~रमेश समर्थन~
कुन्नि केको उनी अचेल मान खोज्छन
मान्छे भई मान्छेलाई खान खोज्छन
जतातिर शिकारीको धराप छ
पाठाहरु उतैतिर जान खोज्छन
आफ्नो खोटो सिक्कालाई भजाउँने
शहरभरि उनी त्यो दोकान खोज्छन
जिउँदाको मासु खाई नपुगेर
राती राती मान्छेको चिहान खोज्छन
हात पसार्ने बानी नै भो नेपालीको
जन्मदिन मनाउँन दान खोज्छन् ।
खुकूरी र संगीनले लैस भई
जङ्लमा मान्छेको कल्याण खोज्छन
बेइमानीको धारलाई लुकाउँन
बेइमान इमानको म्यान खोज्छन
मान्छेदेखि डराएँर ‘समर्थन’
सहाराको लागि भगवान खोज्छन् ।
मत्सरी, रौतहट