~स्वप्निल स्मृति~
कुनै ड्रगिस्टले बेहोसमा फ्याँकेको सिरिन्ज
कुनै नगरबधुले
एकदम होसमा मिल्काएको अस्थायी साधन
र न्हुच्छेमान
बागमती नदीको पुलमुनि छन्।
पुलमाथि पो
गणतन्त्रको बग्गीमा नयाँ नयाँ राजाहरू सवार हुन्छन्
मध्यरातमा नयाँ नयाँ रानीहरू
पुलबाट हाम्फालेर आत्महत्या गर्छन्
सिंहदरबारबाट निस्कने ढलको अन्तिम मुख
आदिम लेदोमा भासिएर अल्भि्करहेको नयाँ युग
र न्हुच्छेमान त
पुलमुनि छन्।
वैँशमा महान् कालिगड हो न्हुच्छेमान
त्यो घण्टाघर, धरहरा
त्यो विश्वविद्यालय, एयरपोर्ट
त्यो सपिङ मल, अस्पताल
यो प्राचीन उपत्यकामा
उसले खोपेका नयाँ नयाँ बुट्टाहरू हुन्
यो बागमती नदीको पुलचाहिँ
उसको अन्तिम आविष्कार हो।
न्हुच्छेमानको घोप्टिएको मेरुदण्ड हो पुल
पुलको सन्तान हो ऊ…
उहिले–उहिले
एउटा नयाँ अन्धा राजाले पुराना पुलबाट
बागमतीको भेल तर्न सकेन
र, न्हुच्छेमानलाई नयाँ पुल बनाउन आदेश दियो
पुल बनाइसकेपछि
न्हुच्छेमानको आँखा फुटायो
जिब्रो थुत्यो/नाककान काट्यो
न्हुच्छेमानलाई बागमतीको किनारै किनार लखेट्यो
र राजाले आफूलाई महान कलाकार घोषणा गर्यो
हो, त्यहीदिनदेखि
न्हुच्छेमान पुलमुनि छ।
कालो बागमतीबाट उदाइरहेको काँचो सूर्य
कालो पानीमा ‘क्लिक’ रमितेहरूको उल्टो प्रतिविम्ब
र न्हुच्छेमान
पुलमुनि छन्
पुलमाथि
सुकिलामुकिला मानिसहरू छन्
न्हुच्छेमानले पुल भत्काइरहेको छ कि…रमिता हेर्छन्।
(स्रोत : Nagariknews.com)