~राजेश्वर रेग्मी~
आफ्नो घर बालेर आफै ताप्नु हुँदैन भाइ
झुटो खबर अखबारमा छाप्नु हुँदैन भाइ
के पाएँ भनी नसोच, बरु तिमीले के दियौ ?
माटोलाई कहिल्यै पनि सराप्नु हुँदैन भाइ
कहिलेकाहीँ आइपर्छन् दुःखहरु एकनास
मनको डेरामा थुनेर राख्नु हुँदैन भाइ
खहरेले बगायो भनी चित्त दुखाउँनु व्यर्थ छ
कसैलाई कम-बेसी आँक्नु हुँदैन भाइ
सहन सक्तैनौ भने ‘मलाई पुग्यो’ भनिदिनू
एकपछि आर्को चोट खाप्नु हुँदैन भाइ ।
बिराटनगर-४, हिमाली पथ