आज फेरि उसको हाकिम फेरियो । पुरानो हाकिम हुँदा उसले प्रशस्त फाईदा लुट्यो । कहिले साथीहरूको कुरा लगायो । कहिले फाईल लुकाएर कार्यालयका कार्यक्रमहरू फर्जी रुपमै सम्पन्न गरायो ।
यस कार्यको लागि हाकिमको पुरा समर्थन प्राप्त गरेकै हो उसले ।
हाकिमकै पछि लागेर सबैतिर जान्थ्यो । कार्यालयको काम बाहेक घरमा पनि उसको आवत जावत चल्दथ्यो । घरमा जाँदा हाकिमकी श्रीमतीलाई उसले कोसेली पात लैजाने गरेकाले पनि श्रीमतीको बलले समेत उसले अवसर छोप्न सक्दथ्यो ।
हाकिमको सरुवाको गाईंगुंई सुनेदेखि अब उसले के गरेर खाला भनी अफिसका मान्छेहरू भन्दै थिए ।
तर उसको नयाँ हाकिमले हाजीर हुने वेलामा उसलाई गाडीमा बसाई धाप मारेर ल्याएको देख्नेहरू फेरि पनि उसकै बोलवाला हुने र आफूहरू पछि पर्ने कुरा सोचेर पछुताउँदै थिए । चाप्लुसीका तरिका नजानेकामा आफैलाई धिक्कार्दै थिए उनीहरू ।