~गोविन्दप्रसाद आचार्य~
मायामा विष मिसेको भाव क्रान्तिलाई नदेऊ
गोमनका टुना जादुका तर्र्क क्रान्तिलाई नदेऊ
गोमनको मीठो लयको भाषाले क्रान्तिलाई खाला है
क्रान्तिले हारे संसार भरी भूतले नाच्ला है
हार्दैन सत्य बादल उठी घाम कति छेक्ला र
पानीको फोका जालीको शासन कतिन्जेल टिक्ला र
मायालु भावले काखमा राखी क्रान्तिलाई नरेट
खरीको हैन रगतको अक्षर इतिहास नमेट
दुश्मनका सामु क्रान्तिले भन्छ नगर बिलौना
ख्याल–ख्यालको हैन मानव जीवन नमान खेलौना
अवसरवादका ढल र मेल नमिलाउ नदीमा
अवसरवाद गनाउँछ जान क्रान्तिको नदीमा
विचार भन्दा विषका गोमन क्रान्तिमा पस्दैछन्
क्रान्तिको घाँटी डस्नलाई मौका हेरेर बस्या छन्
क्रान्तिका गीत गाए झैं गर्छन्, विषका गोमन
अवसर खोज्न आउने गोमनलाई आफ्नो हो नभन
सर्पलाई दुध भरपेट देउ त्यो भित्र विष छ
सर्पलाई माया जति नै देऊ त्यो भित्र रिस छ।
धनको नरम काखमा बस्न क्रान्तिलाई नछोऊ
धनको काखमा नपाउँदा बस्न घरघरी नरोउ
दुश्मनका मैला हातले सफा क्रान्तिलाई नछोउ
धनका लोभले क्रान्तिका दुश्मन किल्लामा नछाऊ
सर्वहाराको उज्यालो दीप क्रान्तिले बाल्ने हो।
दुश्मनका किल्ला आधार सारा क्रान्तिले ढाल्ने हो।
अवसरवादलाई नखोल ढोका धरापमा पार्ने छन्
क्रान्तिलाई संकट परेको बेला छोडेर भाक्ने छन्।
सजिलो बेला हुलबाँदी आउँछन् संकटमा हराउँछन्
डरपोककहरु दुश्मनको काँखमा बसेर कराउँछन्।
क्रान्तिका सत्रु घोकेर हुन्न बन्दुक समाऊ
दुश्मनका किल्ला छाडेर निडर क्रान्तिमा रमाऊ
क्रान्तिले खान्न दुश्मनको भतेर कुर्सीमा बसेर
सम्झौता गर भन्दै क्रान्ति पाउमा झुकेर
मनभरी हैन नीतिमा हिंड क्रान्तिको घरमा
विद्युत बग्यो संंसार बल्यो हेर वत्यो तारमा
क्रान्तिले बाटो बनाई हिंड्छ हारेको हुँदैन
बादल भन्दा माथि छ सूर्य छेकेर छेकिन्न
–२०६७/१/२७, काठमाडौं
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २६ – २०६७ जेष्ठ ०५ गते, बुधबार)