~श्रेष्ठ प्रिया ‘पत्थर’~
अभावले चाट्यो कति, याद भएन मलाई,
जिन्दगीले ढाँट्यो कति, याद भएन मलाई ।
जीवन भोग्ने क्रममा, जिन्दगीले नै मलाई,
क्वाप्पै निल्न आँट्यो कति, याद भएन मलाई ।
कसले कति बेला मलाई, आफनो अनुकूलमा,
नाफासँग साट्यो कति, याद भएन मलाई ।
मृत्यु नामको धमिरोले, जिन्दगीको डोरी,
शनैः शनैः काट्यो कति, याद भएन मलाई ।
बिर्सिसकें थाकिएर, घाउ सिउँदा सिउँदै,
हृदय नै फाट्यो कति, याद भएन मलाई ।
सत्ती, कैलाली, हाल धनगढी