~बिनोद खडका~
सेप्टेम्बर २०१२ ।
यात्रामा निक्लदा मौसम अनुसारका सही लुगाहरु छनौट गर्न नसक्नुले कहिलेकाही असहज परिणाम भोग्न बाध्य पार्छ भन्ने सुनेको थिए, साँच्चै हो रहेछ । अझै पनि स्मरणपटलबाट हटेको छैन लण्डनको त्यो निर्मोही स्याँठ अनि मेरो पातलो कोट । आज भन्दा झण्डै बिस बर्ष पहिलेको कुरा, मलाई के थाहा लण्डनमा त्यस्तो स्याँठ पनि चल्छ, र जाडोले टोक्छ भन्ने कुरा । त्यो जाडोले मलाई त्यसरी अत्तायो जसरी उहिले बाल्यकालमा पल्ला गाँउका गुरुंग बा को कुकुरले अत्याउथ्यो । आधा रातमा
पनि म त्यही कुकुर सम्झेर तर्सन्थे । एउटा पातलो कोटका भरमा मैले गरेको त्यो यात्रा अहिले सम्झदा पनि झसंगै पो हुन्छु । एयर ईण्डियाको जम्वो जेटमा दिल्लीबाट लण्डन हिथ्रोसम्म एउटै जहाजमा यात्रा गरिरहेको सहयात्री पंजावी भाईले जहाजमै भनथ्यो लुगा कपडा राम्रो लेराएको छैनस भने त गईस, ठण्डी बहुत छ । तर पनि मैले हिम्मत हारेको थिईन । तर जब यथार्थको सामना गर्नु पर्यो म साँच्चै नै आत्तिएको थिए । लण्डनमा नै नयाँ बाक्ला लुगा कपडा हाल्न सक्ने आर्थिक स्थिती पनि थिएन । यस अर्थमा जाडोको डसाईलाई पचाउनुको कुनै विकल्प थिएन । समयले नराम्रोसंग खुम्चाएको थियो मलाई ।
जर्मनीको यसपालीको यात्राको अवस्था पनि करिव करिव यस्तै यस्तै नै भयो भन्दा पनि हुन्छ । जर्मनी सहकर्मी मानियाले त्यति जाडो छैन भनेर च्याटबक्समा लेखेको भरमा म फेरी एक पटक पातलो कोटका भरमा नै जर्मनीको यात्रामा निक्लेको थिए । ईन्टरनेटमा मौसम र यसको भविष्यवाणी हेर्न सक्ने अवसर हुँदा हुँदै पनि मैले यी सबै कुराहरुलाई चासो दिएको थिईन ।
औपचारिक कार्यक्रम शुरु भएपछिको पहिलो साँझ हामीलाई एउटा डिनरमा जाने निम्तो थियो । तर कहाँ जाने के खाने भन्ने कुरा गोप्य राखिएको थियो । निम्तो कार्डमा लेखिए अनुसार क्याजुयल ड्र्ेसमा डिनरमा जान सकिने भएका कारणले मैले हाफ टिसर्ट र जीन्स पाईन्ट लगाएर निक्लेको थिए । तोकिएको समयभन्दा पहिले नै म होटेलबाट बाहिर निक्लिसकेको थिए अरु पाहुनाहरु पनि जम्मा भैसकेका थिए । हामीलाई हाम्रो मूख्य कार्यक्रमस्थलसम्म लाने लेराउने गर्ने तीनै महिला चालक भएको बस नै होटेलसंगैको सडकछेउमा हाम्रा लागी पार्किंग गरेर राखिएको थियो । चालक महिला फुटपाथमा बिन्दास हल्लिदै चुरोट तानिरहेकी थिईन । यता भने मेरो पहिरन धेरैका लागी आश्चर्यको बिषय भएको थियो । कोही कोही छड्के हेर्दै थिए मलाई । मैले बुझेको थिए कि उनीहरु मलाई भन्दा पनि मेरा पहिरनलाई निहालिरहेका थिए । अरु सबै एउटा स्विटर माथि ज्याकेट वा ओभरकोट खप्टेर निक्लिेका थिए । म भने एउटा हाफ टिसर्टमा । त्यहाँको मौसमले भन्दा पनि उनिहरुको हेराईले मलाई केही अपठ्यारो महशुस भैरहेको थियो । यद्यपी हाफ टिसर्टमा पनि मलाई अहिलेसम्म त खासै जाडो महशुस पनि भएको थिएन ।
बस तोकिएकै समयमा लक्षस्थलतर्फ गुड्यो ।
बसमा भ्लाडकोभ मसंगै बस्नका लागी आईपुग्यो । आईपुग्यो मात्र होईन सदा झै गफ पनि शुरु गरि हाल्यो । स्विजरल्याण्डबाट आएको यो भ्लाडकोभले गफ शुरु गरेपछि ननस्टप जान्छ र अरुले अर्को आधा घण्टा केही बोलौला भनेर नसोचे पनि हुँन्छ । कहिले काही यसको एकतर्फी कुरा सुनिरहन पर्र्दा कम्ती सकस हुदैन । त्यसमाथी समर्थनका लागी कम्तीमा पनि टाउको सम्म भए पनि हल्लाउनै पर्यो । तर यहाँ उसको गफको एउटै बिषयले पनि बिट नमार्दै आधा घण्टा बितेछ र हामी हाम्रो लक्षस्थल जर्मनीको फ्रान्कफर्ट शहरको मेन नदीको किनारामा आई पुगिसकेका थियौ । हाम्रो रेष्टुरा मेन नदीको एउटा किनारासंग जोडिएको थियो जो कलात्मक देखिनथ्यो । वरिपरीका परिद्धष्यहरुले यो स्थान कतै दोभान झै भएको आभास दिनथ्यो । तर दूईवटा नदीको संगमस्थल भने होईन बरु एउटै नदीलाई काटेर यहाँ केहीभित्र सम्म पठाईएको मात्र हो ।
बसबाट निक्लने बित्तिकै मेन नदीको किनाराको चिसो स्याँठले मलाई शुरुमा त चीसो चुम्बन गर्यो अनि बिस्तारै अंगालोमा बेरेर ककरक्कै पार्न थालि हाल्यो । सोचि नसक्नुको स्याँठ चलिरहेको थियो यो नदी किनारामा जसले सबै चिसो मलाई नै घोप्टाई रहेझै आभास भइरहेको थियो । यस्तो चिसो त मैले कल्पनासम्म पनि गरेको थिईन । यदी यस्तै चिसो होला भन्ने सोचेको भए म यो डिनर पार्टीलाई एउटा बहाना बनाएर त्यागिदिन्थे । मलाई आफ्नो पहिरनदेखि आफैलाई यतिखेर भने हल्का लाज पनि लाग्यो । म फटाफट गएर रेष्टुराभित्र छिरिहाले । रेष्टुराभित्र त न्यानो छदै थियो । ४० डिग्री सेल्सियस तापक्रम भएको ठाँउबाट निक्लेको मान्छे, टिसर्टले त धान्ला भन्ठानेको थिए तर जर्मनीको चीसो आफुले सोचेभन्दा अलि फरक नै पर्न गयो यसपाली ।
डिनरको शुरुवात सदा झै रक्सी र वाईन पिउने कार्यक्रमबाट नै भयो । मान्छेहरु हातमा दारुको गिलास लिएर भिन्न भिन्न समूहमा विभाजित भएर गफको दुनियातिर लागे । वेटरहरु मदिराले भरिएका गिलासहरु बोकेर ओल्लो छेउ र पल्लो छेउ गरिरहेका थिए । म भने एउटा स्प्राईट हो वा सेभेन अप सहितको गिलास हातमा लिएर त्यसै हल्लिरहेको थिए । नेपथ्यमा पियानोको संगितको मन्द धुन आईरहेको थियो । रेष्टुराभित्रको कल्यांग कुलुंग आवाजले भित्रको बाताबरण साँझमा चराहरुले बास बस्ने बेला भएको बाँसघारी जस्तै भाको थियो । पीउनेहरु अगाडीको वारमा कोही उभिएर त कोही बसेर पिई रहेका थिए । दूनियाभरीका गफहरु ओर्लिएका थिए । गफको बिषयका कुनै सीमा थिएन । बिजिनेस नेटवर्किंगको नाम दिएर गरिने भएपनि यस्ता पिउने र खाने कार्यक्रमहरुमा मान्छेहरु खाने पिउने कार्यक्रममा नै ज्यादा केन्द्रित भएको देखिन्छ ।
कुनै पनि डिनर टेवलमा कोही पनि पाहुनाहरु अझैसम्म बसेका थिएनन । सबै खाली थिए । केही बेरको भीडसंगको घुलमिलपछि म एकान्तको खोजीमा रेष्टुराको सिसाको झ्यालतिर लागे जहाँबाट वरिपरिको द्धष्यहरु र खासगरी मेन नदीलाई स्पष्टसंग देख्न सकिन्छ वा भनौ नजरले स्पर्ष गर्न सकिन्छ । यद्यपी रातको अँध्यारो पूर्ण रुपले ओर्लिसकेको थियो । रातको अँध्यारोलाई चिरेर विजुली वत्तिहरुले उज्यालो बाँड्ने प्रयास गरिरहेका थिए । तीनै विजुली बत्तिहरुको प्रकासमा मेन नदीको आँचल अझै चम्किलो देखिईरहेको थियो । यही सिसाको झ्यालबाट नदीलाई निहालिरहदा म एउटा अतितमा ठोक्किन पुगेको थिए । आज भन्दा बिस बर्ष पहिलेको कुरा हो । फ्रान्कफर्टबाट काठमाण्डौतिर फर्कने उडान आधा रातमा मात्र थियो । होटेलबाट दिनको १२ बजे नै चेक आउट भैसकेपछि र लगेज होटेलको स्टोर रुममा राख्न दिएपछि हामीसंग जाने कुनै ठाँउ थिएन, पुग्ने कुनै लक्षहरु थिएनन । सपिंग मलहरुमा केवल सामानहरु हेर्न वा आई सपिंग गर्न मलाई रहर छैन । सायद त्यस्तै लागथ्यो होला मेरो हाकिमलाई पनि । हातमा आआफ्ना ब्रिफकेस च्यापेर हामीहरु होटलबाट निक्लियौ गनतव्यहिन यात्रामा । त्यतिखेर अफिसियल काममा विदेश यात्रा गर्दा हातमा ब्रिफकेस झुण्डाएर हिड्ने चलन थियो । आज भोली त्यस्तो चलन छैन । मान्छेहरु आफुलाई सहज हुने खालको एक्जेक्युटिभ ब्याग बोकेर यात्रामा निक्लन्छन । हिड्दै जाँदा हामीहरु मेन नदीको किनारामा पुगेका रहेछौ । मेन नदीको त्यो भागको किनारामा घाँसे मैदान सहितको पार्क थियो जहाँ मान्छेहरु अर्धनग्न भएर हरियो घाँसे मैदानमा उत्तानो परेर सनबाथिंग गरिरहेका देखिन्थे । बगलमा मेन नदी धमिलो पानीसंग खेल्दै सुस्त गतीमा बगिरहेको देखिनथ्यो । घमाईलो दिनको त्यो रमाईलो क्षण निश्चय पनि स्मरणयाग्य थियो । नदी किनाराको त्यो पार्कका कुनै ठाँउहरुमा युगल जोडीहरु प्रेम साटासाट गरिरहेका पनि देखिन्थे जो हाम्रा लागी नितान्त नौलो थियो । मेरा हाकिमले आफ्नो ब्रिफकेसको सिरानी हालेर निदाउने प्रयास गर्दै थिए । मैले पनि त्यस्तै बहाना गरे । के को सकिनथ्यो निदाउन । यसो उसो गर्यो तर ध्यान वरिपरीका तीनै द्धष्यहरुले खिचिरहेको थियो । तीनै युगल जोडीका क्रियाकलापहरुले ध्यान भंग गरिरहनथ्यो । युवा उमेरको बेला मैले रोक्न खोजे पनि मेरो मनले के मानथ्यो र । हो यो त्यही मेन नदी हो जसले हाम्रो गनतव्यहिन यात्रामा कुनै दिन आश्रय दिएको थियो तर आज त्यही नदीको किनारा मेरा सामु चिसो सिरेटोको आतंक लिएर देखा परेको थियो ।
यतिखेर सम्म सबै जसो पाहुनाहरु डिनर टेबुलतिर जम्मा भैसकेका थिए । मेरो टेबुलको अगाडी एउटा मध्य अमेरिकी जस्तै देखिने अधबैसे पाहुँना बसेको थियो । उ आफुलाई समुहमा अली ठूलै देखाउन चाहनथ्यो । पछि कुरा बुझ्दा थाहा भयो उ अमेरिकन रहेछ । उसका मपाई प्रस्तुतीले उ अमेरिका उसका परिवारका हिसाबले आवासिय सुबिधा पाउने पहिले पुस्ता हुनुपर्छ जो सायद मध्य अमेरिकी मुलुकबाट त्यता प्रवेश गरेको होला । उसैसंग कुरा गर्दा गर्दा थाकेको झै भान हुने एउटा मेक्सिकन पाहुना मेरो अगाडी आईपुग्यो । उसैले कुरोको लहरो तान्यो पछि कुराहरुकै पहरो बन्यो । उसंग मेरो धेरै लामो कुराकानी भयो । उसले उसको कम्पनीको हालत सही नभएको बतायो र ती सबै कुराहरुको मूख्य कारण कम्पनीभित्रका विविध कर्मचारी युनियनहरु र तिनिहरुको राजनैतिक कृयाकलापहरु नै जिम्मेवार भएको बतायो । यसो हेर्दा उत्तर अमेरिकी देश भए पनि मेक्सिकोको राजनैतिक अवस्था सही नभएको र त्यहाँका सार्वजनिक संस्थानहरुको स्थिती पनि हाम्रै देशको सार्वजनिक संस्थाहरुको जस्तै राम्रो नभएको भान हुँनथ्यो । सायद हाम्रै देशको जस्तो बेहाल नै चाही भएको होईन होला । मेरा प्रश्नको जवाफमा उसले उसको देशमा कम्पनीहरुको उत्थान हुन नसक्नुमा कामदारहरुको युनियनहरुको हात भएको प्रष्टायो । ओहो युनियन बाजीले त्यहा पनि खत्तम बनाएको रहेछ । मैले मनमनै भने । प्रथम महिला प्रधानमन्त्री मार्गरेट थ्याचरलाई पनि कामदार युनियनले कम्ती गाहे पारेको थिएन । हाम्रै देशको कुरा गर्दा पनि कर्मचारी वा कामदारहरुको भलाईका लागी युनियनहरुले कत्तिको मद्धत गरे त्यो त तपसिलका कुरा भए तर यो प्रथाले सेवा प्रदायक संस्थाहरुमा समेत राजनैतिक हस्तक्षेपका कारण तिनीहरु सेवायोग्य रहन सकेनन र देशमा आजसम्म पनि आधारभुत आवश्यकताका परिपुर्तीका सवालहरुमा समग्रमा सार्वजनिक सस्थानहरु अयोग्य सावित भैरहेको जगजाहेर छ । बिद्युत्त प्राधिकरण लोडसेडिंगको समयावधि बढाईरहेको छ, दुर संचार मोबाईल त बाँड्दैछ तर नेटवर्क दिन सकिरहेको छैन, ट्र्लिबसका अबसेषहरु अब म्युजियमहरुमा खोज्नु पर्ने हुन्छ । यस्तै छ अरु सार्वजनिक संस्थाहरुको हालत पनि या त ती बिलाई सके या त आफ्नो जीम्मेवारीका सवालमा अपांग नियती गुजारी रहेका छन ।
कार्यक्रम आयोजक संस्थाका कर्मचारीहरु पाहुनाहरुको विभिन्न झुण्डहरुमा बाँडिएका थिए । राल्फ केसर कहिले यो टेबुल त कहिले त्यो टेबुलमा पुग्दै गफका एक दूई लाईन जोड्दै थियो । यसपाली मैले उसलाई सजिलो बनाईदिए । उसलाई मैले सोधे कि यो उसको यस बर्षको कतिओ भ्रमण हो । त्यसपछि उसको बयान शुरु भैहाल्यो । त्यसो त उ त्यति धेरै बोल्ने खालको मान्छे होईन । उसले तेश्रो पटक पासपोर्टमा पाना थपिएको बतायो र पाईन्टको पछाडीपटिृको बगलीबाट पासपोर्ट यसरी निकाल्यो कि त्यो कुनै महत्वपूर्ण डकुमेण्ट नभएर बरु कुनै पढिसकेर फाल्न गाहे लागेर पोको पारेर बगलीमा कोचेको दैनिक पत्रिका होस । केही क्षणमा नै उ हाम्रो टेबुलबाट पनि टाढिई हाल्यो ।
यो साँझको डिनर कार्यक्रम मेरा लागी साह्ै स्मरणिय बन्न पुग्यो जब डिनरमा एउटै खाना सर्भ भयो । मासुका ठूला टुक्रा सहितका प्लेटहरु जसै डिनर टेबुलहरुमा सजिन थाले मलाई एक पटक फेरी असजिलो महशुस हुन थाल्यो । प्लेटमा सजिएर आएको मासुहरु अरु केही नभएर बरु बिफ स्टिक अर्थात गाईको मासुहरु नै थियो । मैले तुरुन्तै यो खाना अस्विकार गरे र भेज खानाका लागी अनुरोध गरे । निकै ढिला गरेर आएको मेरो त्यो भेज खाना जोख्यो भने सय ग्राम जति हुँदो हो । त्यो खाना के थियो मैले आजसम्म बुझेको छैन । मलाई त्यो खानाको नाम पनि थाहा छैन । झटृै मैले त्यो खानाका फोटो उतारि हाले । मैले त्यस्तो खाना न पहिले कहिले खाएको थिए न त भविष्यमा नै खाँउला ।
शारांसमा भन्नु पर्दा एउटा तामझामको डिनर कार्यक्रमबाट फर्कदा सायद मेरो पेटको एक छेउ पनि भरिएको थिएन । खोई किन हो तर रेष्टुराबाट फर्कदा भने मेन नदीको सिरेटो त्यति निदर्यी बनेन, सायद भोको पेट भएकाले होला । यतिखेर म हलुको भएर बसतिर लागेको थिए । मेन नदीको सिरेटोभन्दा पनि साँझको त्यो उर्लदो भोक सायदै मेरो स्मरणपटलबाट हराउँला ।
(स्रोत : sahityasangalo)