मान्छेहरूमाझ तिमीलाई
जाऊँ त कसरी जाऊँ
हिँडेर कहिल्यै नसकिने बाटाहरू छन्
उक्लेर कहिल्यै नसकिने पहाडहरू छन्
यी दुवै हत्केलाभन्दा धेरै चाक्लो आकाश छ
कहिले बन्ला त्यो झोलुङ्गे पुल
जहाँबाट दगुरीदगुरी पुग्न सकूँ म अर्को कुनै
नौलो ब्रह्मान्ड ।
तर, जानु त छँदैछ
तिम्रा चम्किला आँखाहरूभन्दा धेरै पर
सयौँ फूल मगमगाएजस्तो तिम्राे सुगन्धभन्दा अझ पर
तिमीभन्दा पर
झन् पर पर… ।
म त यति भन्छु-
-यत्ति पनि खै किन ?
सम्हालेर राख्नू आफ्ना कलेजी सपनाहरू पट्याएर
काम लाग्छ पछि फुकाउँदै पट्याउन-पट्याउँदै फुकाउन
लुकाएर पनि राख्नू अलिकति मुस्कान
काम लाग्छ एक्लो हुँदा पीरमा ऐना हेरेर मुस्कुराउन ।
तिमी कहिल्यै रोएकी त छैनौ
तैपनि जतन गरेर राख्नु अलिकति आँसु
कहिल्यै त रुनलाई पनि हँुदैन आँसु ।
तिमी जति सुन्दर देख्छ्यौ संसार
त्यति सुन्दर छैन
त्यति नै कुरूप पनि छ
तिमी जति आत्मीय देख्छ्यौ मान्छे
त्यति आत्मीय छैन
त्यति नै क्रूर पनि छ ।
मान्छेदेखि भागेर मान्छेसम्मै पुग्नु छ
मान्छेसम्म पुगेर मान्छेदेखि भाग्नु छ
कसरी छोडूँ म तिमीलाई
मान्छेहरूमाझ … ?
मान्छेहरूमाझ … ?
कसरी ?
मान्छेको फेला पर्यो भने मान्छेहरूले
सजिलै जलाइदिने छन् पट्याएको तिम्रो सपना
चिथोरिदिने छन् तिम्रो मुस्कान
सिनित्तै पिइदिने छन् तिम्रा आँसु ।
जानु त छँदैछ
तर, कसरी छोडेर जाऊँ
यी मान्छेहरूमाझ तिमीलाई ?
(स्रोत : नेपाल साप्ताहिक )