आत्म घटन/आत्म विघटनको कुरुक्षेत्रबाट
सौन्दर्यबोधसम्मको एक वृहद नियात्रा ,
रकेट विमानहरुमा
श्वासाल्पता र ‘एनहाइड्रस’ अधमरो जिन्दगी !
नहुनु बराबरको ऐन्द्रियता
नहुनु बराबरको मानवीयता
रक्त भण्डारले कुबेर हुँदा-हुँदै पनि
एक फाल्सो जीवनदानको कन्जुस्याँईमा गुम्सिरहँदा
प्रगल्भ एक ऋतु ,
हामफालेँ हरीयो मनोसागर ‘पृथ्वी’
कि डुबुल्की मारेँ आत्मोतरसहअस्तित्ववाद ।
इन्द्रिय-लोलुपतामा अनुप्राणीत हुँदै
जादुमय मधुमिश्रित अभिव्यञ्जनाहरुले
सम्पूर्ण स्वामिभक्तिमा
प्रक्षेपण गरेँ अग्निवत् स्वप्नभूमिहरु
उम्रिएँ विचाराङ्कुरहरू
म त ब्रह्माण्डकै सर्वसुन्दर क्याक्टसफूल !
म त सुनखानी रहेछु सुनखानी !
मनोप्रतीपतादेखि आत्मएकतामा सँगोलित हुँदै
जुनसुकै ज्यामितीय आकारहरुमा होस्
रक्त सिँचाईको स्व-अभियन्ता
बाँचिरहेछु ‘ऐन्द्रिय संवेदनशिल’
कि यो ‘सत्ताइसौँ रक्तदान’ सम्म आइपुग्दा
‘सहप्राप्ती’ को आत्मबोधमा
विना वीर्य नै –
जन्माईरहेछु अनगिन्ती यशु ख्राइस्टहरु ,
बगिरहेछु असिमित प्राणी धमनीहरुमा ।
FEBRUARY 14, 2012
(स्रोत : Arzose.blogspot.com )