आफ्नो पुस्तैनी पेशा संकटमा पर्न लागेकोले मन्दिरका पुजारीहरु चिन्तित बने । सामूहिक समस्याको रुपमा देखिएको त्यो संकट निवारणका लागि ठूलो भेलाको आयोजना गरियो । धर्मप्रति मानिसहरुको घट्दो आस्था बढ्दो महंगीमा उही बर्षौदेखिको यथावत दान-दक्षिणा र भेटी मठ-मन्दिरको जीर्ण अवस्था प्राचीन बहुमुल्य मूर्ति आदिको चोरी-चकारी चोरी गर्ने पापीहरुले सजाय नपाउनु शान्ति-सुरक्षाको अभाव जस्ता विषयमा गम्भिर छलफल गरी केही निर्णय गरे ।
– दान-दक्षिणा र भेटीको दर बढाउन भक्तजनसँग अनुरोध गर्ने ।
– मठ-मन्दिरको जिर्णोद्धारका लागि सरकारसँग अनुरोध गर्ने ।
-शान्ती सुरक्षा कायम गर्न तथा चोरी-चकारी रोक्न प्रहरी-प्रशासनसँग सहयोग माग्ने ।
-पापकर्म गर्ने अपराधीहरुलाई कडा भन्दा कडा सजाय दिलाउन सरकारसँग अनुरोध गर्ने ।
-धर्मप्रति मानिसहरुमा आस्था जगाउन रेडियो टी।भी।तथा पत्र-पत्रिकामा प्रचार-प्रशार गर्ने ।
उक्त भेलाले समस्याको पहिचान गरी समाधानको बाटो निकालेको भन्दै दंग भए पुजारीहरु । त्यस भेलाको निष्कर्षबाट धेरैजना आशावादी देखिए ।
पत्रिकामा समाचारको रुपमा प्रकाशनार्थ आएको पुजारीहरुको बैठकको निर्णय सम्पादकले राम्ररी पढे । माथि उल्लेखित समस्या समाधानार्थ सहयोग याचना तथा कामनाका लागि कतै पनि भगवानको नाम उल्लेख गरिएको थिएन । त्यो निर्णय पढेर सम्पादक मरी-मरी हाँसे ।
(स्रोत : स्वतन्त्र नेपाल )