संसद्अगाडि फ्याँकिएको छ
एउटा घोडाको
शव
केही दिन अथवा सप्ताह
अथवा महिना
अथवा वर्षअघिसम्म
जीवित थियो यो
बलिष्ठ मांसपेशीसहितको
निक्खुर कालो घोडा
आज लम्पसार परेको छ
संसद्को पटाङ्गिनीमा
पहिले–पहिले
जब यो निस्कन्थ्यो
राजकीय अश्वशालाबाट
सँगसँगै एउटा अजङ्गको
त्रासदी पनि
यसको जिनमा कस्सिएको हुन्थ्यो
परिणामस्वरुप
तितरबितर हुन्थे
वरिपरिका यात्रुहरु
यसको खुरमा ठोक्किएको फलामे
नालको क्रूर
डाम
अहिलेसम्म यथावत् छ
कमलो शरीर भएका आइमाईहरुका
छालामा
त्यसबखत म सानै थिएँ
यो फिँज काढेर हिनहिनाउँथ्यो
एक्कासि
र धेरै बेरसम्म
कम्पायमान भइरहन्थे
घर, सडक, वनस्पति, आकाश
र उज्यालो,
प्रत्येक उमेरका नागरिकहरु
यसको टापको हिंसाले
रगतपच्छे थिए
मलाई राम्ररी सम्झना छ
श्वासवान् थियो घोडाका रुपमा
एउटा आतङ्क
देशभरि
तर एकदिन इतिहासले
यसको पिठ्यूँमा सवारी गर्यो
र हिर्कायो निर्मम
कोर्रा
त्यसैले यो डङ्ग्रङ्ग लडेको छ
संसद् समीप
निस्पन्द भएर
ह्वास्स गनाइरहेछ वातावरणमा
कुहिएको सिनो
सहरभरि हल्ला चल्यो
एउटा घोडा
शवमा परिणत भएर
पछारिएको छ संसद्नेर
एउटा विशाल हुल जम्मा भयो
म हेरिरहेछु
संसदअघिल्तिर
घोडाको शव छ
र सांसदहरु भित्र–बाहिर
चपलतापूर्वक
ओहोर–दोहोर गरिरहेका छन्
एकाएक अघिल्लो लहरबाट
कोही कराउँछ
मरेको छैन घोडा
दाजुभाइ, दिदीबहिनीहरु हो !
यो घोडा जिउँदो छ
हेर–हेर, हल्लिरहेछ
यसको गाढा कालो रङगको
याल
हुल स्तब्ध हुन्छ यो सुनेर
र उसको स्वर
प्रतिध्वनित हुन थाल्छ
वल्लो छेउदेखि पल्लो छेउसम्म
मरेको छैन घोडा
मरेको छैन
छैन
म पनि नियालेर हेर्छु
निकट गएर अझ
के साँच्चै जिउँदो छ यो घोडा ?
हो, वास्तवमा चलमलाइरहेछ
घोडाको शव
ठिक्क संसद् भवनअगाडि
विस्तारै–विस्तारै
एउटा लयमा