~ईशहाक हुसेन~
राधाको प्रेम मिराको नयन नीर हो गजल
कौरवका माझ द्रौपदीको चीर हो गजल
आनन्ददायी पीडा, अनुभूति मीठो गहिरो,
यो सुइरोभन्दा पनि तिखो झीर हो गजल
आफ्ना गुरु द्रोणलाई एकलव्यले जस्तै
दक्षिणामा त्यो औंला दिने वीर हो गजल
ईकबाल ‘जोक’ जोश ‘गालिब’ दाग देहल्वी
जैबुन्ने साँ नसिम कतिल मीर हो गजल
‘ज्ञानु’ ‘मनु’ ‘घनु’ ‘प्रिया’ ‘अश्क’ ‘बुँद’ ‘अमर’
चिनारी नव नेपालको तस्विर हो गजल
हरियाली डाँडा पाखा प्रकृतिका सुन्दर
खोला छहरा र पहरा त्यो भीर हो गजल
संसारभर मै उच्च छ हाम्रो सगरमाथा
संसारकै यो उच्च शिखर शीर हो गजल
‘ईशहाक’ तिखार्दै छ आफ्नो कलमको बाण
शान्तिको पुष्प छर्ने यो तीर हो गजल ।
साहित्य वाटिका, डुमरवाना-८, बारा