~हरिकुमार श्रेष्ठ~
पहिला पहिला मैले पनि
देखेको र भोगेकै हूं
गाउं गाउंबीच
मेलापात, चाडपर्व, जात्रामा आक्रमण
लर्डाईको मोर्चामा आक्रमण
चाहे अमेरिकाबाट
इराक वा अफगानिस्तानमा नै किन नहोस्
चाहे हरेक देशभित्रका जनताबीच नै किन नहोस्
जताततै आक्रमण नै आक्रमण ।
हाम्रै शान्त र सुन्दर भूमी पनि
यसबाट अछुतो हुन सकेन
हुने र नहुनेबीच चर्को आक्रमण
यसैको उपज हो
माओवादीको सुरक्षकर्मी माथि आक्रमण र
सुरक्षाकर्मीको माओवादी माथि आक्रमण पनि
हजारौं ढले, हजारौं गले, हजारौं जले
तर यो
एक आपसमा निरन्तर चलिरह्यो
दर्दनाक भएर झन्झन् बलिरह्यो
कहिले बुलेट आक्रमण त
कहिले वाक र कलम आक्रमण
अझै पनि निरन्तर चलिरहेछ आक्रमण
तर पनि हामी नेपालीले
सोचेअनुसारको उपलब्धी पा छैनौं
शहीद परिवारले
आफ्ना जहान परिवार गुमाएका बेदनामा
आंखाबाट अश्रुधार सुकाउन सकेका छैनन्
घाइतेहरुले
अझै अस्पत्तालको बेडबाट मुक्ति पाउन सकेका छैनन्
सुकुम्बासीहरुले
आफ्नो झुपडिको बास छोड्न वा सुधार्न सकेका छैनन्
भ्रष्टाचारले त झनै खै कहिले उन्मुक्ति पाउने हो
तर बिडम्बना अझै सहिनसक्नु छ
आन्दोलनमा घरघर पुगी बोलाउन भ्याउने नेताहरु
आज अस्पत्तालसम्म बिरामी भेट्ने फूर्सद छैन
शहीद परिवारलाई एकै शब्दको “ढाडस” दिन भ्याउंदैनन्
किनकी
उनीहरु भागबण्डा र बांडिचुडीमा लामबद्ध छन्
अझै पनि आफ्नो पालो सकाएका छैनन्
एकपछि अर्को रीले दौड जस्तै भएको छ ।
हिजो आज त झनै
नरा म्रा काम गर्नेहरुले
आफ्नो अस्तित्व लोप हुने देखेर
राम्रा काम गर्नेमाथि गर्छन् आक्रमण
बोलाबाला र चहल पहल यिनैको चल्दैछ
महत्व दिनुपर्ने विषयवस्तुलाई
सामान्यरुपमा परिभाषा गरिन्छ र
त्यसलाई कुनै महत्व दिइदैन
वस् ! यस्तै रहेछ नयां नेपाल
कोही बुलेट आक्रमणभन्दा
कलम आक्रमणमा बढी विश्वास राख्छन्
अनि धाराबाहिकरुपमा गर्छन आक्रमण
बुलेट आक्रमण त लाग्यो सकियो
पीडकलाई एकैपटकमात्र पीडा
तर
कलम आक्रमणको असर त
पीडकलाई आजीवन भइरहंदो रहेछ
मेरा केही कलमजीवि मित्रहरु पनि छन्
जो कलम आक्रमणमा नै विद्यावारिधि गरिसक्नु भएको छ
त्यसैले उहांको तिखो कलमको निशाना खतरनाक हुन्छ र
सांचो अर्थमा भन्नुपर्दा निशाना खेरै जांदैन र
निकै नै दर्दनाक पनि हुन्छ
उहांको सोधपत्रमा पनि
निशाना र दर्दनाकको स्तर मापन गरिएको छ
उहां आक्रमणलाई चाहेको गतिमा डोर्याउन
आफूलाई माहिर सोच्नुहुन्छ
चाहे त्यो जातीयता, धार्मिक, राजनैतिक तथा
नाता कुटुम्भको रंग भरेर नै किन नहोस्
चाहे विभिन्न गुट र उपगुटको विकास गरेर नै किन नहोस्
आफुसंग रंग मिलेनभने वा बोली मिलेनभने
गर्दिहाल्छन् चर्को कलमी आक्रमण
अनि बैरि समान सोंची प्रवेश निषेधको लागि
खडा गरिदिन्छन् चीनको जस्तो ग्रेटवाल पनि
त्यसपछि त रजाई र हैकम एकछत्र
किनकी
उसलाई राय, सल्लाह र परामर्शको लागि
अरु केही कलमजीवि पोख्त सल्लाहकारहरुको पनि खांंचो छैन
शितल, सीधा, इमान्दार, कर्मठ ब्यक्तित्वमाथि
चर्को धावा बोलिंदै गरिन्छ आक्रमण
उनीहरु रक्त पिपासु शिकारी र ब्वांसाभन्दा पनि
बढी क्रुर र आक्रमणकारी बन्दछन्
अरुको ख्याति, अस्तित्व समाप्त गर्न
अर्काको व्यक्तिगत चरित्र हत्या गर्न
जीवन ध्वस्त पारी अस्तव्यस्त पार्न
गर्छन् संधै कथित कलम यात्रा र आक्रमण
अब त लाग्छ
सायद कलम पनि बोधो भैसकेर होला
त्यसैले आक्रमणको रुप फेरिंदो छ
गल्लावाला गाउं गाउं पसेर
नयां भर्ति चलाएका छन्
नयां नयां प्रलोभन देखाएका छन्
कसैलाई कर्णेल त कसैलाई मेजर
अनि क्याप्टेन र सेकेण्ड लेफि्टिनेन्टसम्म बनाइ दिने भनेर
पंचायतकालीन राजा महाराजा जस्तै बनेर
अनि त आफ्नै गति र मति ब्रि्रेर
जनतामारा प्रमाणित भएका
विवेकहीन र अस्तित्वहीन सबै भाडाका जल्लादहरुबाट
बुर्लुक्क बुर्लुक्क उफ्रदै एक गतिछाडा सांढेजस्तै बनेर
तिनै निमुखा जनतामाथि धावा बोल्न लगाईदै छ
सृंखला र योजनाबद्धरुपले अगाडि बढी
नितान्त कपोलकल्पित आक्षेपहरुसमेत लगाई
एक क्रुर फासिष्ट तानाशाहजस्तो शैलीमा
प्रत्येक दिन षडयन्त्रपूर्वक घेराबन्दीमा पार्ने
हदैसम्मको प्रयास र हतकण्डाहरु जारी राखेका छन्
उनीहरुले अझै जनशक्तिको
घोर अपमान र अबमूल्यन गर्दैछन्
अनि कुर्लन पुग्छन् उनीहरुलाई जनताले गरेका
हरेक फैसलाहरु अमान्य रे
कसैकसैलाई त
कोर्टमा केश फाइल गराइदिनेसम्मको धम्की जान्छ
हेरौ कसैको धाकधम्कीभन्दा समय अवस्य नै बलबान हुनेछ र
अन्तत्वगत्वा जनताको शक्ति नै विजय हुनेछ
त्यसैले अबको एम्बुसमा को पर्ने हुन्
समयले नै बताउला ।
हरिकुमार श्रेष्ठ (पीएच.डी.)
पाटन, नेपाल, ३० जुलाई