कथा : गोठालो जाँदा

~ऋषिराम पराजुली~

‘ओइ, राजे आज बाख्रा कता लैजाने ?’ रामेले घर पछाडिको गह्रोको डिलबाट चिच्याउँदै सोध्यो, करिब २० कान्लामाथि रहेको घरको आँगनको डिलमा चुठ्दै गरेको राजेले मुख खोकल्दै पानी पिच्च तल्लो गह्रामा थुक्दै भन्यो, ‘तल गैह्री खेततिर लैजाम न आज अनि नन्देलाई पनि भन्न है’ रामेले तलबाट जवाफ फर्कायो र हिजो राखेको लौरो र डण्डि खोज्न लाग्यो ।

प्राकृतिक सुन्दरताको खानी भए पनि, विकासमा पछि परेको विकट पहाडी गाउँका केटाहरुको संवाद हो यो । मंसिरको महिना, भर्खर स्कुलको अन्तिम परीक्षा सकेर बसेका यी ठिटाहरुको अहिलेको दैनिकी दिउँसो घरमा रहेका चौपायाको गोठालो हुनु हो ।

स्कुल बिदा नभएको भए यिनिहरु बिहान ८ बजे त झोला बोकेर स्कुल दौडिन्थे, करिब १ घन्टाको ठाडो उकालो अनि करिब १ घन्टाको तेर्सो बाटो, ५ कक्षा पढ्ने यिनलाई आठै बजे निस्कन परे पनि ९–१० कक्षामा पढ्ने चाहिं ९ बजे निस्किए पनि पुग्थे किनकि उनीहरु स्कुलमा बिहानको प्रार्थना छुटाउन डराउँदैनथे अनि छिटो पनि हिँड्थे ।

उता नन्दे भर्खर खाना खाँदै थियो, राजेले उसलाई घरमै गएर भन्यो ‘नन्दे, आज बाख्रा तल खेततिर लैजानी है, रामेले फुकाइसक्यो, भित्रबाट नन्देको आमा बोलीन ‘आज नन्दे गोठालो जाँदैन, मामाघर जान्छ अब ।’ राजेले ‘ए लौ त्यसो भए म गएँ’ भन्दै बाटो ततायो र उफ्रिंदै बाख्राको टाँडतिर गयो, उसका आफ्ना गोठालो जाँदा लैजाने सबै सरजाम ठिक पा¥यो र बाख्रा फुकाएर धपाउँदै तल खेततिर लाग्यो । अलि तल दोबाटोको चौरमा रामे पर्खिरहेको थियो राजे र नन्देलाई, उसका बाख्रा अघि नै आफ्नो बाटो समातिसकेका थिए ।

रामेले नन्देलाई नदेखेपछि सोध्यो–
‘अनि नन्दे खोइ त ?’

‘मामाघर जान्छ रे आज’

राजेले उत्तर दियो, ‘ए‘ रामे बोल्यो । रामे र राजेका गाउँमा अरु पनि साथी नभएका चाहिँ होइनन्, उनीहरु जन्मेको वर्ष त गाउँमा प्रत्येक महिना बच्चा जन्मिएका थिए । त्यसैले उनका दौंतरी त धेरै नै थिए तर स्कुलमा एउटै कक्षामा पढ्ने रामे र राजे अनि १ कक्षा पछि रहेको नन्दे चाहिं मिल्ने साथी । उनीहरुका गोरु हेर्न मान्छे घरकै दाइ, दिदीहरु हुने, त्यसैले बाख्रा मात्रै चराउन लैजाने, उनीहरु टाढासम्म जान सक्थे, उनीहरुको घर पनि गाउँको तल्लो भेगमा पर्ने र सबै खेतबारीहरु पनि सँगै जस्तो हुनाले यी दौंतरी अलि बढी नजिक थिए ।’

‘आज कहाँसम्म पुग्ने त ?’ राजेले सोध्यो, ‘आज त्यो तल गैह्रीसम्म जाम’ रामेले भन्यो । ‘ल हुन्छ’ भन्दै तल भिरमा चरिरहेका बाख्रालाई धपाउँदै खेतको छेउमा लगेर छोडे । त्यहाँबाट गैही्र तलै थियो, करिब आधा घन्टाको बाटो, अब उनीहरु बाख्रालाई त्यहीँ छोडेर डण्डीबियो खेल्दै तल जान लागे ।

‘ओइ राजे, ऊ त्यो गाह्रो नाघ्न सक्छस् ?’ रामेले ढाडसिलो लवजमा भन्यो, यति जाबो, हिजो नाघ्या जत्रै त छ नि’ भन्दै जाँघे माथि सारेर हामफालिहाल्यो ।

‘तँ सक्छस ?’ उसले अब तीर फर्कायो रामेतिर, ऊ पनि के कम र कस्सिहाल्यो, कुनाबाट दगुर्दै आएर फाल हाल्यो, राजे झस्कियो अनि भन्यो ‘ओहो झण्डै म¥या थिस्, थोरैले त्यो डिलमा छोएनस । ‘जे भएनि नाघें नि’ रामेले सामान्य रुपमै जवाफ फर्कायो र भन्यो ‘ल अब अहिलेलाई नाघ्ने काम नगरम, जाम एकछिन डण्डीबियो खेलम्’ अनि राजे कस्सियो र भन्यो ‘उ त्यो त्यो गैहृको ठूलो गह्राँ जाम ।

दुवै पुगे ठूलो गह्रोमा, पहिले नै होल्ने ठाउँ र कोठा तयार थियो, सुरु गर्नुअघि रामेले हिजोको ‘पुरानो कोदो’ सम्झायो याने कि हिजो उसले जितेको, र भन्यो ¸स्‘तँलाई मैले २ मुरी ला’ छु नि हिजो’, राजेले भन्यो ‘२ मुरी हैन, १ मुरी उठुरी मात्रै हो’, उसले १ लौरी घटाइहाल्यो तैपनि रामेले भन्यो ‘ल ल मुला हिजोकैबाट सुरु गर्न’,’ल हुन्छ म होल्छु पहिले’ भनेर राजेले सुरु गरिहाल्यो । राजेको डण्डि कोठैमा प¥यो तर लौरोले हान्दा ऊफ्रिने जस्तो भएन, उसले प्रयास ग¥यो तर बिफल भयो । पालो रामेको, उसको भाग्य, डण्डी यति मिलेर बसिदियो कि, उसले निकै टाढा पु¥याइदियो।

‘ओइ दे कति दिन्छस’ रामेले राजेलाई भन्यो,’ २ मुरी १०’ राजेले भन्यो, रामेको चित्त बुझेन ‘उ काँ पुग्या छ ३ मुरि त पक्कै छ’ रामे असन्तुष्टि पोख्दै भन्यो ‘नाप ?’, ’नाप्न त’, राजे पनि पछि हट्ने मुडमा भएन यसै हारिरहेको बेला। रामे नाप्न थाल्यो । कहिलेकाहीं लौरो उचालेर नाप्न लाग्यो भने राजे कराइहाल्थ्यो ‘ओइ झेल नगर है, राम्रोसँग नाप त्याँ ।’ ‘कहाँ झेल ग¥या छु ? हेर राम्रो संग’ रामे बोल्दै नाप्दै भन्यो २ मुरि १८ । राजेलाई पीर प¥यो अब हिजोको समेत जोड्दा ४ मुरि १७ ले पछि परिसक्यो ।

राजे पनि डण्डीबियोमा कमजोर त होइन तर उसको लक नलागेको आज, २–३ पालपछि उसको पनि लक लाग्यो र उसले खेल बराबरिमै ल्याइदियो । करिब २ घन्टा डण्डिबियो खेलेपछि आजलाई पुग्यो भन्दै दुवै पानी खान खोल्सामा गए अनि सानो डुबिल्कोमा बारिएको मुलका ेपानी अँजुलीले उबाएर खाइ, फर्केर खेतको छेउको ढुंगोमा बसे ।

दिउसोको ३ बजिसकेको छ, बिहान माथि छोडेका बाख्रा पनि तलै आइसके, घाम पनि ओझाउन थालिसक्यो, तर रामे र राजेमा अँझै जाँगर मरेको छैन तर के गर्ने भनेर सोच्दै छन्, यत्तिकैमा राजेले रामेलाई तल खोलातिर देखाउँदै भन्यो’ ऊ त्याँ पानी बारेर खेलम’ उनीहरु बेलाबेला सानो खोल्सीमा पानी बारेर कहिले कागजकै त कहिले पातको डुंगा बनाएर पनि खेल्ने गर्थे ।’ जाम हिँड, त्याँ तल त पानी अमला पनि पाइन्छ, खाम्ला’ रामेले जाने संकेत ग¥यो ।

दुवै पुगे तल, पानी अमला खोज्दै खाए यत्तिकैमा राजेको आँखा पारि भिर्मा सुकेको खरिमाथि पुग्यो अनि भन्यो ‘त्यहाँ त कस्तो गजबको सुकेको खरिरहेछ, डढेलो लाइदिम्’, पारि पारि पाखाका बनहरु गर्मी याममा डढेलोले ह्वारह्वार्ति बलिरहँदा उनीहरुलाई रमाइलो लाग्थ्यो, बेलुकीपख देखिने आगोका लप्काहरु कता छिटो जाला भनेर गमिरहन्थे । यसको असरसँग उनीहरुलाई केही मतलब थिएन । रामेले पनि सहमति दिईहाल्यो, सलाई त राजेको गोठालो जाँदा बोक्ने नित्य सामग्री नै थियो । त्यसैले उसले सलाई निकाल्यो र झोसिहाल्यो ।

सुकेको खरि पटटटट गर्दै बल्यो दुवै मज्जाले रमाए, पारि पाखामा देखेको जत्रो ठूलो नभए पनि त्यस्तै लाग्ने डढेलो आफैंले लगाएकोमा । तिनको खुसी एकाएक डरमा परिणत भयो र आत्तिए जब भिरको टुप्पोमा रहेको कुरुवा छाप्रोको छानोमा आगो बल्न थाल्यो । खेतमा बाँदरले साथै दुम्सिले अड्याउने हुनाले गाउँकै एकजना पाका ‘जीवा’ ले त्यहाँ कुरुवा छाप्रो बनाएका थिए, त्यो अनकन्टार लाग्ने ठाउँमा जीवाले कयौं रातहरु बिताउने गरेका थिए, जुन अहिले बलिरहेको थियो ।

दुवै आत्तिँदै, हस्याङ फस्याङ गर्दै माथि दौडे यत्तिकैमा केही माथिबाट अरु गोठालाले पनि थाहा पाएर कराउँदै थिए । माथि पुगेर हरियो स्याउला अनि माटाका डल्लाले हानेर आगो त निभाए तर सँगै त्यो छाप्रोको खाँबाबाहेक अरु सबै भत्कियो । अघिसम्म रमाइरहेको बालापन एकाएक हरायो, वरिपरि सन्नाटा छायो, सबैतिर कालो भएजस्तो लाग्यो, माथि कतै कोही बोक्दा पनि आफैंलाई कसैले ‘पख म भन्दिन्छु तिमीहरुले जलाको’ भनेर भने जस्तो लाग्न थाल्यो ।

दुवै एकअर्कामा हेराहेर गर्दै बसे, दुवैको चञ्चले मुख अहिले खुल्न सकेको छैन, यत्तिकैमा बिस्तारै ‘जाम अब जे होला’ भन्दै दुवै हिँडे । साँझ पर्न लागिसकेकोले दुवैले आफ्ना बाख्राहरु धपाउँदै घर आए र खोरमा हुले ।

सधैं बेलुकी खेल्न जम्मा हुने साथीहरुबीच आज उनीहरु जान सकेनन्, गाउँमा गाँइगुइँ हल्ला चल्यो आज रामे र राजेले जीवाको गोठ जलाए अरे । धन्न रामेका घरमा चाहिं त्यो हल्ला आइपुगेको रहेनछ, त्यसैले आजका लागि गाली खानबाट बच्यो, बेलुकी खाना खाएर कसैसँग केही नबोली डराएकै मुद्रामा धर्सारको आफ्नो ओछ्यानमा पल्टिँदै सोच्यो, ओहो आज साँच्चै ठूलो गल्ती गरियो, अबदेखि त यस्तो काम कहिल्यै गर्दिनँ, राजेलाई के गरे होलान ? त्यसका बाउ त कडा थिए ।

बूढाले थाहा पाएपछि सिस्नो लाइदिन पनि सक्छन् । यस्तै सोच्दै आफूले भोलि खान सकिने गाली र नसिहतको डरैडरमा भुसुक्क निदायो रामे ।

(स्रोत : Ruprekha.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.