~गोपालप्रसाद रिमाल~
हाम्रो छाती कत्रो? हिमालजत्रो
हाम्रो बारीको नाउँ के? नेपाल
हाम्रो गाउँको नाउँ के? नयाँ नेपाल
त्यसको सेरोफेरो कति? ब्रह्मपुत्रवारि, इन्दसवारि, गङ्गावारि
हाम्रो देशको नाउँ के? खसमीर, खुशी, खसियाशैल।
हाम्रो उचाइ कत्ति? नोर्के थुम्कोजति।
हाम्रो आदर्श के? गोरखा-
तर गाई र ब्रह्माले जस्तै ढाँट नबोलेर
बलभद्रले जस्तै साँचो बोलेर।
हाम्रो जुक्ति के? सकेसम्म छलफल
अनि छल
दामोदरको, भीमसेनको, जङ्गबहादुर खसको जस्तो।
हाम्रो धर्म के? लडाइँ-
पृथ्वीनारायण शाहको जस्तो
बहादुर शाहको जस्तो
रणबहादुर शाहको जस्तो।
हाम्रो कला कस्तो? अर्निकोको जस्तो
हाम्रो कैदी कस्तो? भगवान् अरविन्दजस्तो
हाम्रो मुक्ति कस्तो? त्रिभुवनजस्तो।
(स्रोत : गोपालप्रसाद रिमालको कवितासङ्ग्रह “आमाको सपना”बाट सभार)
