~मधु माधुर्य~
जिन्दगी जो देश बाँचिरहेछ
जिन्दगी जो म बाँचिरहेछु
सपना र रहरबाहिर
योजना र कर्मबाहिर
हामी फगत बाँचिरहेका छौं
यसरी पनि बाँच्न मिल्दोरहेछ भनेर
मुर्छा पर्दै मर्दै बाँचिरहेका छौं
प्रत्येक सम्भावनाको प्रतीक भएर बाँचिरहेका छौं
हामीलाई देखेर रमाउनेहरु
मृत्युको दोहोरी गाइरहेका छन्
हामीलाई देखेर आत्तिनेहरु
आँसुका कविता लेखिरहेका छन्
हामीलाई हेर्नेहरुका लािग
सिगों विश्व नै रंगमाच बनिरहेछ
कसको के लाग्दोरहेछ
हामीसँग समय र युग नै हारिरहेछ
जीवनको मात लागेर हामी विक्षिप्त छौं
आक्रोशित भाषण जुलुस र रगतका खहरेहरु
कहिल्यै बनेनन् र बन्ने छैनन् अनुभूतिका पाना
हामी मौन हुनेछौ गाऔ नगाऔं हाम्रो गाना
हामी आधुनिक दन्त्यकथाका आकाश-कुसुम हौं
फगत फुल्नु रहेछ फुलिरहेका छौं
फगत बाँच्नु रहेछ
बाँचिरहेका छौं
यसरी पनि बाँच्न मिल्दोरहेछ भनेर
मुर्छा पर्दै मर्दै बाँचिरहेका छौं