~तारा भट्ट ‘पल्लवी’~
हवा तिमी मन्द मन्द सुस्त सुस्त आऊ
जल्छ किन मुटु आज ज्वाला निभाई जाऊ
वर्षौंदेखि लाएकैथें धर्यताको मलहम
आज किन आलो भयो वेदनाको घाउ ?
सुस्त सुस्त हिडेकैथें गोरेटोमा एक्लै
हिँड्दा हिँड्दै आज किन थरथराए पाउ ?
जोगाएकै थिएँ मैले आँधीहरुबाट
आज किन डगमगायो जीन्दगीको नाउ ?
चाहेकोथें मैले केवल अतीतलाई भुल्न
तर, किन बिर्सें मैले आज आफ्नै नाउँ ?
शान्त तलाउमा किन ढुंगाा हान्न आयौ ?
भूल गर्ने छैन फेरि विन्ती तिमी जाऊ ।