उसको शरिर मोटो थियो । भुँडी उछिट्टिएर भुईँ हेर्न नमिल्ने भएकोले हिँड्न पनि उसलाई मुश्किल पर्थ्यो । ऊ अतिसारको व्यथाले एकदिन अपर्झट मर्यो ।
उसको त्यो उछिट्टिएको पेटमा के रहेछ भनि हेर्ने उत्सुकता सबैलाई भयो । मानिसहरूले पोष्टमार्टम गर्ने कसाईलाई उसको पेट चिर्न बोलाए । पेट चिरेको हेरेपछि सब अवाक रहे । उसको पेटभित्र पेट्रोल, मट्टितेल, ग्यास, गाडीका टायर, पार्टपुर्जा सबै भेटिए । हुन पनि
उसले आफ्नो कार्यकालमा, कार्यालयमा रहेका पिनदेखि पेट्रोलसम्म र पाएको भए प्लेनसमेत तथा कलम देखि कम्प्युटर हुँदै कमिशनसम्म राज्यबाट हसुरेको थियो ती सबै वस्तु उसको पेटले पचाउन सक्ने कुरै थिएन ।
मान्छेको पेटमा त आन्द्रा, भुँडी, लादी जस्ता वस्तु हुन पर्नेमा नगद र यस्ता जिन्सी वस्तु भेटिंदा त्यहाँ उपस्थित कुनै एक व्यक्तिले मरेको मान्छे देख्दा देखाउनुपर्ने सहानुभूति व्यक्त गरेनन् बरु उनीहरूमा ऊप्रति भयंङ्कर आक्रोश, घृणा र द्धेश फैलियो ।
विस्तारै अरु मान्छेहरू त्यहाँ जम्मा भए र उसको लाशलाई टुक्रा, टुक्रा पारेर लात्ती हान्दै, आयन्दा कुनै पनि नेपालका हाकिमहरूले बदमासी गरेमा उनीहरूलाई जिउँदै जलाउने उद्घोष गरे । किनकि नेपालका कानून र नीतिनियम यै मृतक हाकिम जस्तै का हातमा रहेकोले उन्मुक्ति पाई तमाम गरीब जनतालाई रसातलमा घसेटेर देशलाई चुस्नेछन् ।
वास्तवमा यस देशका हाकिमहरू सबै यस्तै थिए र जनताले कहिल्यै शिर ठाडो पार्न सकेका थिएनन् ।
केही वर्षपछि यस देशमा हाकिम बन्ने व्यक्ति मुश्किलले फेला पर्ने लख काटिदै थियो किनकि अझै नेपालीहरूले नयाँ नेपालको काल्पनिक सपना देख्न भने छाडेका जो थिएनन् ।