~शेखर ‘अस्तित्व’~
आफै सोच, विष अनि दवाईमा,
के चाहिन्छ, के छ तिम्रो रोजाइमा
चुल्हो आज पनि किन चिसै देख्छु,
अब काँटीनै छैन कि सलाईमा
सत्यलाई तिमी झूठ भन्छौ भने
केही भन्नु छैन मैले सफाइमा
सूर्यलाई हत्केलाले छोप्न खोज्छौ
धमिरा लागेको होला सोचाइमा
नेपालकै सन्तति हौं हामी दुवै,
भेद किन पहाड र तराईमा
शक्ति जम्मा गरीरा’छन् पैतालाले
यात्रा लुकेको छ मेरो थकाइमा ।
बुटवल–६