मालिक !
म यो गोरखा राज्यमा
अर्ढाई सय वर्षछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर छ –
कहाँनिर छ बिसे नगर्ची –
मालिक !
म बौलाएँ ।
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझाो हुनुपर्ने
अर्ढाई सय वर्षछि आज के भयो मलाई –
यो बिसेलाई दशा लाग्यो मालिक !
म बौलाएँ ।
नाथे मेरी स्वास्नी हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झाुप्रो न हो जलाइएको
यत्तिमै यो बिसे उप्रिmनृुपर्ने – थुइक्क बिसे… ।
म बौलाएँ मालिक !
म बौलाएँ ।
मेरो हात भाँचियो
अब म हजुरका भारदारहरूलाई
लवेदा सिउन सक्तिनँ
नर्सिङ्गा फुक्न/सनाई बजाउन
अथवा कुनै मङ्गलगान
वा मृत्युगीत गाउन सक्तिनँ
मेरो खुट्टा भाँचियो
अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्तिन
मालिक ! म बौलाएँ ।
मालिक !
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्लाअग्ला पहाडहरू
आज कसरी यस्तरी होचाहोचा भए –
हिजोका सग्ला र कल्कलाउँदा
यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरुप भए –
यो दरौदी किन उल्टो बगेको देख्छु –
यो दरबारै किन खण्डहरजस्तो देख्छु –
म बौलाएँ मालिक ! म बौलाएँ ।
मालिक !
हजुरको तरबारले
टाउको काट्छ कि फूल –
भ्रममा परें म
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे –
भ्रममा परें म
यस राज्यलाई प्रजाले बनायो कि राजाले
भ्रममा परें म
अर्ढाई सय वर्षेखि म तपाईसमक्ष छु मालिक !
म कसरी आतङ्ककारी हुनसक्छु –
म केवल बौलाएँ मालिक !
बौलाएँ ।
हो मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको छु भने हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनें हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरें हुँला
मालिक !
मान्छे बौलाएपछि आफैंसित पनि निहँु खोज्दोरहेछ
अर्ढाई सय वर्षेखि मैले तुनेका थाङ्नामा हर्ुर्केका
मेरा दरसन्तानहरू कहाँकहाँ पुगे –
मैले खोज्न चाहें हुँला
मेरा औंलामा खोपिएका छ्यान्द्रा र
बगेका रगतहरूले मलाई उक्साए
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनेको मुलुक विशाल ठानें हुँला
मालिक !
यस माटोको इतिहाससँगै म हजुरको
राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुनसक्छु –
म साँच्चै बौलाएँ मालिक !
साँच्चै बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर छ –
कहाँनिर छ बिसे नगर्ची –
मालिक ! म बौलाएँ ।
This is one of its kind. Such a powerful and poignant piece of poetry. To those who don’t understand Nepali, here’s an English translation of this poem:
https://translatenepal.com/accounts-of-bishe-nagarchi/