~सुरेन्द्र सुमन~
अन्ततः आफु जाने नै निर्णय गरेपछि रमेशले मलाई पनि कर गर्यो । मलाई विलकुल मन थिएन । म डान्स बारमा पहिले कहिल्यै गएको थिईन । तर रमेशले गएरै छोड्ने निर्णय लिए पछि उसको साथी बनीदिन भए पनि ऊ सित जाने मनसाय गरे र चुपचाप म उसको पछि पछि हिडे । बारमा पुगेपछि त्यहाँको वातावरण निकै रोमान्चक देखिन्थ्यो । झिलिमिली विजुलीको चम्काई सँगै बारको अगाडी कतिपय केटा केटी कम्मर मकाई मर्काई खुब नाँचीरहेका थिए । अर्कोतिर कोही नास्ता गर्दै थिए अनि कोही पिउदै थिए । प्रत्येकको साथमा जोडीहरु थिए । हामी पनि पस्यौ बार भित्र । एउटा गोरी लाग्ने केटीले हामीलाई बस्ने ठाउँ देखाई दिई । नाँचिरहेको मन्चलाई अगाडी पार्दै हामी बसेका थियौं । ठुलो ठुलो आवाजमा हिन्दि गीतको फास्ट ट्र्याक अनि गीतको तालमा फास्ट डान्स । कुरा गर्दा कानै नजिक मुख लिएर कराउनु पथ्र्यो तर पनि बुझ्न गाह्रो लाग्थ्यो । के खाने भनेर सोही केटीले हामीलाई हातले ईशारा गरी । उसले भन्यो केही नखाने, मैले पनि चुपचाप टाउको हल्लाएँ उसको समर्थनमा । एकछिन हामी दुवैले नाचिरहेका केटा र केटी तिर नजर लगाईरह्यौ । लाईटको झिमिक झिमिक सँगै तिनीहरुको पुरै शरिर एक साथ देखिदैन्थ्यो । कति बेला टाउको, कतिबेला छाती अनि कतिबेला खुट्टा विभिन्न रंगमा देखिन्थ्यो । घरी केटाको अंगालोमा त्यो केटि बाधिन्थि त केटीको अंगालोमा केटो ।
गीत सकियो । डान्स पनि सकियो । शायद अर्को जोडी आउदै थियो डान्स गर्न । मलाई पछाडीबाट कसैले काँधमा हात राख्यो । म झस्किएँ । हेरें एकजना केटी थिई ।
मुसक्क हास्दै मै सँग टासिएर बस्दै सोधी ।
किन केही नखाएको ?
मैले हेरिरहे उसको अनुहार तिर ।
फेरी उसले भनी, के ट्वाल्ल परेर हेरेको लाटो झैं ?
साथी तिर हेरे, मैले हास्दै भने । ल जुस दिनु न त ।
ऊ सँग पनि अर्को एक जना केटी उस्तै गरी गफ गर्दै थिई । हामी दुबैले मुखामुख गर्यौ अनि एक एक वटा जुस अर्डर गर्यौ ।
त्यो केटीले ओठ लेब्¥्याउदै भनी, छ्या रेष्टुरेन्टमा आएर पनि के जुस खाएको ? वियर अथवा ह्वीस्कि पो खानु पर्छ त ।
मैले भने, हामी कहिल्यै पनि ड्रिन्क गर्दैनौ ।
मर्द भएर पनि यस्तो कुरा गर्ने ? उसले मलाई उचाल्न खोज्दै थिई । हामी फेरी मौन रह्यौ । एक पल्ट फेरी हल संगीतले गुन्जायमान भयो । हिन्दी गीत रंगीला रे, रंगीला रे को तालमा एक जोडी अर्धनग्न शरिर सँगै नाच्न थालें । मैले एक छिन अन्य क्याविन तिर पनि नियाले ग्राहकहरु सँगै रेष्टुरेन्टका प्रत्येक केटी बसेका थिए । मज्जाले गफ गर्दै थिए । कसैले एक हातले रक्सी पिउदै थिए अर्को हातमा चुरोट समातेर । कसैले एक हात केटीको छातीमा अँठ्याउदै गरेको प्रष्ट अनुमान लगाउन सकिन्थ्यो । विजुलीको झिमिक झिमिक गर्ने रंगीन प्रकाश सँगै पुरै हल नै अध्यारो र उज्यालो बराबरी चम्किरहेको थियो
मैले रमेश तिर ध्यान दिएँ तर उसले वास्ता नै गरेको थिएन, मैले बुझें । किनकी ऊ त्यो केटी सँग गफिदै थियो घरि आफ्नो मुख उसको कानमा लिन्थ्यो । घरी केटीले उसको कानमा आफ्नो मुख लिन्थी । अनि दुबै जना मुखामुख गर्दै दाँत देखाउथें । उनीहरुको गफगाफ उचाईमा पुगिसकेको मैले सहजै अनुमान गरें । अब मैले आफ्नो अवस्थालाई नियालें । मेरो साथमा पनि एउटा केटी थिई । म सँग टाँसिएरै बसेकि थिई । तर म एक्लो थिए । मैले शुरुमा औपचारिक गफ पछि केही बोलेको थिईन या भनु बोल्न चाहेको थिईन । तर यस्तो ब्यवहारले म असभ्य र पाखे देखिन्छु कि भन्ने पनि लाग्यो । जे भए पनि यसरी चुप लागेर बस्नु भन्दा त केही कुरा नै गर्नु सही । म सँग बसेकी केटी नढाटेर भन्दा अत्यन्तै राम्री देखिन्थि । डिस्को लाइटको रंगीन प्रकाशले उसको अनुहार थप आकर्षणयुक्त बनाएको मैले महसुस गरें । उसले मलाई वियर खुवाउन अनुरोध गरेकी थिई तर मैले नसुने झै गरें । तर फेरी एक छिन पछि जुस वा रेडबुल खान्छु भन्दै आप्mनै प्रेमिका लाडिए झैं गरी बोलेकी थिई, त्यतिबेला पनि मैले नसुने झै गर्दै डान्स हेर्नमा मस्त भएको नाटक गरेको थिएँ । मलाई मनमनै हाँसो उठ्दै थियो । छड्के नजरले हेर्दा त्यो केटीले मेरो ब्यवहार दिक्क मानेकी थिई शायद । ऊ अहिले चुप लागेकी थिई । रमेश तिर नजर लगाए । उसको हात अब केटीका संवेदनशिल अगं तिर दौडिरहेको थियो । उसले मेरो हेराईको कुनै पत्तो नै पाएन । वा पत्तो पाउन चाहदैन्थ्यो ।
मैले मेरो मानसिकतामा दौडिरहेको सोचलाई अलिकति परिवर्तन गरें । मसँगको केटी सँग बोल्ने कोशिस गरें । तपाईको नाम केहो ? मैले सोधें ।
किन ? उसको ठाडो प्रश्न थियो ।
हैन यत्तिकै सोधेको, मैले उसको कानमा कराउदै भने ।
गाजलु ।
गाजलु के ?
मात्र गाजलु ।
घर नि ?
किन चाहियो ?
भन्नहोस् न, केही फरक पर्छ र ?
अहँ म भन्न सक्दिन ।
तपाईको उमेर कति ?
किन ?
तपाई यो पेसामा लागेको कति भयो ?
किन ? किन ?? किन ???
म एक पत्रकार जस्तो उनको अन्तरवार्ता लिन प्रश्न माथि प्रश्न गर्दै थिएँ । उसले एउटा भ्रष्टाचारी वा सुुचना दिन नचाहने सरकारी कर्मचारी झै तथ्याकं लुकाउन खोज्दै थिई । मलाई त एकपल्ट मनमनै हाँसो पनि लाग्यो । आफ्नै सोधाई प्रति । मैले उसको यथार्थ विवरण जसरी पनि ल्याउने दृढ बनिसकेको थिएँ । तर उसले सहजै दिने वाली थिईन ।
मैले भनें, म पहिलो पटक डान्स रेष्टुराँ आएको । तपाई सित भेट भयो तर तपाईको अनुहार देख्दा मेरो दिदीको झल्को आयो । मैले तपाईलाई अभद्र ब्यवहार गर्न सकिन । त्यसैले तपाईको बारेमा जान्न खोजेको ।
उसले भनी, त्यसोभए म तिम्री दिदी हुँ त ?
मैले हाँस्दै भने, दिदी जस्तै । मेरो घर पश्चिममा पर्छ । बरु दिदी तपाई मलाई आफ्नोबारेमा भनिदिनु न ।
ऊ अब अक्क न बक्क परी ।
मैले यसो भनिरहदा उसले आफ्नो बारेमा लुकाउन चाहिन । उसले आफ्नो बारेमा भन्न थाली ।
मेरो वास्तविक नाम गौमाया खत्री हो । मेरो घर पहाडमा छ । घरमा बुढा बाआमा हुनुहुन्छ, उहाँहरुको साथमा एउटा सानो भाई मात्रै छ । घरमा बाआमाले खेतबारीमा चुहाएको पसिनाले हाम्रो घर खर्च धान्न सकिन्न । परिवार गरिब भएकै कारण मैले पढ्न पाईन । त्यसैले मैले राम्रो काम पनि पाउन सकिन । कामकै खोजिमा म शहर पसे बाआमाले नजा छोरी भन्दा भन्दै पनि । शहर विलकुल स्वार्थी रहेछ । स्वार्थीहरुको संसार नै शहर रहेछ जस्तो पनि लाग्यो मलाइ । किनभने मैले यहाँ कतै पनि सभ्य मानिने कुनै काम पाउन सकिन । काम खोज्दा खोज्दै म धेरै दिन र रातहरु भोकभोकै काट्न बाध्य भएँ । अन्त्यमा मेरो एक जना बारमा काम गर्न दिदी सँग भेट भयो । उहाँले मलाई बारमा काम गरे कमाई राम्रो हुने सल्लाह दिनुभयो । भोकभोकै भौतारिनु भन्दा त मलाई बरु त्यही काम भए पनि गरुँ जस्तो लाग्यो । यो कुरा छ वर्ष अघिको हो । शुरुवातमा त मलाई साह्रै नरमाईलो घटिया काम गर्न लागेको जस्तो लाग्यो । म एक्लै भएको मौकामा धेरै रुन्थे तर अब त म आदत परिसकेकी छु । कमाई पनि राम्रै हुने गरेको छ । घरमा पैसा पठाई दिन्छु । मैले नै कमाएको पैसाले भाईले निर्धक्क पढ्न पाएको छ ।
उसले कुरा गरिरहदा उसको कुरामा आत्म सन्तुष्टि थियो । मैले एकोहोरो उसको कथा सुनिरहे । बारमा कसैले कसैको मतलब गरेको थिएन तर गाजलुले मलाई आफ्नो दुखद आत्म कहानी सुनाइरहेकी थिई । मलाई ऊ प्रति सहानुभुति पैदा भएको थियो । मैले सुन्दै गएँ उसको कहानी ।
विहे गर्नु भयो त ? मैले जिज्ञासा राखें ।
अँ गरें, श्रीमान ट्याक्सी चलाउनुहुन्छ । एउटा छोरा पनि छ । उसले आफै थप विवरण भनी । मलाई ऊ प्रति थप चासो बढ्यो । अनि सोधें, श्रीमानले यो काम नगर भन्नुहुन्छ ? अहँ, विश्वासको कुरा हो मेरो यो काम प्रति उहाँको गुनासो छैन बरु सहयोग गर्नु भएको छ । आफै मलाई पुर्याउनु हुन्छ । बाह्र बजे तिर मलाई लिन पनि आउनु हुन्छ । मलाई अनौठो लाग्यो । मैले केही बोलिन । बारमा काम गर्दा कति सहज छ त ? मैले उसको कानै नजिक बोलें ।
पटक्कै छैन । ग्राहकलाई रिझाउनु पर्छ । साहुलाई रिझाउन पर्छ । यस्तो ठाउँमा काम गर्ने भनेपछि जोकोहिले पनि तल्लो स्तरको मान्छे भनेर हेला गर्छन् । आज सम्म मलाई कसैले पनि सम्मान पुर्ण भाषाले बोलेन । तर त्यसको मलाई दुःख पनि छैन । तर तपाईले दिदी जस्तै भन्नु भएकोले मैले आफ्नो कहानी तपाईलाइ भनेको हुँ । यहाँ आउने हरेक ग्राहकले अश्लिल भाषा प्रयोग गर्छन् । जर्बजस्ती संवेदनसिल अंग छुन खोज्छन् । सेक्सको लागि जतिसुकै पैसा पनि तिर्न तयार हुन्छन् । उसले आज मन खोलेर आफ्नो पिडा मेरो सामु भनिरहेकी थिई । शायद ऊ यसरी नै श्रीमानलाई यो कथा सुनाउदी हो । मैले सोचें । मलाई उसको कुराले मन छोएको थियो तर म त उसको लागि के नै गर्न सक्थे र फेरी उसलाई त्यो पेसा प्रति अब गुनासो पनि बाँकी थिएन ।
मैले रमेशलाई हेरें । ऊ त्यो केटीलाई किस गर्दै थियो । मैले झपारे जस्तो गर्दैै उसलाई कोट्याएँ । उसँग बसेकी केटी पनि उठेर काउन्टर तिर नै लागि । शायद ऊ रिसाएको थियो मसित । मुख चलाएको देखें तर सुन्न सकिन । अब जाउँ मैले संकेत गरें । ऊ केही बोलेन । गाजलुलाई विल ल्याउन भनें । ऊ काउन्टर तिर हिडी । विल तिरेर आउन लाग्दा बारमा अर्को गीत सुरु भएको थियो । जिन्दगी एक सफर ………………
बारबाट बाहिरिदै गर्दा रमेश म सँग बोलेन वा बोल्न चाहेन । मलाई गाजलुको आत्म कहानीले सोचमग्न बनाएको थियो । म मनमनै गाजलुको बाआमा, भाई अनि श्रीमानको कल्पना गरिरहेको थिएँ ।