राजन सिलवाल का १४० मुक्तकहरु

~राजन सिलवाल~Rajan Silwal

———-1————-

एक्लै हिँड्नु यात्रामा, भञ्ज्यांगमा उनी भेटिनु
सँगै उड्नु लहराउँदै, चिदाकाशमा सँगै चेटिनु
सँगै गन्तव्यमा पुग्नु अनि हुनु आत्मीय सहवास
स्वर्ग वा नरक सँगै होस्, उनीसँगै म नि रेटिनु ।

———-2————-

आफ्नै अनादर गर्छ बोको, जब तरुण हुन्छ
नाम न हो, हत्यारा पनि के भो करुण हुन्छ
जन्माएर जान्छ ऊ, शिशु सन्ध्या हरेक दिन
मारी आफ्नै शिशु, भोलि जन्मिने अरुण हुन्छ ।

———-3————-

लाग्ला तिमीलाई मेरो उठ्बसको छाप लाग्ला
लाग्ला इन्कारमा पनि बेइमानको पाप लाग्ला
ओढ्दा तिमीले मलाई, साक्षी हेमन्त थियो
लाग्ला अवश्य पिठ्युँमा, शरदको धाप लाग्ला ।

———-4————-

दुनियाँमा परे मार्न पनि तयार, तिमीलाई कोही होला
दुनियाँमा परे मर्न पनि तयार, तिम्रो लागि कोही होला
पहिलोमा ती जो पनि हुनसक्छन् लेखनाथका पात्रहरू
दोश्रोमा अति थोरै, तिनै जसले जन्मायो सोही होला ।

———-5————-

तिमी स्वयं कस्तो लेख्छौ, एैना हेर कवि
कसैका लागि लेख्न लिएको, बैना हेर कवि
हिमाललाई ढोग्न पनि तिमी पहाड हुनैपर्छ
कति स्वतन्त्र छौ पिँजरामा, मैना हेर कवि ।

———-6————-

शोभा दिँदैन तिमीलाई जिद्दीले भरिएकी
भारती जस्ती हुनु पूर्ण सिद्धिले भरिएकी
नेकनामी चाहन्छु तिम्रो, कामना पनि गर्छु
शालीन, सुखी, आनन्दी र ऋद्धिले भरिएकी ।

———-7————-

तिमी स्वयं कस्तो लेख्छौ, एैना हेर कवि
कसैका लागि लेख्न लिएको, बैना हेर कवि
हिमाललाई ढोग्न पनि तिमी पहाड हुनैपर्छ
कति स्वतन्त्र छौ पिँजरामा, मैना हेर कवि ।

———-8————-

साँधआली पाल्नेहरू आए, फाटेको आकाश टाल्नेहरू आए
शिरपोश ढाल्नेहरू आए, मुटुभित्र आगो बाल्नेहरू आए
धेरैथरि आए बस्तीमा कोही सम्झनलायक, कोही बिर्सन
कोही पानी हाल्नेहरू आए फूलमा, कोही फाल्नेहरू आए ।

———-9————-

यो सहयात्राले तिम्रो रिवनको रंग बदलियोस्
असमय ओइलाउँदो यौवनको दंग बदलियोस्
गर्न त म के सक्छु र खास, केही भरोसाबाहेक
निराशापूरित तिम्रो जीवनको ढंग बदलियोस् ।

———-10————-

कसैले गर्दै नगरेको कामको खोजीमा छु म
क्षतिपूर्ति थाप्नेहरूको लामको खोजीमा छु म
ठान्नुभो कि म कुनै शासक हुँ हिमालमुन्तिर
सीताले अलपत्र पारेका रामको खोजीमा छु म ।

———-11————-

तिमीलाई आधी रित्तो, मलाई त्यो आधी भरी हुन्छ
कसैलाई त्यो कौवा होला, मलाई अश्वेत चरी हुन्छ
भन्दिन म जीवनमा अवसर नै छैन, केही गरूँभने
तिमीलाई जोगी माग्ने होला, मलाई उही हरि हुन्छ ।

———-12————-

तिमी आँशु देख्छौ, मलाई मुटु रुझाउने झरी हुन्छ
रुझी पसिनाले डोको बोक्ने, मेरो लागि परी हुन्छ
मुटु त हुन्छ सबै मान्छेको तर संवेदना कहाँ हुन्छ
जसको हुन्छ, मरोस् कोही – मुखमा कठैबरी हुन्छ

———-13————-

सुनाउन हैन आज म, तिमीलाई सुन्न आको छु
तिम्रो मुस्कानलाई यी आँखामा थुन्न आको छु
मिलाउनै सकिनँ एक्लै जिन्दगीको हिसाबकिताब
मिल्थ्यो कि तिमीसँगै बस्दा, एकफेर गुन्न आको छु ।

———-14————-

दशैँको खसीसँगै काट्न सक्तिन जिन्दगी
मतदाता र नेता, ढाँट्न सक्तिन जिन्दगी
हो रंग मनपर्छ, जे छ त्यो तिम्रो मनपर्छ
तिमी र इन्द्रेणी, साट्न सक्तिन जिन्दगी ।

———-15————-

उषाको के कुरा गर्छौ प्रकाशलाई नसहनेहरू
उड्ने के कुरा गर्छौ आकाशलाई नसहनेहरू
मन यो दोमन छ तिमीलाई पछ्याउँ कसरी
फूलको के कुरा गर्छौ सुवासलाई नसहनेहरू

———-16————-

कृष्ण हुँ म भीमसेन, तिमी भिड्न सिकाउँछौ
बुद्धको अनुयायी हुँ, मान्छे गिँड्न सिकाउँछौ
फिस्स हाँस्न मन लाग्छ तिमीलाई जहाँ देख्छु
जसले खुट्टा दियो उसलाई हिँड्न सिकाउँछौ ।

———-17————-

मेरै शब्दमा मैले देश खुलेको देखिनँ
लेखेर अहंशून्य केश फुलेको देखिनँ
देख्छु म त खालि शब्दहरूको उपहास
खोपेर शब्दहरू मन्दिर चुलेको देखिनँ ।

———-18————-

आकार उस्तै, खुकुरी र कर्दको धार फरक छ
लडार्इँ उही, अभिमन्यू र भीष्मको हार फरक छ
उस्तै देखिन्छ जून र तारा, उस्तै आँशु र शीत
घाँसै होला रंग उस्तै, फेरि दूबो र झार फरक छ ।

———-19————-

दुई-दुई, तीन-एक, चार-शून्य चार फरक छ
अमूर्त माया, मूर्त मुटु फेरि भार फरक छ
हेर्दा उस्तै लाग्छ जोडजम्मा र बाँच्ने जिन्दगी
सबै मर्छन् को मर्दैन, मृत्युको सार फरक छ ।

———-20————-

खान्नभन्दा अधर, जूठो खुवाएर छाड्यौ
म कहिल्यै नरुने मान्छे, रुवाएर छाड्यौ
हामी दुई थियौँ र अमृतको घडा साथमा
ब्युँझदा यौटा मीठो स्वप्न तुहाएर छाड्यौ ।

———-21————-

ऊ गाउँदै थिई गाउन थालेँ ऊ मौन बसी
ऊ बाहिर थिई बाहिर आएँ ऊ भित्र पसी
भनेको थियो शम्भुले त ऊ नागिन हो
ऊ सुती म नि सुतेँ त्यही मौकामा डसी ।

———-22————-

जति हेर्‍यो तिमीलाई उति हेर्ने भोक लाग्छ
मेरो मुटु गल्लीजस्तो तिम्रो माया चोक लाग्छ
टिपेर तिम्रा मुस्कानहरू, उनुँ भन्छु यौटा माला
संकीर्ण यो समाजको, तोडौँजस्तो रोक लाग्छ ।

———-23————-

आएँ सन्ध्याकालमा अँध्यारो जस्तो लागेँ
पित्तलसँग रंग मिल्यो अनि म सस्तो लागेँ
जोसँग कसी छैन नम्बरी सुन जाँच्ने, तब
उसलाई सोध्नु व्यर्थ देख्छु म कस्तो लागेँ ?

———-24————-

आफ्नै रोशनी छैन, तर फेरि चाह जूनकै
घरमै छ जून एउटा, तर फेरि शाह उनकै
अर्कैकी जून फेरि माया जान्छ उतै मात्र
गुण दोष सबै कुरा, पाएको छु थाह उनकै ।

———-25————-

कहीँ कतै तिमीसँग, भेटिए जस्तो लाग्छ
रगतले लेखेको नाउँ, मेटिए जस्तो लाग्छ
पालेका थियैाँ जुन ढुकुरको एउटा बचेरो
तिम्रै हातबाट एकदिन, रेटिए जस्तो लाग्छ ।

———-26————-

जो राम्रो त्यो हाम्रो
जो हाम्रो त्यो राम्रो
आफूमात्र देख्ने त्यो
न राम्रो न हाम्रो ।

———-27————-

तिम्रो सहभावले मेरो अभाव बदलियो
तिम्रो गहभावले मेरो स्वभाव बदलियो
ढुंगा र माटोसँग पनि अनुगृहित छु म
र त, तिम्रो प्रभावले मेरो भाव बदलियो ।

———-28————-

न आफन्त न पराई ऊ
आई अनि फेरि हराई ऊ
तिम्रो मुटु छ, सोधेको थेँ
बेस्सरी मसँग डराई ऊ ।

———-29————-

आफ्नो अहम्ले आफैँलाई निल्ने भो जरुर
एक्लो परेँ, निरस आनन्द मिल्ने भो जरुर
गुमाउँदै गएँ आफन्त र शुभेच्छुक जति
मर्नुअघि पश्चात्तापले चिल्ने भो जरुर ।

———-30————-

दूध नभए नि हुन्छ, भात नभए नि हुन्छ
सम्पत्ति झुसी वा खात नभए नि हुन्छ
दुई बोतल त्यो र तिमी हुनुपर्छ साथमा
मात्र मात हुनुपर्छ, रात नभए नि हुन्छ ।

———-31————-

सूर्योदय हुनुअघि सुन्दर क्षितिज डढ्नुपर्छ
यी आँखामा खोज्छौभने यो मुटुमा गढ्नुपर्छ
सम्यक् हुनुपर्दोरहेछ प्राप्ति र उचाइ पनि
नजिक हुन ओर्लिनु र टाढा हुन चढ्नुपर्छ ।

———-32————-

सुन्दा दुःख लाग्छ तिम्रो नाम दुनियाँको गालीमा
न सुवास छ न सौन्दर्य बिकाऊ रंगीन लालीमा
ठान्दिनौ के एउटा कीर्ति राखौँ, सम्झिऊन् अरूले
कि उठोस् एउटा सालिक कि गुञ्जिउँ तालीमा ।

———-33————-

तिमी दानी कहाँ थियौ, म उदार कहाँ थिएँ
तिमी भूषण कहाँ थियौ, म जुहार कहाँ थिएँ
नठान आफू मात्र असर्फी अरू खोटो मोहर
तिमी अक्षत कहाँ थियौ, म कुमार कहाँ थिएँ ?

———-35————-

तिमी मूर्ति कहाँ थियौ, म ढुंगा कहाँ थिएँ
तिमी माछा कहाँ थियौ, म खुँगा कहाँ थिएँ
बीचमा कुनै नदी नै थिएन पारि जानुपर्ने
तिमी बहना कहाँ थियौ, म डुंगा कहाँ थिएँ ?

———-36————-

नग्नतामा सारा शहर डुब्यो
अमृतमा स्वयं जहर डुब्यो
उत्रेन यो मन पनि त फेरि
उद्दाम मायाको नहरमा डुब्यो ।

———-37————-

तिमीउपर
हामीउपर
बज्रनेछ त्यो
सबैउपर ।

———-38————-

जस्तो तिमी व्राह्मण, म शूद्र थिएँ
तिमी महानतम जस्तो, म क्षुद्र थिएँ
सम्झन्छौ त्यसदिनको कम्प भूकम्प
तिमी परिश्रान्त, म कति उग्र थिएँ ।

———-39————-

लेख्नु गाह्रो छैन, छोएर लेख्नु पो लेख्नु
शब्द सहस्र छन्, धोएर लेख्नु पो लेख्नु
भोक र भोजन साट्दै, शोक र शक्ति साट्दै
झरेका आँशुहरूसँग रोएर लेख्नु पो लेख्नु ।

———-40————-

तिमीलाई छाडेर अन्त कहाँ जाऊँ
मन हुन्छ – जहाँ तिमी, तहाँ जाऊँ
विछोडिनु पनि उस्तै मीठो शीला
याद तिम्रै हुन्छ धरतीमा जहाँ जाऊँ ।

———-41————-

कोही दिन छाडी, रोजी र समाइ थियो महोदय
राजाको एउटा गुरु विशे दमाई थियो महोदय
हुरीबतास आउँदा यसरी, किन हतास तिमी
त्यो मान, यो अपमान सब कमाइ थियो महोदय ।

———-42————-

छाड्नुअघि केही, त्यसलाई पक्रेको हुनुपर्छ
घाम तब न्यानो, शरीर चिसोले कक्रेको हुनुपर्छ
माली पो बिर्सियौ, भमराहरूको के दुःख ए फूलहरू
फगत् तिम्रो यौवन भित्रैदेखि फक्रेको हुनुपर्छ ।

———-43————-

सब नाटक, तिम्रो परिहास बिझायो
सब त्रासद्, तिम्रो उच्छवास् बिझायो
के थाहा, तिमी धूर्त शिकारी थियौ
मर्दामर्दै मलाई, तिम्रो अट्टहास बिझायो ।

———-44————-

नरोक, चैतन्यको आभालाई नरोक
नरोक, मभित्रको प्रभालाई नरोक
सहज फुट्न देऊ, मायाको ज्वालामुखी
नरोक, हृदयको लाभालाई नरोक ।

———-45————-

गर्छु माया भनेपनि तिम्रो आँखा रित्तो देखेँ
म छु डिलमा, तिमीलाई बलियो भित्तो देखेँ
तिमी नै भन, तिम्रो प्रेम कति निस्वार्थ थियो
तिम्रो लागि हात दिएँ, मलाईभने बित्तो देखेँ ।

———-46————-

साटुँ मनसँग मन साटुँ
साटुँ वर्गसँग घन साटुँ
माया साट्दाखेरि माया
साटुँ झनसँग झन् साटुँ ।

———-47————-

मागेँ तिमीसँग अलिकति हात मागेँ
मागेँ तिमीसँग अलिकति रात मागेँ
म त बिहानैदेखि मातेको थिएँ उषा
मागेँ तिमीसँग अलिकति मात मागेँ ।

———-48————-

जित कहिले हार कहिले, अनायासै प्रहार कहिले
शीत कहिले, गीत कहिले, नजरमा जुहार कहिले
मान पनि, खुशीमन पिउँछु अपमानको शीत पनि
त्यही प्रिय अति, त्यही घृणाच्छन्न मुहार कहिले ।

———-49————-

तिम्रो गाली पनि कति महकिलो शोभा
रिसाएका आँखा झन् चहकिलो शोभा
पर्ख एकैछिन्, मलाई त सुन रुनुअघि
हल्का मेरो दोष, ठान्यौ गहकिलो शोभा

———-50————-

तिमीलाई दुखाएर मलाई शीतल कहाँ हुन्थ्यो
आकाश नै नभइदिए यस्तो भूतल कहाँ हुन्थ्यो
अनुहारको रंगले मात्र हुँदैन मायाको परख, नत्र
पहेँलै धातु सुन कुनै, कुनै पित्तल कहाँ हुन्थ्यो ।

———-51————-

मन कति गहिरो हुन्छ पसेपछि थाहा हुन्छ
याद किन पहिरो हुन्छ खसेपछि थाहा हुन्छ
नसोध मेरो सपनीमा को आउँछ हररात
तिमी आई यो मुटुमा बसेपछि थाहा हुन्छ ।

———-52————-

सुख दुःख एउटा हैन कहिलेकाहीँ खात पर्छ
भोग्नुपर्छ जिन्दगीलाई, फूल कहिले पात पर्छ
तापिरहुँ तापिरहुँ, मैमात्र तिम्रो मुटु तापिरहुँ
ताप्दाताप्दै तिम्रो माया, बास पुग्ने रात पर्छ ।

———-53————-

संघीयता मान्छु, मान्दिन एकतामा चिरा परोस्
सबैका तिहुनमा भात, भुटुन, नून र जिरा परोस्
पहिरन विदेशी, कहिरन विदेशी – फेरि देशभक्त उनै
सके रामले नत्याग्ने सीता नत्र छोरी मीरा परोस् ।

———-54————-

रामबाबु, बाटो चैाडा पार्‍यौ – सलाम भन्छु
सिमाना मिचिँदा पटकपटक, गोली चलाम भन्छु
सत्ताको फुटबलमा हामी धेरै छलियौँ नेताबाट
अब तिनैलाई एकफेर हामी पनि छलाम भन्छु ।

———-55————-

बग्यो तिम्रो आँशु, बाँध लाउँदैछु
मैलाई दुःख पर्नेगरी साँध लाउँदैछु
जसले श्रद्धा गर्‍यो मेरो हिमाललाई
ऊ चढेको डोलीमा काँध लाउँदैछु ।

———-56————-

सप्रिएका किन होलान् बेमानीका फसलहरू
जताततै चलेका छन् यौवनका पसलहरू
उतार्नु भन्यौ यो समाजको चित्र, के उतारूँ
खराबहरू मझधारमा किनारामा असलहरू ।

———-57————-

भीरबाट लड्ने मायालुलाई, म किन काँध हालुँ
जसको हृदय नै छैन उसलाई, किन छाँद हालुँ
तिम्रो मायाको नदी जब अरूकै लागि बग्छभने
कतिञ्जेल बग्छ बगोस्, म किन बाँध हालुँ ?

———-58————-

मक्किसकेको हाम्रो सम्बन्ध अब फाट्न बाँकी छ
तिमीले सारा स्मृति, सारा विगत साट्न बाँकी छ
फेरि पनि मायाको नाममा किन थप्छ्यौ शहीदहरू
ढाँट्नुको के हिसाब, तिमीले अब काट्न बाँकी छ ।

———-59————-

चाहिन्न त्यस्तो जीवन यदि कर्तव्य र काम छैन
चाहिन्न त्यस्तो गगन जहाँ जून र घाम छैन
भने हुन्छ बरू मलाई ईश्वरवादी कवि, ठीकै छ
चाहिन्न त्यस्तो मन जहाँ मोक्षदायी राम छैन ।

———-60————-

सबैलाई टीका, सबैलाई आशीष, नहोस् शोक कुनै
सबैलाई भोजन, सबैलाई तृप्ति, नहोस् भोक कुनै
ए दशैँमा मरी जानेहरू, अरू के शुभकामना दिऊँ
सबैलाई शान्ति, सबैलाई स्वर्ग, नहोस् रोक कुनै ।

———-61————-

तिम्रो माया अब मलाई, भारी हुन थाल्यो ठुली
श्रीमान्भन्दा पनि ठूलो, सारी हुन थाल्यो ठुली
भात पकाउँदै लुगा धुनू, बैठकबाट आउँदाखेरि म
शनैः शनैः हुकुम यस्तै जारी हुन थाल्यो ठुली ।

———-62————-

स्वागत हुन्छ, बिदाइ हुन्छ, मान्छेपिच्छे फरक हुन्छ
थाहा छैन, मृत्युपछि स्वर्ग कि त नरक हुन्छ
खनेर मात्रै जानुपर्छ सबैले, जिन्दगीमा एउटा बाटो
जय गान गरी तिम्रो, हिंड्ने कोही चरक हुन्छ ।

———-63————-

सिकाउँछौ अरूलाई वैराग, आफू राग माग्छौ
वर्षाउँछौ अरूलाई गाली, आफू फाग माग्छौ
अरूलाई पढ्न पसिना काढ्ने ए लेखकहरू
तिमीलाई पढ्न मेरो समयको बाग माग्छौ ।

———-64————-

नुहिन्थ्यो फलेको वृक्ष तिमी ठाडै किन
यति निकट छु तिम्रो फेरि जाडै किन
खुलै हुन्छ मेरो घर, अझ यो दिल पनि
पर्खन्छयौ व्यर्थै निमन्त्रणा र चाडै किन ?

———-65————-

गान चाहिन्छ र गह पनि, स्वजनको नि नाक राख्नु
मान चाहिन्छ र तह पनि, पूर्वजको नि धाक राख्नु
बल, बुद्धि र ऐश्वर्य आउँछ एक दिन, थाहै होला
दान चाहिन्छ र सह पनि, बेलुकीको नि छाक राख्नु ।

———-66————-

शब्दमा शुभकामना, मनमा इर्ष्या पूरा बोक्छौ
ओठमा मुस्कान हुन्छ, हातमा छुरा बोक्छौ
तिमीभन्दा ढोंगी अरू को हुन्छ यस दुनियाँमा
पुच्छौ कसैको सिन्दुर, फेरि किन चुरा बोक्छौ ?

———-67————-

हिमालको काख रे, यहाँ खेतमुख सुक्छ किन
संसारको शिर रे, मागी धेरैसँग झुक्छ किन
युगौँ तपोधिस्थ त्यो ऋषिजस्तो मेरो राजनेता
देखिकन लक्ष्मी किन्नरी निर्लज्ज चुक्छ किन ?

———-68————-

हिँड नहिँड, बाटो उस्तै छ
देख नदेख, माया उस्तै छ
पढ नपढ, त्यो तिम्रो कुरा
स्वाद मुक्तकको उस्तै छ

———-69————-

रोपेर जान्छु, फल्नु नफल्नु बोटको कुरा
उठ्छु चुनावमा, विजय पराजय भोटको कुरा
देखेपनि समर्पण वा सुवास वा सौन्दर्य मेरो
किन गर्छ्यौ ए प्रिय तिमी खालि खोटको कुरा ?

———-70————-

तीन न तेह्रको तिमी रिसाएर केही हुँदैन
जति पानी मिसाए नि दूधमा, केही हुँदैन
जबसम्म म ठीक हुन्छु र सत्य बोल्छु नि
एकतर्फी सम्बन्ध चिसाएर केही हुँदैन ।

———-71————-

भोकै होस् घोडा, कसैको बारीमा चराउँदिन म
प्रेम र प्रणयमा हस्तक्षेप, मन पराउँदिन म
नभरिउञ्जेल तिम्रो पापको घैँटो, सहन्छु सारा
प्रतिवाद गर्छु पहिले, परे मर्न डराउँदिन म ।

———-72————-

घर घरमा दीप जल्ने बेला भो
बेहोश, निदाएका चल्ने बेला भो
कुल्च्यो उसैगरी जसले देशको छाती
उसको पनि अब ढल्ने बेला भो ।

———-73————-

छाडेर अधुरै सपना, जानु नपरोस्
दुखाई कसैको चित्त, खानु नपरोस्
आयौँ एक्लै, जानुछ एकदिन उसैगरी
जाँदा, पाप पुण्य केही लानु नपरोस् ।

———-74————-

फाली माग्यौ भने जोत्न, घडी बेची फलाम दिउँला
आऊ बाँझो धरती जोतौँ, फूलमाला सलाम दिउँला
बाँचे, सिन्दुर यात्रा हुनेछ एकदिन धरतीपुत्रहरूको
मरे, आई बाँच्नेहरुले श्रद्धान्जली मलाम दिउँला ।

———-75————-

अक्षर थाम्छु, शब्द थाम्छु, बिझ्ने वचन बोली थाम्छु
बन्दुक थाम्छु, बारुद थाम्छु, परे तातो गोली थाम्छु
हिजो थामेँ, आज थाम्छु, आउँछ्यौ तिमी साँच्चैभने
के भो एकरात ननिदाए, एकदिन अरू भोलि थाम्छु ।

———-76————-

कस्तो हुनुपर्छ देश, कविका ओठ हेरे हुन्छ
सुख दुःख जनताको, घर र गोठ हेरे हुन्छ
खोजे जस्तो गर्छौ को सुकुम्वासी को जमिन्दार
सरासर गई मालपोतमा, त्यो मोठ हेरे हन्छ ।

———-77————-

सबैभन्दा धेरै माया आमालाई नै गर्नू भन्छु
खोजीखोजी भोकानांगा सामर्थ्यले भर्नू भन्छु
सुनाम नभए नहोस् बरू तर दुर्नाम चाहन्न
लुकीछिपी जिउनुभन्दा हाँसीहाँसी मर्नू भन्छु ।

———-78————-

बाढीले निलेपछिको बस्ती, भो नदेउ मलाई
डकैतीले चिलेपछिको गस्ती, भो नदेउ मलाई
पुलिसको खाम बढ्रने, अदालतको काम बढ्ने
सयौँले खिलेपछिको मस्ती, भो नदेउ मलाई ।

———-79————-

रोजीरोटी कसैको नि हर्नु हुन्न सुनेको छु
मानमर्दन कसैको नि गर्नु हुन्न सुनेको छु
था’छ पसिकन आँखाबाट बस्नुपर्छ दिलभित्र
कसैको नि आँखाबाट झर्नु हुन्न सुनेको छु ।

———-80————-

ढुंगा बौलायो, माटो बौलायो, यहाँ पानी बौलायो
ढक बौलायो, पाथी बौलायो, कुरूवा र मानी बौलायो
साँझ बिहान एक्लै नहिँड ए पारदर्शी सुन्दरीहरू, मेरो
ओठ बौलायो, आँखा बौलायो, अझ नानी बौलायो ।

———-81————-

लेख्दा के हुन्थ्यो दुई हरफ, मरे बाँचे थाहा हुन्थ्यो
पोल्थ्यो तिम्लाई आगोले, मेरो दिलमा डाहा हुन्थ्यो
पिएर, नीलडाम कुट्थ्यो तिम्रो पुरूषले रोज तिमीलाई
गई समीप सुम्सुम्याउँ, म अभागीको चाहा हुन्थ्यो ।

———-82————-

सबै रिन तिर्छु माया तिम्रै रिन तिर्दिन म
के दिइस् मलाई ? भनिकन यो देशलाई पिर्दिन म
सग्लो आकाश मनपर्छ, धरती पनि सग्लै मलाई
चिराचिरा मेरी आमा, यो देशलाई चिर्दिन म ।

———-83————-

येन, डलर, सेकल, रियाल नेपालमा घरै बन्छ
पहिचान भन्नु यो देशमा घुमिफिरी थरै बन्छ
जति कुरा गरे पनि आदर्श र वलिदानको
मर्ने तिम्रो पालो आउँदा मुटुभित्र डरै बन्छ ।

———-84————-

थोरैलाई मात्र चौका, धेरैलाई त छक्का यहाँ
पहाडै ढाल्छ जनता, दिई लाखौँ धक्का यहाँ
काम गर्ने दीनदुःखी, बसिखाने चिल्लापिरा
हेर्नू, हिसाब किताब गलत छ पक्का यहाँ ।

———-85————-

कसैलाई तिम्ले ठग्यौ, तिमीलाई ठग्ने कोही होला
मत्स्यावतार, पोखरीमा झुक्याई आउने गोही होला
ढुक्क भई लिनु तिमी नम्बरी खेत यो, मेरो मुटु
कि त बन्धकी, कि भने तिम्रो मुटुको मोही होला ।

———-86————-

तिमीले मात्र जित्ने त्यो, झेली खाल भत्काइदिन्छु
नभेटी आफैँलाई मैले, आओस् काल भत्काइदिन्छु
लुटिने लुटिएकै, कुटिने कुटिएकै चूपचाप यो समय
अति भो, मीठा कुरा गर्नेहरूका जाल भत्काइदिन्छु ।

———-87————-

पण्डित हुनलाई पुराण पढ्नुपर्दछ, जान्दछु
मौलाना हुनलाई कुरान पढ्नुपर्दछ, जान्दछु
नदेखाऊ मलाई समालोचना र सिद्धान्त तिम्रो
कवि हुन हृदय र साधना चाहिन्छ, जान्दछु ।

———-88————-

जित्न तिमीलाई दाउ दिएँ, क्यै थिइनौ – ठूलै भाउ दिएँ
मझधारमा डुब्यो तिम्रो डुंगा, आफैँ चढेको नाउ दिएँ
पाइला पाइलामा कैयन् काँडा थिए, असरल्ल बाटोमा
नबिझोस् तिमीलाई टेक्दा, बिझ्नलाई मेरा पाउ दिएँ ।

———-89————-

भनेपनि मुखले सबै आफ्ना, सबैको जय होस्
अरूलाई पचास कामले, आफन्तलाई सय होस्
नमान ऐन कानुन भैगो, नमान भगवान पनि
कम्तीमा पनि तिमीलाई, आर्यघाटको भय होस् ।

———-90————-

जिन्दगीलाई तिम्रै काखमा बिसाउन पाए हुन्थ्यो
मेरोसँगै – थोरै तिम्रो आँशु – मिसाउन पाए हुन्थ्यो
माया गरी असाध्य भित्र हृदयमा, प्रिय तिमीलाई
फकाउँदै माया लुट्न फेरि, रिसाउन पाए हुन्थ्यो ।

———-91————-

कसैलाइ पैसा, कसैलाई पद ठूलो होला
मयूर, कसैलाई मूसाको कद ठूलो होला
सन्तहरूका मतमा तुलनामै दुःख छ धेरै
मान्छेका त्यागले मुस्काउनेको हद ठूलो होला ।

———-92————-

आफ्नै दाह्री जुंगा बेचुँ बजारसँग रिस उठ्छ
समुद्रको छालजस्तो छोराछोरीको फीस उठ्छ
थिच्छु बेस्सरी भित्तेपात्रोका पाना, महिना नमरोस्
लाचार डेरामा, कति छिटो भाडा तिर्ने तीस उठ्छ ।

———-93————-

जे जे जोडे पुर्खाहरूले त्यहीँ आज चिरा पर्‍यो
पिउँभन्दा लोकतन्त्र घिनलाग्दा किरा पर्‍यो
भोट हाली लाको माया तोडुँ भन्छु जुनैबेला
सीमापारि बस्नेहरूको मुटु जोड्ने शिरा पर्‍यो ।

———-94————-

फूल फुल्नलाई बोटमा पात हुनुपर्छ
उज्यालो हुनुअघि अँध्यारो रात हुनुपर्छ
शोषण नहोस् समाजमा सबथोक मिल्छ
केवल मानिससँग परिश्रमी हात हुनुपर्छ ।

———-95————-

इन्द्रिय र मन, मनले जित्यो
न्याय निसाफ, धनले जित्यो
परदेशमा को जाति, को जनजाति
सबै प्रिय, नेपाली पनले जित्यो ।

———-96————-

रोगी बृद्ध छे ढोई भने उसलाई मत्ता बेकार छ
चरित्र नांगो छ जसको, उनलाई लत्ता बेकार छ
झण्डामात्रै हल्लिएर के हुन्छ चिल्ला गाडीमा, सुन
जसलाई दुख्दैन देश त्यसलाई सत्ता बेकार छ ।

———-97————-

मन्त्रीज्यू, मात्रै एकदिन गाउँघरमा हिंडी हेर्नुस्
जल्लादज्यू, एकफेर आफ्नै गर्दन गिंडी हेर्नुस्
तपाइँलाई त जेलमा पनि कदर गर्छ सरकारले
वेपत्ता मानिसहरूका सुनसान ती छिंडी हेर्नुस् ।

———-98————-

दौरै ठीक छ, अहंकारको कोट लाउँदिन म त
दुख्छन् ईश्वर, खुकुरीलाई नि चोट लाउँदिन म त
कर्मकै फल त फल्छ नि, जीवनको बारीमा
बुझ पचाई, भाग्यलाई मात्र खोट लाउँदिन म त ।

———-99————-

वायाँ छ, र त दायाँ छ
घाम छ, र त छाया छ
मेरो पनि तिम्रै जस्तो
मुटु छ, र त माया छ ।

———-100————-

हामी सधैँ तलै रह्यौँ जब तिमी माथि थियौ
तिमी किन मुरी भयौ जहाँ हामी पाथी थियौँ
अहिले पो हाम्रो श्वास गन्हाउँछ तिमीलाई, दरबारमा
हिजै लाग्छ, तिमी हामी बराबरी साथी थियौँ ।

———-101————-

टीका सम्झी तिम्रो माया निधारमै लाउँ जस्तो
मुछिकन भातसँग दिनै दिनै खाउँ जस्तो
चुम्बक जस्तो लाग्यो तिम्रो, छातीभित्र केही कुरा
बाँचे साससँग मरे लाशसँग, सँगैसँगै आउँ जस्तो ।

———-102————-

गुराँस मात्र हैन बगैँचामा गुलाब, बेली र जाई चाहिन्छ
अंश थोरै होओस् बरू मलाई भरलाग्दो भाइ चाहिन्छ
बाहुनछेत्रीको श्यामश्वेत वाटिकामा फुल्नुपर्छ अरूले नि
मलाई त छिमेकमा अरू, मगर, गुरूंग र राई चाहिन्छ ।

———-103————-

माया गर्छु नि तिमीलाई मुखले पो भन्दिन त
मन पर्छन् नि ताराहरू संख्या पो गन्दिन त
गोपिनीहरूका हाउभाउ, कटाक्ष सबै मनपर्छ बेहिसाब
तर के भने, यो महंगीमा कृष्ण पो बन्दिन त ।

———-104————-

इतिहासलाई चुस्नेहरू गरिबीलाई चुसी हेर
मुस्कान कस्तो हुन्छ, हाम्रा आँशु पुछी हेर
स्वतन्त्रताको मूल्य सोध्यौ, जाउ आजै
स्कूल छुट्दा नानीहरूको नयनका खुशी हेर ।

———-105————-

त्यस्तो के सम्बन्ध, बिदाइमा आँशु नझरोस्
के काम कुनै सूर्यको, धरतीमा ज्योति नछरोस्
मेरो देखी न त्यो कवि हो, न कलाकार कुनै
नलेखोस् कविता भोकाको, नांगामा रंग नभरोस् ।

———-106————-

‘दिदी’ छैन बुझी जेठो सम्बोधनमा ‘दाजु’ छैन
‘अहो’ छैन ‘धन्य’ छैन कर्तव्यमा ‘राजु’ छैन
मुखमा तेज होला होस्, ओठमा रङ् होला होस्
के काम ती बाघहरू जसको विनयी बाजु छैन ।

———-107————-

आश्चर्य के भयो र समुद्रमै पानी पर्‍यो
मलाई हिमाल तिमीलाई, सुन र तेलको खानी पर्‍यो
वचनको पक्का थिएँ तिम्रो संगत गर्नुअघि
सुन्दासुन्दा तिम्रो भाषण झूठो बोल्ने बानी पर्‍यो ।

———-108————-

महल छैन गाडी छैन, खुशी नै छन् उनै फेरि
गलैँचा कहाँ राडी छैन, खुशी नै छन् उनै फेरि
कहाँ हात्ती कहाँ गैँडा च्याँग्रै पनि ठूलो जसलाई
भैँसी त के पाडी छैन, खुशी नै छन् उनै फेरि ।

———-109————-

हाकिमले आज घुरेर हेरयो
आउँछ कि खाम कुरेर हेरयो
देख्यो जेलभित्र थुप्रै बाघहरू
नगद र स्वर्ण पुरेर हेरयो ।

———-110————-

लाग्छ जब फूल होउँ, सुवास थोरै छर्नैपर्छ
बढ्नुछ अघिभने, टेकेको पाइला सर्नैपर्छ
सके बाँच्छु बाँड्दै उज्यालो, यदि मर्नैपरे
मरूँ साराको लागि जब एकदिन मर्नैपर्छ ।

———-111————-

धान किन फलेन देशमा, पानी नभएका ती कुलोमा हेर
श्रमको सुगन्ध कस्तो हुन्छ, रोडा कुट्नेहरूका चूलोमा हेर
पूजारी हुँ म पनि सौन्दर्यको, तर सक्कली कस्तो हुन्छ
प्रसन्न मन इँटा बोक्ने युवतिका ओठको धूलोमा हेर ।

———-112————-

कृष्ण उतैका राम उतैका, प्रभुका पाउ मोल्न पाउँ
बाहिर एकथोक भित्र सबथोक, मैमात्र बोल्न पाउँ
लाज पचाएँ, घिन पचाएँ, मातृभूमिको ऋण पचाएँ
शेष एउटै लंगौटी यो, शहीद मञ्चमा खोल्न पाउँ ।

———-113————-

आऊ हामी आफ्नै आँशुहरूको भोज गरौँ
धेरै धेरै आँशु अट्ने भाँडाहरूको खोज गरौँ
हामी त यसै भोग योनिका त्यसै भोग योनिका
बेचौँ परदेशमा बैँस, होटलहरूमा मोज गरौँ ।

———-114————-

बिदाइ यस्तो होस् कि परे फर्किने बाटो रहोस्
तिमीलाइ प्रिय, न चोट न दुःखाइ न खाटो रहोस्
जहाँ पुगे पनि दुनियाँमा खोजी गर्दै भविष्यको
फर्की आउँदा तिम्रो लागि अलिकति माटो रहोस् ।

———-116————-

गन्तब्य आफ्नो होला, तर सबका लागि बाटो रहोस्
चिनैाँ तिनलाई जो चाहन्छ, नेपालीबीच फाटो रहोस्
राजतन्त्र, लोकतन्त्र वा गणतन्त्र जे नाम देउ, मान्छु
तर मान्दिन, मेरो स्निग्ध हिमालमा कुनै टाटो रहोस् ।

———-117————-

पाइन्ट चल्यो खूबै, सुन्छु तर सारी ठूलो
बेँसीमा खेत होला, लेकहरूमा बारी ठूलो
जहाँ चेलीलाई बेच्छन् द्रब्यपिचाशहरू
किन नहोस् तिनलाई, गधाभन्दा भारी ठूलो ।

———-118————-

न फल न फूल, त्यस्तो वन नहोस् बरू
न ध्यान न धारणा, त्यस्तो मन नहोस् बरू
कहाँ साँचिन्छ समय र खुशी, मर्ने चोलामा
न दान न भोग, त्यस्तो धन नहोस् बरू ।

———-119————-

यति रोएँ देशको लागि आँखा अब रूनै छाड्यो
वर्षिएर इतिहासले वर्तमानलाई धुनै छाड्यो
अनेकानेक सपूतले अनुप्राणित मेरो धरती
अरू सपूत जन्माउन गर्भवती हुनै छाड्यो ।

———-120————-

म त फूलमा फूल देख्छु, तिमी किन काँडा देख्छौ
म विधवा र विधुर देख्छु, तिमी राँडी र राँडा देख्छौ
त्यसै भनेको छैन – आफू भलो त जगत भलो, पुर्खाले
मेरो के दोष साथी, जब तिमी मैदानमा डाँडा देख्छौ ?

———-121————-

शहर पसेपछि उतैउतै, हराउनु भो रे सुनेँ
गाडीमा निशानी देशको, फराउनु भो रे सुनेँ
बिर्सीकन गाउँकी सीता हेरिराकी बाटोतिर
सुपर्णखाबाट आफूलाई मराउनु भो रे सुनेँ ।

———-122————-

भरिएको छु, केही लिएजस्तो पनि लाग्दैन
पाएजस्तो गर्यौ दिएजस्तो पनि लाग्दैन
तिमी पनि लोलाएजस्ती देखेँ, म पनि
मातिएजस्तो दुबै, पिएजस्तो पनि लाग्दैन ।

———-123————-

घाम उषाको, जून सधैँ निशाको हुन्छ
टल्केर के, फुट्ने नियति सिसाको हुन्छ
म त चाहन्छु त्यो जून पनि पूर्णिमाको
तर सन्ध्या, यो सब खटन ईशाको हुन्छ ।

———-124————-

अँध्यारो जहाँ, उज्यालोको घर्षण गराऊ बरु
असत्य नचिनाऊ, सत्यको दर्शन गराऊ बरु
देखिन्छ यो संसार जस्ताको तस्तै, आग्रहमुक्त
आँखालाई तटस्थ, मनलाई दर्पण गराऊ बरु ।

———-125————-

लालीगुराँसका अघिल्तिर सबै जात उदास
न त दान, न भोग, सम्पत्तिको खात उदास
फैलिएकै हुन्छ सुगन्ध, जलेकै हुन्छ दीप
दिन निरस, तिमीलाई नभेटेको रात उदास ।

———-126————-

शहरमा धेरै नांगाहरू देख्छु आजभोलि
सोझा थिए जो, बांगा देख्छु आजभोलि
जति महंगा मुकुण्डाहरू लगाए पनि
तिनका कर्तुत उदांग देख्छु आजभोलि ।

———-127————-

सुपारीको रुखमा पनि हाँगा देख्छु आजभोलि
सडकमा साँढे र बालीमा राँगा देख्छु आजभोलि
जूनमा पुग्यौँ हामी उहिल्यै, तर के मिलेन दुर्गा
मान्छेहरूले तानिरहेका टाँगा देख्छु आजभोलि ।

———-128————-

धेरै त भन्दिन, कोही त रुनेछन् म ढलेको दिन
कुनै दुःख लाग्दैन सम्झेर, चिता जलेको दिन
सार्थक लाग्छ मलाई मेरो त्यही जिन्दगी मित्र
लोक अन्धकारमा हुँदा म एक्लै बलेको दिन ।

———-129————-

मेरो शील, मेरा लाज, मेरो धोती उनै हुन्
मेरो सुन, मेरो हिरा, मेरो मोती उनै हुन्
तिमी वाहियात नाता सोध्छौ हामी दुईको
मेरो साथी, मेरो आँखा, मेरो ज्योति उनै हुन् ।

———-130————-

उठाउनु पर्दैन पहाडले, हिमाल आफैँ चुलिरहन्छन्
शोषण नगरे कसैले, मान्छेका भाग्य खुलिरहन्छन्
तिमी आँखा चिम्ल अथवा लुकाएर राख इष्र्याहरु
अखण्ड यो हृदयमा भावनाका गुराँस फुलिरहन्छन् ।

———-131————-

बन्छु बरु अज्ञानी पात्र, कसैको उपहास हुन्न
कामनाहरुको मालिक हुन्छु मनको दास हुन्न
नजानी जान्दछु भन्दिन, जाने थाहा छ भन्छु
बोल्छु जे व्रम्हले भन्छ, झूठहरुको बास हुन्न ।

———-132————-

लाग्यो मेरो भूमिका र बेला सकियो अब
थियो उल्लास र मेला, त्यो सकियो अब
देखेँ न्याउरीहरू मरेका र सर्पहरू मैदानमा
सत्यसाधना गर्ने, मेरो खेला सकियो अब ।

———-133————-

नलेख्नु लंगुर, लेख्नु बुर्जा रैछ
लेखेर पाएको, यस्तो पूर्जा रैछ
थाहा छ केही हुँदैन प्रमाणपत्रले
तथापि त्यो पनि एक ऊर्जा रैछ ।

———-134————-

जसको दुबै आँखामा फूल हुन्छ, त्यो नै बुद्ध हो
एउटामा काँडा, अर्कोमा फूल हुन्छ, त्यो शुद्ध हो
जो मान्छे अरूको चेहरामा कहिल्यै सौन्दर्य देख्दैन
उसको दुबै आँखामा काँडा हुन्छ, त्यो क्रुद्ध हो ।

———-135————-

गाउँसँग निहुँ खोज्नु, शहरको गल्ती हुन्छ
अमृतसँग निहुँ खोज्नु, जहरको गल्ती हुन्छ
दूधे बाच्छाहरूको माझमा जवान देखिँदैमा
साँढेसँग निहुँ खोज्नु, बहरको गल्ती हुन्छ ।

———-136————-

मुक्तक, गजलको प्रथम दुई शेर होइन
वायुवेग हो शब्दवाणको, कुनै बेर होइन
होइन यो अनुप्रास मिलेको चौपायामात्र
भावको तीक्ष्णता हो, शब्दको खेर होइन ।

———-137————-

विक्षिप्त शिखण्डीले भीष्मलाई हान्दछु भन्यो
गरी कृष्णको अनादर, राधालाई मान्दछु भन्यो
मौन बस्यो आकाश, मुखामुख गरे जून तारा
एउटा सूक्ष्म अमिबाले चराचर जान्दछु भन्यो ।

———-138————-

वचनले छिनालेपछि खुकुरीले छिनाइरहनु पर्छ र
को मान्छे कस्तो चिनिसकेपछि चिनाइरहनु पर्छ र
कुल्चेर सारा संवेदना, झिकिसकेपछि यी नानीहरू
तिनलाई फेरि जाँतोमा राखेर पिनाइरहनु पर्छ र ?

———-139————-

जित्नेहरूले के गरे, काम हेरेर थाहा भो
कस्ता कस्ताले जिते नाम हेरेर थाहा भो
नलगाऊ धाक काठमाडौँमा बस्छु भनेर
त्यो कस्तो, जतासुकै जाम हेरेर थाहा भो ।

———-140————-

फूल श्रेष्ठ कि फल
दाना श्रेष्ठ कि नल
शम्भुले सोध्यो आज
देश श्रेष्ठ कि दल ?

(स्रोत : Rajan Silwal’s FB )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.