मान्छे थिए विविध वर्ग र वर्णताका,
मार्थे ल शोषण गरेर त दासताका,
भन्छौं सबै पतन भो पहिलो जमाना,
स्वातन्त्र्यता र समता अबको खजाना ।
पैसा बचाउन कुनै अधिकार थे न,
मिल्थ्यो सबै गृह तथा अरु खर्च थे न,
पाएर आज अधिकार भयो तमासा,
ज्याला बुझे नि बिलपे नहुने हताशा ।
नारी थिए थिचिन ता थिचिए नि पुज्या,
को पुज्दछन् ल भन आज भए नि वेश्या ?
स्वातन्त्र्यता परम धर्म भनेर नारी,
नाचे सरी अलगिए समुदाय पारी ।
सम्मान्य वर्ग वरणीय त सत्य नै हो,
तल्लो त वर्ग सबको प्रिय पात्र नै हो,
ज्ञाता भएर सबले व्यवहार गर्थे,
स्वातन्त्र्यता नि । अहिले अपमान नै भो ।
बिग्रेर वर्ग अनि वर्ण पिटेर सारा,
स्वातन्त्र्यको दुरुपयोग भयो नि पूरा,
विध्वंशको शिखरमै पहिला पुगेर,
भन्छन् स्वतन्त्र भइयो नि मुखै थिचेर ।
आयो नयाँ मुलुकको सुकिलो जमाना,
भन्छन् स्वतन्त्र सब छौं धनमा समाना,
उल्टो छ वास्तविकता अहिले गलीमा,
मान्छे भयो कुकुर तुल्य नि दासतामा ।
Ãट्ट
उडब्रिज, भर्जिनिया
(स्रोत : Nepalikavita.com)