~महादेव अधिकारी~
कुरो दुईहजार छपन्नसाल फागुनको हो। प्रज्वल्ल शमसेर ज.ब.रा नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति भएपछि सबै गणहरूमा भिजिट गर्ने क्रममा हाम्रो सुपारेटार हेटौडामा स्थित श्री गोरखनाथ गणमा पनि आउनु भयो र सबै जवानहरूलाई सामेल गराएर केही प्रवचनहरू दिनु भयो।
जसमा उहाँले भनेका केही कुराले मलाई पनि छोयो। मेरो कार्यकालमा मैले सुधार गर्नुपर्ने कुनैपनि कार्य छ भने मलाई पत्रमार्फत या सिधै मेरो कार्यालयमा भेटेर जानकारी गराऊनु होला अथवा फोन मार्फत पनि सम्पर्क गर्न सक्नु हुनेछु ।
म आर्मी हेडक्वाटर को प्रधान सेनापतिको कार्यालय र झम्सिखेलको प्रधान सेनापतिको निवाश शशीभवनमा त्यो भन्दा पनि दस वर्ष अगाडि नै डिउटी गरिसकेको हुनाले त्यहाँको बारेमा सबै कुरा थाहा पनि थियो।
प्रधान सेनापती प्रज्वल्ल शमसेर ज.ब.रा ले त्यति कुरा गरेपछि मलाई सेनाभित्र खास गरी तल्लो दर्जाका ब्यक्तिहरू जो कथित दलित भनेर चिनिन्थे तिनीहरूले झमझम पानी परेको बेलामा पनि रूझ्दै बाहिर बसेर भात थापेर खान परेको कुरा पटक्कै मन परेको थिएन र मलाई त्यही कुरा सेनाबाट हटाउन पर्यो श्रीमान् भन्न मन लागेको थियो तर फेरी सेनाभित्र त्यति सजिलै रिपोर्ट गरिहाल्न पनि सजिलो कुरा थिएन। जाने बोल नजाने जिउँको मोल हुन्छ।
नेपालमा प्रजातन्त्र आएको एक दशक बिति सकेको थियो तर सेनाभित्र त्यसको अनुभूति भएको थिएन। भन्न त भनिन्छ प्रजातन्त्र अग्रगामी भै रहने पद्धति हो जसमा हामी कोही पछि पर्दैनौ भनेर तर त्यहाँ यो भनाई मिथ्या झै लाग्थ्यो। मलाई यो जातिय छुवाछूत प्रति सानैबाट बिमति हुनुका केही कारणहरू पनि थिए। पहिलो त हाम्रो गाउँको बीचमा दमाई गाउँ थियो र दमाई गाउँको दायाँपट्टि हाम्रो बारी थियो भने बायाँ पट्टि हाम्रो गाग्रे बिरौटो थियो। बुबा र बडाबा छुट्टिदा गाग्रेबिरौटो खेत बडाबालाई परेको थियो र बारी हामीलाई परेको थियो। त्यो बिरौटोमा एकदिन बाबुराम दमाईले गँगटा मारेर पोल्यो अनि मैले पनि खाए। सोझो बालपन केही ढाट्न जानिन घर आएर बुबालाई बनेको त दमाईले मारेर पोलेको गँगटा खायो भनेर बुबाले मलाई दाउरोले सुम्लाई हाल्नु भयो म उफ्रेर भागे बुबा लखेट्दै आउनु भयो। हाम्रो घर अगाडि ठूलो गराको डिलमा दबदबेको रूख थियो म बाँदर झै त्यसैमा फुतु फुतु चढेर टुप्पामा पुगे। तर पनि बुबाले ढुङ्गा टिपेर हान्न छोड्नु भएन मैले रूखमै बसेर छलिरहे। कर्णबहादुर हवल्दार ठूलोबा पनि आउनु भयो गाली गरिरहनु भयो। मलाई हान्दा हान्दा बुबाहरूका हातै गलेछन् क्यारे म छल्दै थिएँ। छल्न खोज्दा टेकेको हाँगो लाछिएर झर्यो म समातेको हाँगामा हातले झुण्डीएर फेरी खुट्टा मोटो हाँगो तिर लगेर आर्को हाँगोमा गएँ। लाछिएको हाँगो आवाज गर्दै झर्दा कर्णबहादुर बुबालाई मै खस्यो जस्तो लागेर माथि हेर्नुभएको हाँगोले उहाँको निधारमै लागेर काट्यो र हुलहुलती रगत निस्कियो त्यस पछि बुबाले ठूलो बुबालाई लिएर जानु भयो। म रात परेपछि ओर्लेर परालको टौवामा चढेर सुते आमा रूँदै खोजि रहनु भयो बुबालाई गाली गरि रहनु भयो। मलाई त्यस दिन लाग्यो के रहेछ होला यो जातमा जसले मेरी आमाले दसबर्षसम्म स्वस्थानीको ब्रत बसेर दुईटा दिदीहरू पछि जन्मेको म एउटैमात्र छोरो अपुतालिको बारलाई पनि मार्नै तम्से उसले छोएको खाएकै भरमा यसकुराले म मा अतिनै गहिरो संग डेरा जमाएर बस्यो। त्यस पछि त्यही गाउकी सीता दमिनीको बिहे भयो। दुलही अन्माएर दमाईगाउँबाट लिएर हिडेर तेर्सो गल्लिमा पुग्दा बाबुराम दमाई बेसीबाट त्यही आईपुहेछ र दिदी रोएको देखेर नरोउ भन्दै डोली खोलेर हेरेछ। अन्माएर दिईसकेकी दुलहीको डोली खोलेर हेर्यो भनेर जन्तीपट्टिका केही ब्यक्ति रिसाए भनेर हाम्रो अधिकारी गाउँकै बदनाम भयो यो भनेर भोलीपल्ट पुतली चौतारामा समाज राखेर बाबुराम र उसको बाबु सन्ते दमाईलाई समाजको सामु खड्का साईलाउले तगराको गरालो ल्याएर ठोक्न थालेपछि तीनको चित्कार सुन्न नसकेर मैले भाग बाबुराम भनिदिए उसले पनि बल पाएछ भाग्यो र तल भण्डारीको घरभन्दा तलपुग्यो र लुक्यो। हरिबहादुर दाईहरू सबै मिल्र मलाई गाली गर्न थाले तैले किन भाग भनिस भनेर। त्यसदिनबाट म भित्र एउटा छुवाछूत बिरूद्धको शोला नै उठेछ।
अनि मैले सेनामा भर्ती भएपछि पनि पञ्चायत काल नै थियो। दुईजना भन्दा तीन जना एकै ठाउमा बसेर गफगर्न नपाउने। नयाँ सिपाही पुरानो सिपाहीको खाटमा बस्न नपाउने। सिनियरले भने पछि कानूनको खिलाप भए पनि बोल्न नपाउने। र दलितहरू अन्य जवानहरूसंग खाना खान एउटै लाईनमा सुत्न नपाउने आदेश नै थियो। हाम्रो कम्पनीमा सुनिल नेपाली थियो। उ राम्रो थियो नाँचमा मारूनी भएर नाँच्ने गर्थ्यो। एकदिन उ पानीलिन जाँदा मैले मेरो तुमलेटमा पनि ल्याईदे भनेर दिदा सबैलेमलाई साह्रैनै ठूलो अपराध गरे जस्तै गरे। अहिले ती ब्यक्तिहरूको नाम नलिऊ होला। तिनीहरूले जागिर पुरा गरेर पेन्सन पनि पकाएनन् बीचमै छोडेर गए। पछि पनि हाम्रो कम्पनीमा दलितहरू भनिएका ब्यक्तिहरू प्रजातन्त्रको पुनर्वाहली भएर नेपाल अधिराज्यको संविधान दुईहजार सतचालीसको धारा एघार चार ले दण्डनिय ब्यवस्था गर्दा पनि सेनामा कपडा सिलाउन भर्ति भएका, जुत्ता सिलाउन भर्तिभएका, ट्वाईलेट सफा गर्न भर्ती भएका र केही सिपाहीमै भर्ती भएकाहरूले पनि भान्छामा गएर भात थाप्न पाएनन् अरूसंग टेबलमा बसेर खाना खान पाएनन् बाहीर बलेसी र नालीबाट थापेर धुलोमा बसेर खाएको देख्दा हामी ढुङ्गेयुगमै छौ जस्तो मलाई लागि रहेको थियो। अनि यसलाई हटाउने प्रयास गर्नु मेरो आफ्नो कर्तब्य पनि हो र उचित ढंगले यसलाई पूरा गर्नु पर्ने एक लेखकको जिम्मेवारी र चतुर्याई पनि हो जस्तो मलाई लाग्यो। अनि त्यो भन्दा पहिला पनि त्यस्ता केही सानातिना कुराहरू लेख्दा सेनाबाट हस्ताक्षर चेक गर्न सबै जवानहरूलाई बिदाको निबेदन आफ्नै हातले लेख्न लगाएर हस्ताक्षर जाँच गरेको मैले देखेको थिएँ। त्यसैले पार्वतीसंग सल्लाह गरे उहाँले भन्नु भयो ,हजुर रफ बनाउनुस् म सफ गरौला र मेरो हस्ताक्षरको पत्र प्रधान सेनापतिलाई पठाउँला , त्यस पछि मैले प्रधान सेनापति प्रज्ज्वल्ल शमसेर ज।ब।रा लाई पत्रलेखे ।
सम्मानीय प्रधान सेनापति प्रज्ज्वल्ल शमशेर ज.ब.रा ज्यू हजुर शाही नेपाली सेनाको गौरबमय पदमा आशिन हुनु भएकोमा हार्दीक बधाई तथा शुभकामना छ। तर नेपाली सेनाको इतिहासलाई केलाएर हेर्दा प्रथम सेनापति भीमसेन थापा देखि रोलक्रममा हजुर सैतीसौ प्रधान सेनापतिका रूपमा नियुक्ति हुनु भएको छ। कुरो हजुर नियुक्ति हुनुमा भन्दा पनि हजुरको कार्यकालमा त्यस्तो के सुधार गर्नु भयो जसले गर्दा भोलीका दिनहरूमा हामीले हजुरको नाम लिन सकिरहौं जस्तै चन्द्र शमसेरले आफ्नो कार्यकालमा जंग बहादुरले समेत हटाउन नसकेको सती प्रथा नारीलाई लोग्ने मरेपछि लोग्ने संगै जिउँदै जलाउने अमानबीय क्रूर प्रथा हटाएर र दासप्रथा हटाएर इतिहासमा नाम अमर बनाएका छन्। त्यस्तै हजुरको यो चारवर्षे कार्यकालमा पनि केही सुधार होस भन्ने मेरो चाहना छ। जस मध्य सेनाभित्रको छुवाछूत पनि एक हो। बर्षातको पानी परिरहेको बेलामा कथित दलित भनिएका ब्यक्तिहरू बलेसीमा र नालीमा बसेर रूझ्दै खाना थापेको दृष्यले कसैको पनि हृदयमा शान्ति दिदैन पुसमाघको जाँडोमा भुईमा चिसोमा बसेर तिनीहरूले खाई रहेका छन्। नेपालमा प्रजातन्त्रको पुनप्बाहली भयो। संबिधानले जातिय छुवाछूतलाई अपराध मानेर दण्डनिय ब्यबस्था गरिसकेर पनि संबिधानको अक्षरस पालना गर्ने नेपाली सेना जस्तो गरिमामय संस्थामा यस्ता कुसंस्सार रहिरहनु लज्जास्पद कुरो भएको हुनाले हजुरको कार्यकालमा यो संस्थालाई छुवाछूत रहित पवित्रसंस्थाको रूपमा स्थापना हुनेछ भन्ने पूर्ण आशा र बिस्वासका साथ यो पत्र कोरेको छु।
:- एक सैनिक जवान नेपाली सेना ।
यसरी मैले कोरेर पार्वतीको हस्ताक्षरमा पत्र पठाईयो । एक पटक दुईपटक होईन बारम्बार पठाएँ। हाम्रो पल्टन हेटौडाबाट धनगढी पुग्यो। पछि दुईहजार सन्ताउन्न साल श्रावण चार गते प्रधान सेनापतिबाट पुरै नेपाली सेनालाई परिपत्र जारी भयो। अफिसमा त्यो पत्र मैले पढे। गणपति अजितसिहं ठकुरी ज्युले त्यसैलाई कपीटाईप गराउन लगाएर सबै कम्पनीका हवल्दारमेजरहरूलाई आ-आफ्नो कम्पनीमा यसै परिपत्र अनुसार गर्नु गराउनु भन्ने आदेस दिनुभयो। परिपत्र यसप्रकार थियो। नेपाली सेनालाई छुवाछूत रहित नमूनासंस्थाका रूपमा विकास गर्ने उद्देश्यले बिभिन्नबुदाहरू बनाएर यस परिपत्र लागु गरिएको छ। नेपाली सेनाका सबै बिभाग, गण तथा गुल्मपतिहरूले आ-आफ्नो पल्टनमा यसै परिपत्र अनुसारको व्यवहार लागु गर्न गराउनु हुन अनुरोधछ ।
१. नेपाली सेनामा कुनै पनि ब्यक्तिलाई जातिपातिको आधारमा भेदभाव गर्न नपाईने,२. कुनै पनि ब्यक्तिलाई जातिपातिको आधारमा पूजा स्थल मा जानबाट बञ्चित गर्न नपाईने, ३. कुनै पनि ब्यक्तिलाई जातिपातिको आधारमा भान्छा घरमा जान बाट बञ्चीत गर्न नपाईने, ४. कुनै पनि ब्यक्तिलाई जातिपातिको आधारमा भाँडावर्तन प्रयोग गर्नबाट बञ्चित गर्न नपाईने, ५. कुनै पनि ब्यक्तिलाई सभा समारोहमा भेलाहुनबाट बञ्चित गर्न नपाईने, ७. कुनै पनि ब्यक्तिलाई भातपानी छुनबाट बञ्चित गर्न नपाईने, ८. कुनै पनि ब्यक्तिलाई निशान भगवती पूजामा जानबाट बञ्चित गर्न नपाइने, ९. कुनै पनि ब्यक्तिलाई जातिपातिको आधारमा अपहेलना गालीगलौज गर्न नपाईने, १०. माथि बुदा बुदामा देखाईए अनुसार कार्यवाही गर्नु गराउनु हुन अनुरोध छ र यदि कसैले लागू नगरेको थाहा हुन आएमा संविधानले तोके बमोजिम कारबाही हनेछ। र सबै जवानहरूले यसलाई सहिरूपमा लागु नभएको थाहा पाएमा वा अझै पनि कसैलाई असुबिधा भएमा सिधै प्रधानसेनापतिको कार्यालयमा उजुरी गर्न सक्नु हुनेछ वा सिधै आएर भेट्न सक्नु हुनेछ।
यो परिपत्र लागु भइसकेपछि केही दिन एकथरी कट्टर बब्राम्हणहरू सेना बौलायो, हामी त ज्यान गए पनि दमाई कामीसंग बसेर खादैनौ भनेर बम्किन थाले । केही दिन पर पर सरे पनि तर बिस्तारै बानी पर्दै गयो। माओवादीहरूले अन्ठाउन्न साल मंसीर ८ गते दाङ आक्रमण गरेर सेनाको हतियार लुटेर लगे। ११ गतेबाट देशमा संकटकाल लाग्यो फागुन चार गते राती आछाम आक्रमण गरेर हाम्रो गणका पचपन्न जना सैनिकहरू र प्रहरीहरू गरी एकसय बैसठ्ठी जनाको ज्यान लिए पछि त ब्यारेकमा मान्छे थोरै राखेर सबै अप्रेशनको लागि खटिन थाले। भान्छामा खाना बनाउने सिपाहीहरू पनि रातमा डिउटीमा खटिन पर्ने भयो। अनि जाँडोमा रातमा छ(छ घण्टा डिउटी बसेका जवानहरूलाई चिसोले भेटेपछि गणपतिले रातीमा अदुवा बेसार हालेर तातोपानी डिउटीमै लगेर दिनु भन्ने आदेश जारी भयो। कस्ले लैजाने त भान्छे जवान समेत डिउटी मै छन् भन्ने कुरा हुँदा मैले भने तिनै फाल्वर्स हरू जो अधिकांश कथित दलित भनेर पानी छुन दिईएको थिएन अन आर्मीको परिपत्रबाट नै सबै सराबरी भै हाल्यो तिनीहरूले तताएर दिन्छन् पानी भनिदिए र त्यसै भयो कसै कसै ले पानी पनि पिएनन् केही दिन पछि पिए। त्यस पछिका दिनहरूमा पल्टनको वार्षीक उत्सबमा बेयरा बन्नेहरू सबै दलित नै भए र पूर्णरूपमा सेनाबाट छुवाछूत हट्यो जसको श्रेय म प्रधान सेनापति प्रज्ज्वल्ल शमसेर ज.ब. रा र जनयुद्धलाई दिन चाहन्छु। र यसमा मेरो आफ्नो प्रयासको जित भएको झै ठान्छु। कानून बनेर थन्किएको धारालाई मानबको भित्रैबाट सुधार गराउने मेरो झिनो प्रयास यसरी सफल भएको थियो।
(स्रोत : ennnepal.com)