एकजना स्वाभिमानी युवक बेरोजगारीले असाध्यै पिरोलिएको थियो । सकेसम्म त उसले आफ्नो मर्का आफन्तहरू समक्ष राख्न चाहेको थिएन । तर जागिर कहीँ नभेटेपछि ऊ आफ्ना मामानेर गयो । उसका मामा सत्ताको नजिक त छँदै थिए र शक्तिशाली पनि थिए । त्यसैले उसले मामानेर आफ्नो समस्याको पोको फुकायो । भान्जाको
अप्ठ्यारो परिस्थितिसँग मामा राम्ररी परिचित थिए । यस्तो स्थितिमा फाइदा उठाउन राजनीतिमा खप्पिस मामा के चुक्थे र ! मामाले भनी पनि हाले ‘भान्जा ! जागिर त जहाँसुकै पाइन्छ तर भान्जाको विचार चाहिँ अलि ———–। भान्जा चाहिँ अलि जिल्ल पर्यो र सोध्यो ‘के भन्न खोज्नु भएको मामा, प्रस्ट भन्नुहोस् न !’
मामाले आफ्नो अभीप्सा पुरा हुने ठानेर जुङ्गामा ताउ लाउँदै भने ‘मतलब, सत्ताधारी पार्टीको टिकट लिनु पर्यो ।’
आफ्ना मामाले समेत विचारको सौदाबाजी गर्न खोजेको देखेर भान्जा मामाको मुखमा हेर्या हेर्यै भयो ।
(स्रोत : Ramesh Mohan’s Blog)