कहाँकहाँबाट बहेर आउँछ खुशीको लप्का
र टाँसिन खोज्छ मेरो हृदयको भित्तामा
सिँढिहरु आफैले चढाउँन खोज्छन् मलाई
सफलताको चुलीमा
आफन्त-साथीहरु भइदिन्छन् मेरो जहाँज
जहाँ रहेर म बादलहरुमा शयर गर्न सक्छु
कविता जन्मन्छ मेरो हरेक अनुभूतिको संयोजनमा
यस्तो लाग्छ कि
ईश्वरलाई फुर्सदै फुर्सद छ अचेल
जो आएर बसिरहन्छन् मेरो घरसंसारमा
र मेरा एकएक दुखको निवारण गर्न तल्लीन रहन्छन्
सखारै स्वागत गर्छ घामको प्रशन्न झुल्कोले
र दिनभर मेरै सेवामा जुटिरहन्छ
म जहाँ जान्छु
त्यहाँ फुल फुल्छ
ढुंगाहरुमा पनि प्वाँख पलाउँछ
र ती उँड्छन् चिरबिरचिरबिर गर्दै माथी गगनमा
यत्तिका सुमधुर गीतहरु गुञ्जन्छन्
यत्तिका सपनाहरु मलाई भेट्न आउँछन्
जीवन आफै आएर संचार हुन खोज्छ मेरो ढुकढुकीमा
तर मेरी प्रिय मायालु !
तिमी जो अप्राप्य सपना भैसकेकी छ्यौ
म रोज निहार्छु तिम्रो अपरिमेय तस्विर
र निर्क्योल गर्छु
कसैले पनि तिम्रो ठाउँ ओगट्न सक्दैन
कुनै लहरले पनि वगरलाई छोप्न सक्तैन
ए मेरी कल्पनाको आकाश !
म तिम्रो कामनालाई साबित गरिदिन्छु
हाँसीहाँसी दुखलाई सुखको आवरणले पोतिदिन्छु ।
(स्रोत : Arzose.blogspot.com )