केहि वर्ष अगाडि म अफिसको कामले सुर्खेत गएको थिएँ, सुर्खेतबाट काठमाडौं फर्किने समयमा बस काउन्टरमा गएर रात्री बसको टिकट काटेँ । टिकट लिएको २ घण्टापछि बस काठमाडौंतिर प्रस्थान गर्ने तयारिमा थियो, एकजना विदेशी शालिना नामकी अति सुन्दरी केटी पनि एक प्रोजेक्टको कामको सिलसिलामा सुर्खेत आएकी रहेछिन्, उनी पनि काठमाडौं फर्किंदै रहेछिन् । उनी र म एकै बसमा यात्रा गर्ने संजोग पर्यो । मेरो सिट न। ११ थियो र उनको सिट नं. १२ ।
उनी र म सँगै नजिकको सिटमा बस्ने मौका मिल्यो । समयले बेलुकाको ५ बजायो । बस आफ्नो गतिमा काठमाडौंतिर गुड्न थाल्यो । केही क्षणमा बेलुकीपखको रिमझिम गोधूली साँझले स्वागत गरिरहेको थियो । बसमा नारायणगोपालको हृदयस्पर्शी मिठा गीतले निक्कै भावुक मुडमा पुर्याएको थियो । ती सहयात्री सुन्दरीतिर अलिकति कोल्टे नजर गर्दै उनले थाहा नपाउने गरी मेरो नजर पर्दै थियो । बसमा मधुरो लाइट बलेको थियो ।
युरोपियन सुन्दरी केस हल्का बलंडी, ब्लु आई, डिमलाइटलाई नै मात गर्ने उज्याली, पिंक कलरको अति नै मिलेको पातलो ओठ, स्लिम शरीर मेरो मन मस्तिकलाई उनको सुन्दरताले तानिरहेको भान हुन्थ्यो । विपरीत लिंगप्रतिको आकर्षण नै भनुँ मेरो मनभित्र निक्कै काउकुती लागिरहेको थियो १ निक्कै हिक्मतको साथ उनीसँग परिचय गर्ने आँट गरेँ । उनले निक्कै सहज तरिकाले आफ्नो परिचय दिइन् । आइ एम शालिना फ्रम ईटाली । मैले पनि मेरो परिचय दिएँ आइ एम राजेस फ्रम काठमाडौं ।
उनको अति हँसिलो मिठो बोली व्यवहारले मलाई अझ प्रभावित बनायो । समय सन्ध्याबाट कोल्टे फेर्दै राततिर ढल्किँदै थियो । यसो बसको झ्यालबाट बाहिर हेर्दा जुनेली रात, मन्द अँधेरो, बाहिरको दृश्य स्पष्ट देख्न सकिने, ठुलाठुला पहाड, खोलानाला झरना सुसाएको आवाज, एकान्त जङ्गल, बस आफ्नै गतिमा गुडिरहेको थियो ।
मेरो मनमा त्यस बेला शान्त, जुनेली रातको मन्द अँधेरो त्यो सुन्दर प्रकृति, मेरो यात्रामा सहयात्री ती सुन्दरी, त्यो समय मेरो लागि जिन्दगीकै अति मिठो र अनौठो अनुभूति गर्न पुगेको क्षण थियो । त्यतिकैमा केही घण्टा बित्यो । ठाउँठाउँमा कहिले चनाचटपटे त कहिले हरियो पोलेका मकै यात्रुहरुसामू बस रोकेको ठाउँमा उपलब्ध हुन्थे । केही बेरमा गोरुसिंगे आइपुगियो । खाना खानका लागि बस एक घन्टाका निम्ति रोकियो ।
सबै यात्रु खाना खान बसबाट बाहिर झरे । मैले सँगै सिटमा बस्ने ती सुन्दरी साथीलाई सँगै खाना खान आग्रह गरेँ । उनले स्वीकार गरिन् । उनको साथमा खाएको खानाको स्वादको मिठास नै अलि छुट्टै भएको महसुस भयो १ खाना खाइसकेपछि बसमा बस्यौँ । बस फेरि आफ्नै गतिमा गुड्न थाल्यो ।
बिस्तारै उनीसँग खुलेर कुरा गर्न मलाई सहज हुदै गयो । हामी दुवै एकआर्कामा खुलेर गफ गर्दै जाँदा यात्रा अति नै रोचक र रोमाञ्चक हुँदै थियो । ती ठुलाठुला पहाडको उकालीओरालीले बसलाई पिङ खेलाएको जस्तो गरी हल्लाइरहेको थियो । बसले त्यसरी हल्लाएका वेगले हामी दुवैलाई एकअर्कामा छुन साथ दिइरहेको थियो । बस हल्लिएको वेगमा कहिले उनी मसँग टच हुन पुग्थिन् त कहिले म उनीसँग टच हुन पुग्थेँ । जब एकअर्कामा टच हुन्थ्यौँ । मेरो सम्पूर्ण शरीर करेन्ट नै लागेको जस्तो गरी सिरिङ्ग भएर आउँथ्यो । मेरो देशको भौगोलिक अवस्थाले पनि मलाई उनीसँग अझ नजिक बनाउन साथ दिइरहेको थियो ।
मेरो जिन्दगीको पहिलो अनुभव थियो कोही केटीसँग नजिकबाट छोइएको । उनी फरक सभ्यता, संस्कृतिकी भएकै कारणले पनि मलाई निक्कै उनीप्रति कौतूहल जागिरहेको थियो । यात्रा अति नै रोमाञ्चक हुँदा हुँदै नारायणघाट आइपुगियो । मलाई लागिरहेको थियो, यो यात्रा कहिल्यै नटुंगियोस्¸ सधैँ यस्तै रुपमा चलिरहोस् १ रातिको ३ बजिसकेको थियो । मिर्मिरे बिहानीले सङकेत गरिरहेको थियो ।
बस नारायणघाटबाट मुग्लिनतिर मोडिँदै थियो । हामी दुवै एकअर्कामा खुलेर झन् झन् गहिरिँदै थियौँ । उनी पनि निक्कै खुसी थिइन् । हामी दुईको आत्मीयताले सीमा नाघ्दै थियो । बसका सबै यात्रुहरु मस्त निदाएका थिए । वातावरण सुनसान थियो । बसमा हामी दुई मात्र जागा थियौँ । मेरो जीवनको पहिलो अनुभव भएकाले म निक्कै आफैँ लजाइरहेको थिएँ । उनी पश्चिमा सभ्यतामा हुर्केकी भएकाले कुनै अप्ठेरो नमानी उनले मलाई अँगालोमा बाँध्न सफल भईन् । हामी दुवै एकापसमा अँगालोमा बाँधियौँ । छुँदा पनि मयल लाग्ला जस्तो उनको त्यस सुन्दर शरीरको एकएक गरी स्पर्श गर्दै, उनका ती लाजको पर्दाभित्र मेरा हातहरु सल्बलाउँदै थिए । अति नै मिठो चुम्बनसँग हराउँदै थियौँ । यसो उनको मायालु मुहार निहालेर हेर्दा निक्कै प्यासी देखिन्थिन् । अति नै आनन्दको क्रम जारी नै रह्यो समय बितेको पत्तै भएन ।
यतिकैमा थानकोट चेकपोस्ट आइपुगिएछ । उज्यालो भइसकेको थियो । बिहानीको सूर्यका किरणले स्वागत गर्दै थियो । केही क्षणमै काठमाण्डौ बसपार्क आइपुगियो । उनको केही दिनका लागि काठमाण्डौ बसाई थियो । उनको र मेरो दिन प्रतिदिन भेट हुने क्रम जारी नै रह्यो । म उनको प्रेममा चुर्लुम्म डुब्न पुगेँ । उनको साथमा मेरो अति नै रंगिन समय बित्दै गयो ।
मेरो कुमारपन उनकै प्रेममा गुमाउन पुगेँ । उनीदेखि टाढा रहने मलाई कल्पना गर्न पनि गारो हुँदै थियो । तर के गर्ने उनी आफ्नै देश फर्किन चाहन्थिन् । के गर्नु जिन्दगी चाहेको जस्तो कहाँ हुन सक्थ्यो र रु केही दिनको अति नै मिठो, अति नै रोमाञ्चमय समय मसँग बिताएपछि उनी इटाली फर्किने दिन पनि आइपुग्यो । म पनि सँगै उनलाई एर्पोटसम्म पुर्याउन गएँ । उनीसँग बिछोड हुने चिन्ताले मलाई सताइरहेको थियो । करिब २ घन्टा एर्पोटमै हामी दुवै सँगै रह्यौँ । शालिनाका गहभरि आँसु बगिरहेका थिए । उनलाई पनि मसँग बिछोड भएर जानु त्यति सहज थिएन । हामी दुवैमा नजिकिएको वियोगान्तक समयले पीडा र निराशा छाइरहेको थियो । दुवैका आँखाबाट वर्षाको भेल बग्दै थिए ।
के गर्ने जिन्दगी मिलनपछिको बिछोड हो भनेर स्वीकार गर्नै पर्ने रहेछ । यतिकैमा उनी जाने प्लेन उड्न रेडी भयो । हामी दुवै अँगालोमा बाँधिएर छुट्टियौँ । प्लेनभित्रको झ्यालबाट उनी हात हल्लाउँदै थिइन् । प्लेन गन्तव्यतिर उड्यो ।उनी इटाली फर्केपश्चात् आज फेरि मेरो जिन्दगीले मलाई एक्लो बनाएको छ । यस सहरको कोलाजमा एक्लो हराएकोछु । उनका यादहरु मानसपटलमा घुमिरहेका छन् । कैयौँ रातका निदहरु हराएका छन् । उनीसँग बिताएका ती रङ्गिन क्षणहरु मेरासामु झल्किरहेका छन् । उनको त्यो सुन्दर मुहार मेरो दिलभित्र गडेर आँखासामु घुमिरहेको छ ।
मेरा हरेक कल्पनाहरुले उनको हरेक ती सुन्दर अङ्गहरुको स्पर्श गर्दै छन् । उनीसँगको छोटो भेटले धरातलको गहिराइभित्र डुबाइदिएको छ । पानीविनाको माछोजस्तो छट्पटाउदैँ छु । ड्रगको अम्मली भएकोजस्तो भान हुन्छ । आफैँले आफूलाई सम्हालेर सम्हाल्न असम्भब भएको छु । खै प्रेमको अमृत पिएँ कि, प्रेमको जहर पिएँ खै के पिएँ, उफ वियोगको अति जटिल समयलाई सामना गर्दै छु ।
(स्रोत : Biswokhabar)