‘बा ? पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ, मरेका दिनहरूको ।’
हरिभक्त कटुवालको यो लघुकविता । लघुकविताको गर्भमा जोगिएको बृहत् काव्य । मैले बुझेको थिइन पहिले, अचेल धेरैतिर मानवबस्तीका कथा सुन्न मोहनी लाएको छ, यो लघुकाव्यले ।
म इतिहासको विद्यार्थी भएर एक कविताको जाँच लेख्छु । आज लेखिने कविताको उत्तरले इतिहासको सत्यसाक्ष्यमा बकपत्र गर्नेछ । बकपत्र गर्न सपथ खाइन्छ । सपथ खानेले झुठो बोले कसुरदारले पाउने सजाय पाउँछ । देखे, जाने र सुनेसम्मको बकपत्रमा बोल्न पाइन्छ । सजायको भागीदार म हुन्न भन्नेमा निर्धक्क छु । त्यसैले बकपत्र बोल्दैछु । श्रेस्तेदारले लेखे हुन्छ । यो इतिहास नाम चलेका नामुद राष्ट्रको होइन, न त पुरापुर मारिसकेर अस्तित्व नै अर्को राष्ट्रको विलयमा पुर्याइएको ‘तिब्बत सिक्किम’ जस्ताको कथा हो । हो भने मेरो, तपाईंको र हामी सबैको बस्तीविकासको कथा बोकेको नेपाल अधिराज्यको सत्य विवरण हो । मानवबस्तीमा मानव भएर चलखेल गर्न नपाएको यथार्थ छ । एक कविताको विवेचनाको निम्ति यति भूमिका बाँधेको छु । विवेचनालाई छानिएको कविताको शीर्षक हो- ‘राजकुमारी नदी’ । कविको नाम हो, सन्मान चेम्जोङ । यो कविता ‘रङ्गैरङ्गको भीर’ कविता सङ्ग्रहमा छ । ‘रङ्गैरङ्गको भीर’ कवितासङ्ग्रह नागार्जुन रचना पुरस्कार २०६० बाट पुरस्कृत स्व. स्वप्नील स्मृति-सन्मान चेम्जोङ)को कविताको सँगालोको नाम हो । वाक्यले भ्रम नपारोस्, सन्मान चेम्जोङले नै आफूलाई स्व. स्वप्नील स्मृतिमा परिणत गरी प्रयोगधर्मिता र यथार्थवादिता दुवैको आँVmलो एकै आँकुरोबाट बनाएका छन् । भीरम्ाा एक रङ्ग छरेर कुनै रूख बाँचेको देख्नुभा’छ भने त्यसमा तपाईंको चेत पुग्नु आवश्यक छ । भीरमा कठिनले जरा हालेर, क्षमताभरिको आयतन हालेर बाँचेका रूख हुन्छन् । आँकुरा दर्रिएर आँख्ला बन्छन् । कुनै आँख्लामा आधा भाग एक कलाको र आधा भाग अर्को कलाको देखिने हुन्छ । प्रयोगवादको आधारमा इतिहासको यथार्थ भन्न कविले यो शैली समातेका छन् । शैली विज्ञानको समालोचना गर्नेले रङ्गैरङ्गको भीर कविता सँगालोमा किराँतकुलको ‘यूमा’ शाखामा संस्करण भएका एक-एक शब्दको निर्वचन दिएर गरेछन् भने त्यो बेग्लै खलो छ । खलाभरि अन्नको दाँइ गर्ने किसानले जोहो गरेको सहसरहको सांस्कृतिक सह यहाँ पनि छ । एक मानवीय वाक्य छ- ‘तिमी संस्कृतिबिनाको भाषा बोल्न सक्तछौ, जो चराहरू बोल्छन् तर भाषाबिनाको संस्कृति बोल्न सक्तैनौ, जो मानवहरू बोल्छन्’ । एउटा ‘हङसिङ’ च्याबु्रङ भएर बज्दैछ ।
यो समीक्षा जो पढ्दै हुनुहुन्छ, तपाइर्ंलाई थाहा हुनुपर्यो । काठमाडौं अधिराज्य लिम्बूको राजधानी हो । यसमा मनोहर उपत्यका छ । आनुवंशीय भाषा ‘फाकसेरा’ छ । यो उपत्यका आवादीका बारेमा सबै जातले सकेसम्म आफ्नो जातको पुर्खाको आवादी हो भन्ने ठाउँ खोजेका छन् । गोपालवंशी शब्द कतै लेखिएको छ । गोपालवंशीका कारणले यादवहरूले आवाद गरेकोमा दुईमत हुनुहुँदैन भन्दछन् हाम्रो देशका यदुवंशी/कृष्णवंशीहरू । महीषपालशब्द कृष्णवंशीको पर्याय हो । नेवारी समूहमा धौभडेल थर यहीँबाट पसेको हो । कृष्णवंशीले गाईपालनको अंश नपुगेकालाई भैँसी पालकको भागमा राखेका छन् । आभीर, अहिरहरूको प्राचीनताबाट हेर्दा र पशुपतिको उत्पत्त्ािको कथासमेत गाँस्दा गोपालवंशी नै नेपाल आवादकर्ता हुन् । आजको युगमा ती विदेहगण राज्यमा अधिक छन् । वैदिकहरूसँग गाँसिएको जातिले पजनी गरेको भनेर बौद्ध धर्मले इतिहासमा ठाउँ दिएन । बौद्धधर्म ग्रहण गरेका मध्ये तौलिहवातर्फका शाक्यगण राज्यबाट आएकाले आवाद गरेका भनेमा बल नपुग्ने ठानेर तिब्ब्ाततर्फबाट आएको जातिले पजनी गरेको भन्यो भने भरपर्दो हुने अनुमानमा ‘मञ्जुश्री’ ले पानी हत्याको पजनी गरे भन्ने लेखे । यसरी नै शंकराचायको दिग्विजयको कथा थप्न मन लाग्यो । एकतिर वैदिकलाई भने अर्कोतिर लामावादी । बौद्धधर्मबाहेकका भिक्षुवादी वबौद्धधर्मको विजयका कथा बनाएर थप्न मन लाग्यो । बौद्धिस्ट इतिहासकारलाई कुरो जताबाट घुमाए पनि विदेहगण राज्यमा स्थापित ‘जनक सभ्यता’ ले एकतर्फ घचेट्यो भने अर्कोतर्फ शाक्यगण राज्यबाट उत्प्रेरित बौद्ध सभ्यताले ठेल्यो । बीचैमा थिए, किराँतहरू । यिनीहरू पूर्वोत्तर प्रदेशबाट नै नेपाल पसेका थिए, तापनि कोसी सभ्यता कायम गरिसकेका थिए । सप्तकोसी किनाराको औत -किराँत) जातिको बेग्लो वैभवशाली बस्ती पूर्वी नेपालमा अकण्टक थियो । उपत्यकामा चौँरीगाई पाल्ने जाति पसेर सानो पुच्छर भएको गाई पाल्ने र भैंसी पाल्ने समेतलाई बाहिर्याएको थाहा पाए, किराँतले । उत्तरबाट पस्नेेले दक्षिणबाट पस्नेलाई दक्षिणतिर धपाउनै लाग्दा पूर्वबाट पसे ‘तागेरा निङ्वा फूमाङ्’ का सन्ततिहरू । ‘तागेरा निङ्वा फुमाङ्’ आम किराँत जातिका कुलपुर्खा हुन् । यिनी आज भारततर्फ ‘ब्रह्मसूत्र’ लाउनेले व्याख्या गरेका ‘निलग्रीव’ भन्दा फरक छन् । तर धनुविद्याको कौशल दुवैतर्फ छ । धनुविद्याको परम्परा लडाइँका लागि पुरानो हो । आयुधप्रक्षेपणमार्फत् उत्तरलाई उत्तरैतिर र दक्षिणलाई दक्षिणैतिर खेद्न सफल भए किराँतहरू । राज्य बसाले वाग्मतीको किनार उपत्यका काठमाडौंमा पनि । यस उपत्यकाभित्र किराँतका निसा, दशीमा शिवपुरी, बूढानीलकण्ठ र किराँतेश्वर -मृगस्थली अझै पनि छँदैछन् । पछि, वैष्णवमध्येका वैष्णवहरूले यिनलाई फेरि धपाए उपत्यकाबाट । लिच्छवि भनेका समुद्री देवता विष्णुलाई इष्ट मान्नेहरू हुन्, जसका अवशेषहरू चार नारायणमा छँदैछन् । फेरि, कोसी किनारामै मात्र वल्लो किराँत, माझ किराँत र पल्लो किराँत गरी तीन कित्तामा मूलतः तीन शैलीबाटै इष्ट देव-देवी थान थपना राखी यिनीहरूले वंश विस्तार गरिरहे । समयको चत्रवात चलिरहयो । सिकार खेलेर बँदेल खाने किराँतहरूका पुर्खा वैदिक कालमै अलिखव छन् । ‘विज्यञ्धनु कपर्दिनो’ ऋचांश वेदमा छ । चिम्रा आँखा हुनु र दाह्रीजुँगा नपलाउनुको आधारमा मङ्गोलमुनी भनेर आजसम्म भने पनि र भए पनि दक्षिणात्य आगमनका जातिले ल्याएको आर्य चिन्तनमा पनि गाँसिदै- मिसिँदै पुख्यौली प्राकततासमेत नछाड्दै गरेको राज्य विस्तार फेरि खुम्चियो । यता, जनक सभ्यतामा ‘रामपन्थी’ वैदिक बनिसकेका थिए । रामपन्थी वैदिकसमेतको सहारा लिएर ग्वाला वैदिकहरू वैष्णव बनेका थिए । ग्वाला वैदिकमध्येबाट राजकीय ओहदा कायम गर्नेहरू लिच्छवि हुन् । लिच्छवि र किराँतका मुडभेड हुँदा किराँतले फेरि कोसी प्रदेशतर्फ नै फर्किनुपर्यो । लडाका-लडाका, शूर-वीरहरूको जत्था मात्र उपत्यकाबाट बाहिरियो । केही जोर आत्मसमर्पणवादी, अवसरवादी किराँतहरू उपत्यकामा नै रहिरहे । जसलाई लिच्छविले भुईं जोताइरहे । तिनै किसानहरू नेवार सभ्यतामा पछि ‘ज्यापु’ भनिए । यसरी फाकसेरामा उपत्यका काठमाडौं यस पूर्वको आजको ऐतिहासिकता हिँडेको छ । यक्षमल्लको एकीकरण अभियानसम्म्ा आइपुग्दा करिब पच्चीस सय वर्षको विगत उस्तो छ । एकीकरणको झस्का मल्लकालमा यक्षमल्लले दिएका थिए । यो थाहा पाएका पृथ्वीनारायणले ससुरालमा सेन जेठानले अपमान गराएपछि तरबार साँद लगाए । त्यो साँदले वैदिककै वणर्ाश्रम व्यवस्थालाई आधार बनाएर राज्य चलायो । त्यसो त नेवार राजाले पनि रक्सी र राँगा खाने वैदिक नै तयार गरेर वणर्ाश्रम व्यवस्थाकै राज्य चालु राखिरहेथे । नेपाल अधिराज्यको भूगोल एकीकरणपछि एघारपुस्ते शाहवंशको जप-पाठ-बुर्की-बलिमै नेपालको ब्रह्मस्व खर्चिएको खर्चिएै, दिन ढलेको ढल्यै छन् । उसमाथि नरभूपाल शाहभन्दा अघिका गोर्खा-लमजुङका शाहहरू जन्माउने पाठेघरका उपाख्यानमा मात्र आमनेपालीको बुद्धि खनियो र त्यति मात्रै तुरियो । यावत् नेपालका आवादका नाली दिन कोहीकतैबाट लागिहाल्यो भने शाहीगणको गोर्खेलौरीका मारमा परिहाल्छ । यो दुर्दशाको समूह मनोज्ञानमा २००७ सालले अलिकति उघारेको फब्ल्याँटोलाई २०४७ सालले अलि घक्र्याएको छ । र, बहुदलवादी चेतनाको आधारमा आफ्नो नेतृत्वको भेट्नू समाउन जम्जमाएको छ, समकालीन चेतना । हो, यस नरनाताको पुर्खावादमा जन्मिएकोे छ ‘राजकुमारी नदी’ ।
किराँत पुर्खाको आदिम माता ‘मुजिङ्ना खेयोङ्ना’ को उदयदेखि सन्मान चेम्जोङको पुस्तासम्म्ा अनन्तकालदेखिको ‘किरुवा घराना’ को आर्तनाद, अस्मिता कैरन्, स्वत्व पहिचानमा समकालीन जातीय कविहरू बगुन्द्र लागेका छन् । यिनीहरूले कतै आफूलाई आदिवासी भनेका छन्, कतै जनजाति भनेका छन् र कतैभने अल्पसङ्ख्यक, अनि कतै त खसेतर जाति पनि भनेका छन् । यहाँनेर ‘नीलो मह’ का कवि आदरणीय वैरागी काइँलाको वैचारिक काव्यधार ‘मातेको मान्छेको भाषण मध्यरातको सडकमा’ समेतलाई साक्षी राख्न किमार्थ भुल्नुहँुदैन । विचारप्रधान काव्यका स्रष्टा र लोकतन्त्रवादी ‘काँल्दाइ’ बुढेसकालमा पुर्खावादको आवादीमा पसे । उहाँलेे पुर्खावादको जिप्टी समाउन थाल्दा शासक जातमा शाह राजा र शासित जातमा अन्य जातका खैलाबैलाले समय खाइसकेको छ । यो गरिब अधिराज्यको सत्ताभोगमा कथित् मूलधार रक्षित छ । यो कथित् मूलधारले तयार पारेका किराँत पुर्खाहरूबाट कसैलाई लिइएको छैन । अरू लाभहानिका कथा लेखी साध्य छैन । हो, यहाँनेर विचारणीय छन्, हाम्रा देशका तमाम जात-उपजात । अल्पसङ्ख्यक राजा शाहहरूले ‘होमेडोमे’ संस्कृतिलाई समातेर राज्य गरेकाले भाषाको भुमरीमा पनि यदाकदा आक्रोश गाँसिँदैछन् । एकतिर, होमेडोमेको संस्कृतिको भाषाले मात्र ठाउँ लिएको अवस्था छ र अर्कोतर्फ निजत्वको जगेर्नामा नै रोक लगाउने निरंकुश बर्बर राज्य परिपाटी छ । बहुस बेगरको सत्तापरक त्रासदीले ज्यादै नै कुण्ठित बनायो, नेपाली जातिलाई । विश्वको मानचित्र पढेर परीक्षा लेखेपछि आजको सदीमा निजत्वको खोजी गर्नुलाई उदेक मान्नुपर्दैन । त्यसो त ‘मतवाली कवि’ लाई मात्र कुण्ठित बनाएको होइन शाहसत्ताले । ‘तागाधारी’ मिथिला सभ्यता सिङ्गैलाई उत्तिकै कुण्ठित बनाएको उदाहरण यहीँ छ । शाहसत्ताको गाउँमा कुण्ठित नभएको नेवार मात्र हो । शाहसत्ता नेवार सभ्यतासँग खड्ग साट्छ र कुमारीका हातको टीका थाप्छ । यद्यपि, बौद्ध नेवार सभ्यतालाई गोडाको पानी पियाउँछ । त्यसो त, खस बाहुनलाई कात्तो खुवाएर जातच्युत गरी आफूलाई विजेता बनाउँछ । ‘माथ्लो’ घोषित गर्छ । यतिविघ्न विनासकारी राज्यसत्ता छ । यसले समुच्चा मानव बस्तीमा विघ्नैविघ्न र विनासै विनास मात्र गर्यो । त्यसैले हाम्रो सर्वनास भयो । हेर्दैजाँदा र गन्दैल्याउँदा खाली वैदिक जातिको अर्को नमुना हाम्रो देशमा छ, त्यो हो रजवंशी जाति र कोचिला थारूहरूको ‘ठाकुर’ सभ्यता । शाह राजाको राजसत्ताले ठाकुर ठाकुरायन सभ्यतालाई पनि सांस्कृतिक पात्रत्व प्रदान गरेको छैन । सरदर नमुना उदाहरण मात्र यी हुन् । मधेशका तागाधारी गलाएर सतार मुसहर बनाइएका र पहाडका मतवाली गलाएर कुलुङ, खालिङ, नाक्छिरिङ बनाइएका अछूतका विभेदसम्मका अमानवीय र असभ्यता । यो भूप्रदेशका प्राप्ति छँदैथिए । गलित खस तागाधारीका कामी, दमाइर्ं, सार्की, चमार, डोम, कपाली, नकर्मी, कुसुलेजस्ता दर्दनाक पीडा बोकेका तमाम जाति हाम्रै बीचमा छन् नै । शक्तिको उन्मादका पछि लागेका वाक्य वा हरफ या भजन भाटगान कविता होइन । त्यही भनिरहेछ, आजको समकालीन कवित्व ।
चेत नै हराएर विचेत बसेको एक स्थापित सभ्यताको किराँत जाति कहाँनेर छ भन्न्ोमा लागेको एक हुल कविता जमात । जसराज किराँती र विष्णु राईजस्तो, इन्द्रबहादुर-शिव राईजस्तो सार्वभौम भाषा प्रयोगकर्ताभन्दा फरक भएर आयो, आजको किराँत जमात । काव्यधारबाट आएको यस जमातमा श्रवण मुकारुङ, भूपाल राई र राजन मुकारुङले बढी सचेतता थपेको आजको अवस्था छ । स्वत्व विनिर्माणको घेरा बन्दै थियो । धर्मेन्द्रविक्रम नेम्वाङले नेतृत्व नै गर्ने तर्क राखेर घोषणा गरे, रङ्गवादको । यतिञ्जेल विद्रोहको आवाज मात्र भन्न मिल्ने स्थिति थियो । उता, विज्ञानसम्म्ात समाजको खोज गर्ने विश्वव्यापी वामपन्थ चेतले घचेटेथ्यो र समताको सूत्रसुक्तिको खोज थियो । यसअघि भूपाल राईसम्मको कविताको अविर्भावसम्ममा भने ‘सृजनशील अराजकता’ को घोषणापछि बढी सतर्कतासाथ सन्तुलनको र समकक्षी मर्यादाको हाउभाउ राख्ने होसियारी बोकेर आएको छ, रङ्गवाद । हो, यसै परिवेशको पहिलो उद्घाटन हो- ‘रङ्गैरङ्गको भीर’ । डा. गोविन्दराज भट्टराईले लेख्नुभएको हृदयदेखिको भुल्भुलाहटको भूमिकाले बताएको छ, सुँगुर निद्राबाट ब्युँझियो अब किराँत कवि ।
पहिला जागा थियो, बीचमा निदायो र अब फेरि जाग्यो, नेपालको किराँत बच्चो । यसैगरी नेपालको एकएक बच्चो उन्नत चेतचिमर लिएर जागेछ भने बज्रहतियारले हिर्काउनेछ ‘सुँुगुर सभ्यतालाई’ । सुँगुर सभ्यता हिर्काएर मारेपछि मानवसभ्यता हल्किनेछ । मारिएको सुँगुर सभ्यता मल हाल्नका लागि काम लाग्नेछ । त्यसो त यो -अन्य समेत) किराँत बच्चोले भाषाको ‘खेक्चुरी’ पनि लोभैले लिम्बू मुखको नै प्रयोग गरी लेख्न सक्थ्यो । उसले साहित्यिक मातृभाषाचाहिँ खस नेपाली नै बनाइदियो । म आफू खस मातृभाषीको सन्तान भएकाले उपद्रो गुन मानेर आरती उचालेको छु । पछिपछि गएर राष्ट्रभाषा भनिएको सम्पर्क भाषा खस नेपाली छाडेर राष्ट्रिय भाषा भनिएको लिम्बू भाषामा नै ‘पक्कन्दी’ गाउन थालेछ भने पनि मैले चित्त दुखाउने छुइन र होइन पनि । आजका दिनमा मैले पढ्न नपाएका मेरो देश बन्धुका अनेकन् गाथा पढ्न मलाई मेरै मातृभाषामा दिइयो । यसलाई दिलोज्यानले माया गर्नु र जतनले फूलपाती लाइदिएर स्वागत गर्नु नितान्त मेरो कुलीन कर्तव्य हो । यस देशमा रङ्गहरू बग्दैछन् । भाषाका रङ्ग, धर्मका रङ्ग, छालाका रङ्ग, सोचका रङ्ग, घातका रङ्ग, विचारका रङ्ग र हुँदाहुँदा ममताका रङ्गहरू छन् । तर सम्म मैदानमा परिणत हुनुपर्ने रङ्गहरू भीरै भीर बने । यी भीर फुटाएर, कपेर, भत्काएर बिगार्दिनुपर्यो । नयाँ बिरौटा, गरा, टारमा सुविधाको बस्ती बन्नुपर्छ । आत्मीय छिमेकीको बस्तीमा एकएक मितेरी साइनो लाग्नेछ । हरेक मितेरी साइनोको आप्रभाउ राख्ने ‘सेवारो’ को सम्बोधनले उन्नत मानव सभ्यताको चुमलुङ बस्नेछ । यसो भनीकन स्वप्नील स्मृतिलाई स्वर्गीय सोचको जदौ गर्दैछु, तपाईंको ।
‘डँढेल्नो भाँच्चिने भारी शताब्दीहरू किनारै किनार हिँडिरहेछु’ को बर्ताउ भाषाको सम्बोधन सुनुवाइ भन गणतन्त्रात्मक राज्य विधानको जनअदालतमा मात्र हुन्छ है, भाइ सन्मान ?
हाम्रा कविताका गाउँहरू धेरै खाले छन् । ती सबै गाउँहरूलाई एकएक पँधेरोको आवश्यकता छ । सबै पँधेरोमा तिर्खा मेट्न जाँदा असीम आनन्द हुन्छ र नुहाउँदा पनि झनै हलुङ्गो आङले काम गर्न सकिन्छ । हाम्रा कविताको गाउँमा ल्याइदिनुभएको यो नयाँ पँधेरोमा म जीवनभरि नुहाउनेछु । पानी अचाउनेछु । तिर्खा मेटाउनेछु । जप गर्नेछु । सञ्जय जगाउनेछु । कति त कट्कटिएको मयल पनि पँधेरोकै ढुङ्गामा पछार्नेछु पनि । बगिरहने पँधेराको पानी धमिलिन नदिन र फोहोर गर्न नदिन एउटा नाग नै थापेर पूजा चलाउनेछु । बिगार गर्नेलाई त्यही नागले डस्ने सूचना आजै टाँसेको छु ।
‘उहिलेउहिले गायिका नदीहरू, नाच्थ्यौँसँगै हामी, चरा, पुतली र फूलहरू’।
07/26/2008
(स्रोत : Majheri.com )