उनीहरुले जूनको गीत लेखेर गाएछन्
उज्यालो त उनलाई पनि चाहिएकै रहेछ
फरक मात्रै यती हो की
उनीहरु अझै जूनकै उज्यालोले
संसार हेर्न खोजीरहेछन्
अब जूनको भर नपर भन्छु म
जूनको उज्यालो तिम्रो आस्था हुन सक्दैन
हरेक पल्ट झैं जूनेलीलाई
फेरी औंशीको कालरात्रीले ढाकीदिनेछ ।
उता तिनीहरुले खुशी खोज्न
पूतलीको गीत गाइरहेको बेला
उज्यालोको भ्रममा
जूनकिरीको पछाडी दौडीरहेछन्
जूनकिरीको टिलपिले उज्यालोमा
तिनले पनि कति संसार देख्न सक्छन र ?
त्यसैले आजै भनिदेउ तिनलाई
जूनकिरीको उज्यालोलाई
तिनले पनि आफ्नो आस्था नबनाउन्
जूनकिरीहरु त आफैं अंध्यारोमा हराएका छन् ।
अर्काथरीहरु फेरी
उज्यालो कै खातीर अंध्यारो चिर्न
हात हातमा रांको बोकेर
सर्बत्र आगो सल्काइरहेछन्
र आफु आफैं जलीरहेछन्
बत्तीको पूतली भएर
आगोलाई कसरी आस्था बनाउन सके तिन्ले ?
आस्था तिन्को आफ्नै समाप्ती नबनोस् ।
अबको आस्था भनेको
तिम्रो, मेरो र तिनीहरु सबैको
यौटै भएर हाम्रो हुनु पर्छ
हामी सबैले आफु आफुमा भएको
विवेकको उज्यालो जोडेर
सबैले एकैसाथ संसार देख्ने गरी
यौटा महाप्रचुर उज्यालो बाल्नु पर्छ
अनि त्यसैको प्रचण्ड रापले गलाएर
हामीलाई ढाक्ने अंध्यारो ढाल्नु पर्छ ।
(स्रोत : Nepalikavita.com)