई । दिक्दारीको भावमा शून्य मस्तिष्क लिएर ऊ ओछ्यानमा लम्पसार पर्यो ।
निजी पुस्तकालयमा पसेर उसले प्रकाशित भइसकेका आफ्ना रचनाहरू ओल्टाइपल्टाई गर्यो । अरे ! मैले के लेखेको रहेनछु त ? सामाजिक, आर्थिक, राजनीतिक प्रत्येक विषयवस्तुमा कलम चलाएकै त छु नि ! विशेषगरी मानिसका चेतन/अचेतन मनका भावनालाई प्रकटीकरण गरेर लेखिएका मेरा रचनाहरू हरेक राष्ट्रियस्तरका पत्रिकामा छापिएकै हुन्, तिनको प्रशंसा पनि भएकै हो । त्यसो भए वैचारिक दृष्टिले परपिक्व, प्रगतिवादी दृष्टिकोणले सटीक र क्रान्तिकारी धारमा अब्बल गणना हुने कस्तो कथा लेखूँ त म ? उसले श्री साहित्यिक पत्रिकाका सम्पादक जलनलाई सझियो । आफूले उक्त पत्रिकालाई दिएको नवीन कथाका बारेमा कुरा गर्न उसले बोलाइरहेको पनि थियो । ऊसँग नै आफ्नो समस्याका बारेमा छलफल गर्नु उपयुक्त नहोला त ?
“जलनजी ! तपाईंलाई मेरो नयाँ कथा कस्तो लाग्यो ?” श्रीको कार्यालयमा पस्दै उसले हेलमेट खोलेर एकातिर राख्यो र जलनतिर दृष्टि केन्द्रित गर्यो ।
“सुशान्तजी ! नेपाली साहित्यमा तपाईंको भाषा ंर शैलीको सधैँ प्रशंसा भएकै हो र तपाईंको नयाँ कथाको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । तर, विषयवस्तुका दृष्टिकोणले चाहिँ यो कथा मूलधारको साहित्यिक पत्रिकाका लागि होइन, बरु तपाईंहरूकै प्रगतिवादी खेमाको साहित्यिक पत्रिकाका लागि उपयुक्त हुन सक्छ । त्यसैले श्रीका लागि तपाईंले हिजोका दिनहरूमा लेख्ने माया, प्रेम, यौन, रितरागकै पीरोअमिलो स्वाद भएको कथा पाए म आउने अंकमै छाप्छु । बरु पारश्रिमिकको रकम अग्रिम टक्र्याउँछु,” पहेँला दाँत देखाएर जलनले ङिच्च हाँसो हाँस्दै भन्यो ।
“तपाईंले भनेजस्तो कथा त मैले धेरैअघिदेखि नै लेख्न छाडिसकेँ, जलनजी । म त अचेल चेतना, परविर्तन, देशप्रेम, समानता र प्रगतिका कथाहरू मात्र लेख्छु,” सुशान्तले आफ्नो लेखनको अभीष्ट प्रस्ट पार्दै भन्यो ।
“त्यसो भए मलाई माफ गर्नूस्, सुशान्तजी ! म आफ्नो पत्रिका देशदेखि विदेशसम्म पठाउँछु । त्यो घेरालाई खुम्च्याएर म मेरो पत्रिकालाई एउटा टोल वा समूहमा सीमित पार्न चाहन्नँ,” जलनले उभिएर गरेको नमस्कारलाई सुशान्तले अवाक् भएर हेररिह्यो । केहीबेरपछि केही नबोली खिन्न मनस्थिति लिएर सुशान्त श्रीको कार्यालयबाट बाहिरियो ।
ऊ त्यहाँबाट हान्निएर पीपलबोटमा पुग्यो । त्यहाँ जम्मा भएका भिन्न उमेर समूहका साहित्यिक मित्रमण्डलीले पनि उसका कथाहरू लामो समयदेखि पढ्न नपाएको गुनासो गरे । त्यो गुनासोमा साँच्चिकै चिन्ता थियो वा थियो त्यहाँ केवल व्यंग्यवाण ? उसले त्यतातिर ध्यान दिएन, बरु कारिन्दाले हाकिमसमक्ष स्पष्टीकरण दिएजसरी सुशान्तले भन्यो, “कथा म लेख्न चाहन्छु, लेखिरहेकै पनि छु । तर, मैले लेख्ने विषयवस्तुहरूमा म आफैँ आमूल परविर्तन, समयानुकूल परविर्तन चाहन्छु । दसवर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, देशमा भएका राजनीतिक परविर्तन, उथलपुथललाई आत्मसात् गर्दै ममा आएको वैचारिक अनि राजनीतिक परविर्तन आफ्ना कथाहरूमा कथा नै लछप्पै भिज्ने गरी पोख्न चाहन्छु । तर, यस परविर्तनलाई कविताहरूमा अभिव्यक्त गररिहे तापनि मैले मेरा कथाहरूमा भित्र्याउन सकिरहेको छैन । यस परविर्तनलाई आत्मसात् गर्दा मेरो शैली पनि नबिग्रियोस् र राम्रा कथाहरू पनि लेख्न सकूँ, के तिमीहरू मलाई कुनै सझाव दिन सक्छौ ?”
प्रत्युत्तरमा कोही केही नबोलेपछि ऊ घरै फर्कियो र ल्यापटप खोलेर छोटा कविता, गीत र गजलहरू निजी क्षेत्रका साहित्यिक पत्रिपत्रिकाहरूलाई इमेल गर्न थाल्यो । आठ-दसवटा पत्रपत्रिकालाई आफ्ना रचनाहरू इमेल गरसिकेपछि उसले आफ्नो रचनाको फाइल पल्टायो, …हो, कथा लेखन र प्रकाशनमा मात्रै कमी भएको हो, नत्र गीत, गजल, कविता, संस्मरण, लघुकथा त मैले नियमित लेखिरहेकै छु, छापिइरहेकै छन् । अनि, पाठकद्वारा राम्रो प्रितक्रिया पनि पाइरहेकै छु ।
हिजोका दिनहरूमा पनि ऊ आफ्ना रचनाहरूमा गति, प्रगति र चेतनाको कुरा गर्थ्यो, देशलाई माया गर्थ्यो, श्रम गरेर खाने मिहिनेती मान्छेहरूको प्रशंसा गर्थ्यो, देशघातीहरूको सधैँ विरोध गर्थ्यो । तर, उसका ती रचनाहरूको कहिल्यै सही मूल्यांकन भएन । प्रगतिवादी खेमाले प्रगतिशील साहित्यकारका रूपमा उसलाई कहिल्यै स्वीकार गरेन भने बुर्जुवा भनिने साहित्यको मूलधार अर्थात् खेमाले उसलाई सधैँ प्रगतिवादीको बिल्ला भिराइरह्यो । तर, अब उसलाई यो दुईवटा साहित्यिक धाररूपी नाउको यात्रा पटक्कै स्वीकर छैन । किनभने, वैचारिक दृष्टिले आफ्नो दृष्टिकोणमा स्पष्ट भएसरि ऊ प्रगतिवादी लेखनमा पनि आफ्नो परचिय र स्थान खोज्ने क्रममा छ । तर, ऊ डराउँछ जिन्दगी गालेर आर्जन गरेको साहित्यिक परचिय जीवनको यस मोडमा आएर आफैँले आत्मसात् गरेको, स्वविवेकले अंगीकार गरेको राजनीतिक विचारकै कारणले गर्दा सधैँका लागि धूमिल हुने त होइन ?
अल्लारे माया, प्रेम र प्यारका विषयवस्तुलाई उसले आफ्ना रचनाहरूमा ठाउँ नदिएको धेरै भइसक्यो । बुर्जुवा साहित्यिक चहलपहललाई चटक्कै छाडेर नयाँ नेपाल बनाउने जुलुस, हडताल, सभामै ऊ व्यस्त भइरह्यो । नयाँ परिवेश र नयाँ अनुहारमाझ अप्ठ्यारो मान्दै आफ्नो साहित्यिक परचिय दिइरह्यो । तर, सधैँ उसलाई असजिलो अनुभूति भइरह्यो, कतै साथीहरूले मलाई आधा शताब्दी उमेर काटेको बूढो बाटो बिराएर यता आएछ त भन्दैनन् ? हैन भने मूलधारका पत्रिपत्रिकाले उसका रचनालाई सधैँ महत्त्वका साथ ठाउँ दिइरहे । तर, आफ्नो भनेर ऊ जुन घरमा पुग्यो, त्यो घरको साहित्यिक ढोका उसका लागि कहिल्यै खुलेन । उसलाई अब छटपटी मात्र होइन, औडाहा हुन थालिसकेको छ । किनभने यही स्थिति रहिरहने हो भने अब ऊ साहित्यिक शरणार्थी बन्ने दिन टाढा छैन भन्ने सत्यबोधले उसलाई चिमोट्न र लछारपछार पार्न थालिसकेको छ । जलनले भनेजस्तै मेरो यो कथा प्रगतिशील पत्रिकाका लागि उपयुक्त छ भने भोलि नै नयाँ नेपाललाई दिनुपर्ला । यस सोचले उसको छटपटीलाई केही कम गराएको अनुभूति भयो सुशान्तलाई ।
नयाँ नेपालका सम्पादक चूडानन्द विद्रोहीले सुशान्तको कथा सरसर्ती पढिसकेपछि कथा सुशान्तलाई नै फर्काउँदै भन्यो, “हेर्नूस् सुशान्तजी ! तपाईंको भाषा राम्रो छ, शैली राम्रो छ । तर, नयाँ नेपालका लागि प्रगतिवादी दृष्टिकोणमा पनि विशेषत: क्रान्तिकारी धार हुनैपर्ने सन्दर्भमा कथा त्यति उपयुक्त लागेन मलाई ।”
“किन ?” सुशान्तले जिज्ञासा राख्दै भन्यो, “मलाई त यो कथा मैले अहिलेसम्म लेखेका कथाहरूमध्ये वैचारिक दृष्टिकोणले सबैभन्दा अब्बल प्रगतिवादी कथाजस्तो लाग्छ ।”
“हेर्नूस्, भाषा र शैली मात्र राम्रो भएर पुग्दैन । त्यसमा विचार खँदिलो चाहिन्छ । तपाईंको कथामा प्रगतिवादी सोच, चिन्तन र दृष्टिकोणको चेतना साह्रै नै सतही रूपमा आएको छ । त्यसैले यो कथा सुधारोन्मुख कुनै साहित्यिक पत्रिकालाई दिनु भए बेस हुने थियो ।”
“हस् विद्रोहीजी ! सुझावका लागि धन्यवाद,” सुशान्तले उठ्दै भन्यो ।
“नयाँ नेपाललाई सुहाउँदो कुनै रचना भए सम्भिनुहोला,” विद्रोहीले औपचारकिता निर्वाह गर्दै भन्यो ।
“हुन्छ विद्रोहीजी, प्रगतिवादी दृष्टिकोणको समुद्रजस्तो गहिराइ भएको कुनै रचनाको सिर्जना गर्न सकेँ भने यहाँलाई नै टत्रयाउँला नि !”
तनावले सुशान्तको टाउको फुट्लाजस्तो भएको थियो । मोटरबाइक चलाएर घर पुग्न पनि उसलाई हम्मेहम्मे भयो । घर पुगेर सावरमुनि करबि दस मिनेटजति बसेपछि मात्र उसको तातिएको दिमाग अलि शान्त भयो र ऊ स्नानगृहबाट बाहिर आयो । बैठक कक्षमा आएर दुईथरी खेमाबाट दुई फरक ढंगले व्याख्या गरिएको आफ्नो कथालाई सुशान्तले ओल्टाइपल्टाई धेरैपटक पढ्यो । तर, त्यो कथामा उसले कुनै खोट भेटेन । एकथरीले चाहेजस्तो अबउप्रान्त ऊ आफ्नो कथालाई रितरागको चास्नीले भिजाउन चाहँदैन थियो भने अर्कोथरीले चाहेजस्तो ऊ कथामा कागजी जिम्वाल र मुखियारूपी बुख्याँचाहरू अनावश्यक रूपले उपस्थित गराउन पनि चाहँदैन थियो । ऊ समाजबाट विषयवस्तु टपक्क टिपेर समाजलाई नै सन्देश दिन चाहन्थ्यो । हो, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा त्यहाँ उसले चेतनाको गीत गाएकै हुन्थ्यो । कुनै पनि घटना वा चरत्रिलाई मनोगत ढंगले होइन, गुण र दोषका आधारमा हेर्ने थियो । शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार र असमानताको घोर विरोध गर्दै देश र जनताको माया उसले धेरै धेरै शब्द खर्च गर्ने नै थियो । किनभने, प्रगति रुचाउने न्यायका पक्षपाती तर अन्याय सहनै नसक्ने न्यायका हिमायती जुझारु, संघर्षशील र चेतनशील देशप्रेमीहरूको कथा लेख्न उसलाई नआउने कहाँ हो र ? तर, किन यहाँ स्थिति सहज भइरहेको छैन ? किन मेरो लेखन यहाँ भकुण्डो बनिरहेछ ? कतै कुनै ठूलै खेल त भइरहेको छैन यहाँ ? सुशान्तको मनमा प्रश्नको लामै लाम लागे तापनि उत्तर खोज्न भने ऊ असमर्थ रह्यो ।
“किन यतिविधि चिन्तित हुनु भा’को ? एकदिन कसो तपाईंको लेखन र प्रितभाको मूल्यांकन नहोला त ?” श्रीमतीले दिएको सान्त्वनाले पनि उसको मनमा शीतल वर्षा गराउन सकेन । अचानक सुशान्तको मुख उज्यालो भयो । अचानक ठूलै चिट्ठा परेसरि ऊ रमायो । भो, अब म प्रगतिवादी कथानकका लागि तडपिन्नँ । संसारलाई नै स्तब्ध पार्दै राजनीतिको मूलधारको पार्टीको विचारलाई आत्मसात् गर्दै, अंगीकार गर्दै मैले मेरो साहित्यिक प्रशिद्धिलाई चटक्कै छाडेँ, परचियलाई छाडेर आएँ । कार्यक्रमहरूमा अतिथि बन्ने व्यक्ति अहिले सामान्य कार्यकर्ता बनेर पार्टीको पछि लागिरहेछु भने नयाँ कथाका लागि मेरो विगत र आगत नै सबैभन्दा उपयुक्त कथा हुनसक्छ । व्यर्थै किन म नयाँ कथानकका लागि कस्तूरीजस्तो छटपटी रहनू ? उमेरले ५० वर्ष नाघेको व्यक्ति भएर पनि आज म १८ वर्ष ननाघेका तन्नेरीहरूसँगै कुम जोडेर पार्टीका लागि रातो झन्डा बोकेर अहोरात्र खट्न सक्छु र खटिरहेकै छु भने मेरो सम्पूर्ण गतिशील अनि क्रान्तिकारी धारको जीवन नै एउटा पूर्ण प्रगतिवादी कथा होइन र ?
ट्वाल्ल परेर आफूलाई नियालिरहेकी श्रीमतीतिर ध्यान नदिई सुशान्त ल्यापटपका अक्षरहरूमा आफैँलाई उतार्न थाल्यो । सर्वप्रथम त उसले कथाको शीर्षक नै राख्यो : एउटा कथा लेख्नु छ ।
(स्रोत : नेपाल साप्ताहिक ४५५)