~गौरी मल्ल~
“ बस अब पुग्यो आमा , अब अरु सहने क्षमता म मा छैन .. मलाई मृत्यु देउ आमा ss … मलाई मृत्यु देउ sss मृत्यु देउ sssमृत्यु देउ sss….”
उ धर धर बलिन्द्र आसुँ बहाउँदै आफ्नो पूजा कोठामा देवी कालीको मुर्ती अगाडी भक्कानो फुट्ने गरी आफ्नो लागि मृत्यु मागिरहेकी थिई । काली मा उस्को अगाडी रातो कालो जिभ्रो बाहिर निकालेर भयँकर दर लाग्दो रुपमा पनि मन्द मन्द मुस्कुराइ रहे झैं देखिरहेको थियो ।
दमयन्ति , हो उ दमयन्ति थिई । सुन्दर शुशिल । दया करुणाले ओतप्रोत उस्को स्वाभव । सायदै कोइ एस्ता मनिषा होलान उन्को ओरिपरी जो उस्को गुणगान नगरुन् । उनी थिईन पनि तेस्तै । कसैको लागि पनि नराम्रो सोच्ने उस्को स्वभाव नै थिएन । कसैले भुल बस , नादानीमा अथवा जानी जानी पनि उस्को मन दुख्ने कुरा भनेकै छ भने पनि उनी तेसलाई सामान्य रुपमा लिने गर्थिन र क्षमा गरेर अगाडी बढ्ने गर्थिन ।
सानै उमेर देखी माग्ने , साधु सन्त , महात्मालाई दया तथा आदर गर्ने गर्थिन । पूजा अराधना त उस्को सँस्कार मै थियो । “जीवन भनेको एउटा युद्ध को मैदान हो जहान हामी हरेक दिन कुनै न कुनै युद्ध लडी रहेका हुन्छौं र यो युद्धबाट हामी मृत्यु पर्यन्त मात्र विजय प्राप्त गर्न सक्छौं ” भन्ने सोच थियो उस्को । जे कुरा गर्थिन बडो तन्मयता को साथ गर्थिन । जीवनको कुनै पनि दु:ख या आपद सँग भाग्दिन थिईन , डेटर सामना गर्थिन तर भन्नै पर्दा २ कुरा सँग भने हमेशा डराउँथिन एउटा सर्पो अनी अर्को भुत । उस्लाई मरेको सर्पो देख्यो भने पनि कहालिने बानी थियो । यो देखेर उस्का साथी भाई उस्लाई मज्जाले जिस्क्याउने गर्थे । भुत , भुत उस्को लागि एक मात्र यस्तो शब्द थियो जस्को कल्पना मात्र पनि उस्को दिमागमा आयो भने पनि उ कोठाबाट बाहिर निस्केर भाग्ने गर्थिन चाहे त्यो समय दिनको मध्यान्न को नै किन नहोस् ।
दमयन्ति एकदम सुन्दरी थिईन तर उस्मा आकर्षण भने पक्कै थियो । सानै उमेर देखी उ सँग पशु पंक्षि लगायत प्रकृतिका बिभिन्न कुराहरु आफसे आँफै खिचिएर उनिसामु आउने गर्थ्यो । त्यो देखेर बेला बेलामा उनी आफ्फै पनि छक्क पर्ने गर्थिन तर फेरी तेस कुरालाई सामान्य नै होला भनेर पनि सोच्ने गर्थिन ।
दमयन्ति नर्स बनेर दुनियां को सेवा गर्न चाहन्थिन तर शायद उसको भाग्यमा अरु नै केही बन्न लेखिएको थियो । दमयन्ति बनिन अभिनेत्री । नेपाली चलचित्र कि अभिनेत्री । सुन्दरताको अभाव रहे पनि आकर्षण र अभिनयको जादु चल्न समय लागेन । उ एक शिखर कि अभिनेत्री बनिन । सबैको माया पाइन् । अभिनय उस्को नशा नशा मा थियो । सबै उस्को अभिनयको कायल थिए । सिधासाधा जीवन बाँच्न मन पराउने उनी सानो सानो कुरामा पनि औधी खुशी हुने आदी थिईन । उस्ले जीवनमा एक छाक र एक जोडी लुगा बाहेक त्यस्तो कुनै सपना सँगलिन जुन प्राय मानिसहरु सँगाल्ने गर्छन् ।
जवानी एउटा यस्तो अवस्था हो जहान जस्को पनि जीवनमा कहिं न कहिं कोही न कोही आउने गर्छ । प्रेमका नयाँ नयाँ अँकुर फुट्ने गर्छ । दमयन्ति पनि यस् प्राकृतिक नियम बाट अछुतो रहन सकिनन । उस्को जीवनमा पनि कोही आयो जस्लाई उस्ले तन मन धन ले समर्पण गरी आफुलाई । जसलाई प्रेम गरी उसैलाई पतिको रुपमा अननाइ । भाग्यले ठगिएकी दमयन्ति , जस्लाई आफ्नो तन मन धन आत्मा सबै सुम्पेकी थिईन उ एक चतुर अनी धुर्त प्राणी थियो । रक्सी पिउनु उस्को सौख , झुठ बोल्नु उस्को प्रकृती । पैसा न को बराबर कमाइ ।
रक्सी पिउछ , कमाइ थोरै छ , यो कुरा बाट दमयन्ति अनभीज्ञ थिईन तर उस्ले सोचेकी थिई जिम्मेवारीले मानिसलाई सबै कुरा सिकाउछ र राम्रो बाटो तर्फ उन्मुख गराउँछ । दमयन्ति यही सोचमा मार खाइन । कुकुरको पुछ्छर जस्तो स्वभाव रहेको मानिस् बदल्न सकेन । उनी झनझन दुखी हुँदै जान थालिन । घर , समाज परिवार , साथी भाई , चाडपर्व दैनिक ब्यबहार अनी एक्लैको जिम्मेवारी । बिवाहमा जम्मा भएका गरगहना पहिल्य नै पतिदेवको लापरवाहिको शिकार भैसकेको थियो । जीवन धान्न कत्ती गाह्रो छ त्यो उस्ले बाहेक अरु कस्ले बुझ्ने ।
जसोतसो उनी जीवन सँग सम्झौता गर्दै आफ्ना पीडाहरुलाइ बटुल्दै अगाडी बढीरहेकी थिईन । अचानक उस्को जीवन एउटा अर्को हलचल मच्चियो । जुना लोग्ने लाई उसले जस्तो सुकै परिस्थितीमा पनि सम्झौता गरी हिडिरहेकी थिईन , उस्लाई थाहा भयो कि उस्को अर्को प्रेमिका छ जो दुई जिउकी छ । यो समाचार उस्को लागि कुनै प्रलय भन्दा कम थिएन । अब त सबै कुराको पराकाष्ठा नै भएको थियो । उ भागेर कतै एकान्तमा बस्न चाहन्थी । जिन्दगी सँग दुश्मनी जस्तै भैसकेको थियो । उस्ले निर्णय लीइ कि अब बस अरु सहन सकिन्न म अब यो मानिसबाट अलग हुन्छु । उस्ले भनी अब हामी अलग हुन ठीक हुन्छ तर त्यो प्राणी एकदम चतुर थियो । तर अब सहनशिलताको पराकाष्ठा नाघिसकेको थियो तर पनि उस्ले केही बोलिनन तर मन्मनै अठोट गरी कि समय आए पछी यो पापीबाट मुक्त हुन्छु । जत्ती जत्ती उ त्यस ब्यक्तिलाई देख्ने गर्थिन उती उती आफु भित्र तिब्र पीडाको उठेको महशुश गर्थिन ।आफुले मन पराएर गरिएको विवाह भएको हुनाले चाहेर पनि आफ्नो ब्यथा उ कसै सामु ब्यक्त गर्न असमर्थ थिईन ।
एकदिन यही अब्यक्त दर्दको गाँठो उस्का शरीरमा ट्युमर बनेर देखा परे । उसले आफ्नो रिपोर्ट एकजना हितैषी मित्रका सहयोगले बिदेश को एउटा अस्पातलमा पठाइन जहां बाट उस्लाई क्यान्सरको रिपोर्ट पठाइयो तर जस्तो कि उनी सबै कुरा मनमा दवाएर बस्ने आदी थिईन , यो कुरा पनि दवाइन । जिउने आशा पट्टक्कै उ भित्र थिएन तर उसको दु:खको अन्त यहाँ कहाँ सकिएको थियो र ? उसले आफ्नो अप्रेशन गरिन मात्र थोरै मानिसहरुको जानकारीमा । त्यती बेला उस्ले अर्को एउटा कुरा सिकी जिन्दगीको कि जिम्मेवारीले मानिसलाइ चाहेर पनि मर्न दिदैन ।
अप्रेशन पछी उस्ले एउटा निर्णय लीइ कि अब मैले यो हरेक दिनको पीडा बाट मुक्त हुन आवश्यक छ । जती जती उस्को लोग्ने उस्को सामुबाट हिड्थ्यो उती उती उस्को हृदयमा तिब्र ब्यथा उर्लेर आउने गर्थ्यो । सोच्ने गर्थिन ‘उफ्फ , यो त्यही मानिस हो जसलाई मैले प्रेम गरेँ , विवाह गरे , हरेक सम्झौता गरे अनी आज मलाई नै यसले धोखा …. ‘ । दमयन्ति यो पीडा बाट निस्किन चाहन्थिन । आफ्नो मिल्ने साथी सँग एकदिन सल्लह गरिन । “म यो जीवन देखी थाकिसके , यो मानिसबाट मुक्त हुन चाहन्छु ” । उस्को साथी समझदार् थीइन । उस्लाई राम्रो सँग सम्झाउदै भनिन ‘ तिमी आफ्नो जीवनको मालिक हौ । तिमीलाई सहि गलत सबै थाहा छ । यहाँ सम्म तिमीले आफुले सके जती गरिसक्योउ अब तिमीले आफ्नो लागि बान्च्ने मौका पनि पाउन पर्छ । तिमी जे गर्छौ मलाई विश्वाश छ तिम्रो लागि राम्रो गर्छौ । ‘ उसले निर्णय लीइ सकेकी थीइन ।
फोन गरेर लोग्नेलाई घरअंा बोलाइन र भनिन कि ‘ आज बाट हाम्रो बाटो अलग भयो । तिमी आफ्नो जिन्दगी बाँच , म आफ्नो जिन्दगी बाँच्नेछु । जाउ तिमीले दिएका हरेक पीडा बाट मुक्त गरिदिये मैले तिमीलाई । तिमी प्रती कुनै रिसराग छैन मेरो , माफि दिन्छु जाउ । ‘
एउटा लोग्ने मानिस आफ्नो श्वासनी लाई रिसको झोकमा या आफुलाई इछ्या लागेमा जे पनि भन्न या गर्न स्वतन्त्र छ तर , यदी कुनै श्वासनीले लोग्ने लाई ‘ जा म आज बाट तलाई छोड्छु ‘, भन्यो भने उस्को अहमले कसरी सहन सक्थ्यो । आखिर पुरुष थियो उ । उस्को पनि सहने त कुरै थिएन । प्रकृतिले पुरुष जो बनाएर पठाएकी थीइन ।
एक हाथ झापड् नराम्रो सँग दमयन्तिको मुखमा बज्रियो । दमयन्ति मुसुक्क मुस्कुराइ । त्यो मानिसको नामर्दपन देखि आज उसलाई वास्तव मै ब्यङ आईरहेको थियो मनमनै । दमयन्तिले न त विरोध गरिन न केही भनिन् बस उभिएर त्यो थप्पडको पीडा भुलेर अगाडिको मानिसको आँखामा आँखा जुधाएर हेरिरहिन । सायद त्यो मानिसलाइ दमयन्तिको यो रुप अप्रत्यासित लाग्यो । रिस र अपमानको झोकमा बोल्न थाल्यो त्यो पापी ” कसरी छोड्न सक्छस तँ मलाई ??? यो हुन नसक्ने कुरा …. कसरी दिन्छस मलाई डिभोर्स् ? तेरो लागि सजिलो कुरा हैन बुझिस ? त भनेको कलाकार होस् तेरो कुरा साराले थाहा पाउँछ … जहाँ सम्म म तलाई चिन्छु तँ कदापी यो चाहन्नस कि तेरो चर्चा अनाबश्यक रुपमा फैलियोस … , आउँलाइ हेर , कस्ले बिहा गर्छ तलाई ? बेज्जत गर्दिन्छु म तेरो …. ” झन झन ठुलो स्वर हुँदैथ्यो तेस्को । ” म तलाई कुनै हालत मा पनि छोड्दिन बुझिस …????? ” दमयन्ति माथि जाइलाग्यो त्यो जनावर् र यो तेही पल थियो दमयन्तिले आफ्नो दाँया हातको पन्जा उठायर तेसलाई भनिन् ” बस् .. अब अरु सहन्न , मैले तलाई यहाँ तेरो थप्पड् खान र म के गर्न सक्छु के गर्न सक्दिन भनेर सोध्न बोलाएकी हैन । आफुले गरेको निर्णयको नतिजा सुनाउन बोलाएको हो । मलाई जे भन्नु थियो मैले भनिसके अब अलिकती पनि आफुमा लोग्ने मानिस हुं भन्ने बिचार बाँकी छ भने यहाँ बाट गैहाल । अरु अब मलाई के हि भन्नु छैन “।
त्यो निस्केर गयो अपमान र रिसको आगो आफ्नो मनमा बोकेर ।
त्यो दिन पहिलो पटक निस्केको आफ्नो निश्वास मा उसले सन्तोषको श्वास कस्तो हुन्छ महशुश गरिन । बाँच्नको लागि जीवन चिन्तामुक्त हुन कत्ती आवश्यक छ त्यो उसले अहिले बुझ्दैथीईन । एकनजर आफु उभिएको झ्याल बाहीर फ्याकिन । झ्याल बाहीरको रुखमा चराहरु आ -आफ्नो बासमा फर्केर हल्ला गर्दै थिए । एक्छिन उ त्यो द्रिश्य हेरेर टोलाइरहिन । भोली बिहान यो चराहरु फेरी आफ्नो आफ्नो गन्तब्य लिएर उड्नेछन् … मैले पनि भोलिबाट आफ्नो गन्तब्य खोज्नुछ … सोच्न थालिन् दमयन्ति । दमयन्ति बलियो आत्मबल भएकी नारी थिईन । अभिनय उस्को प्रिय कुरा भएर पनि यो क्षत्रबाट टाढा कतै एकान्तमा बस्ने निर्णय लिईन । उसलाई थाहा थियो जीवनको यो लडाईं सिर्फ उस्को हो । न कोइ पहिला उ सँग थियो न कोही पछी उ सँग हुन्छ । यो निर्णयमा उस्का केही नजिकका मित्रहरुले बिरोध गरे पनि, उस्ले ठानिसकेकी थिईन , जे गर्नु थियो त्यही गरिन ।
जिन्दगी एकफेर फेरी शुन्यबाट शुरु हुँदैथियो उस्को तर उ यो शुन्य बाट एकदम खुशी थिईन । यहाँ उसलाई कुनै कुराको चिन्ता थिएन । आफ्नोपनको रानी थीइन । सानो तिनो मुश्किललाई उ वास्तव मा मुश्किल नै ठान्दिन थिईन । उस्को काम अनी उस्को एकाकिपन नै उस्को जिउने साधन जस्तै भैसकेको थियो । एकदिन कसैले उसलाई एउटा अचम्मको खबर सुनायो जसको उसले कल्पना सम्म पनि गरेकी हुन्न । फोनमा कोही उसलाई भन्दैथियो ” दमयन्ति तिम्रो बारेमा यहाँ ठुलो षड्यन्त्र हुँदैछ … । ” उसलाई हाँसो उठ्यो । हाँस्दै भनिन् ” म जस्तो सानो तिनो मानिस सँग कस्लाई के को डर र षड्यन्त्र हुन्छ हम ? ” तर अगाडिको मानिसको स्वरमा चिन्ता थियो ” हाँसो को कुरा हैन दमयन्ति , तिम्रो भुतपुर्व पतिको घरका मानिसहरु एकजना जान्ने मान्छे कहाँ तिम्रो फोटो लिएर पुगेका छन् । मलाई तिनिहरुको नियत राम्रो लागेको छैन । आफ्नो बिचार गर तिमी … । ” दमयन्तिले भनिन् “सायद घरका मानिसहरु हामीलाई मिलाउन चाहन्छन होला तर यो सम्भव छैन अब । छिट्टै मेरो हातमा कानुनी सर्ठिफिकेट पनि आउँदैछ । अदालतले मेरो हकमा मुद्द छिनिसक्यो । ” दमयन्तिको स्वरमा खुशी थियो । ” तर पनि … मैले जे अनुचित ठाने तिमीलाई भने , अब तिम्रो विचार … ” उस्ले फोन राख्यो । दमयन्ति एकछिन सोचमग्न त भैइन् तर फेरी सामान्य भएर टाउको झट्काइ बाहीर निस्किन ।
दिन फेरी सामन्न्य गुज्रिन थाले । एसै क्रम मा एकदिन जब उ काम सकेर घर आउंदै थिईन । उसलाई कता कता डर लागे जस्तो भान हुन थाल्यो । समय तेस्तइ रातिको ११ जती बजेको थियो र यो समय उस्को लागि घर फर्किने समय नै थियो । सधैं हिंड्ने बाटो , आज किन डरलाग्दो महशुश हुँदैछ भन्ने बिचार आउन थाल्यो उस्को दिमागमा । खुट्टाको चाल अन्य दिनहरुमा भन्दा अली छिटो छिटो अगाडि बढ्न थाले । रातिको समय , सुनसान त एसै पनि हुन्छ सडक तर येत्रो महिना सहज लागेको बाटो अचानक किन बिना कुनै कारण डर लाग्दो भैराको छ ? सोच्दै घर पुगिन उनी । घरको ढोका उघार्ने बित्तिक्कै हत्त न पत्त ढोका बन्द गरेर लामो लामो सास लिना थालिन् मानौ कोही भित्र छिर्ने छ यदी उस्ले ढोका बन्द गरिन भने … ?
आफ्नो मनको डर आफु सँग नै राखिन दमयन्तिले । सामान्य रुपमा नै लिईन । “मानिसको मन नै त हो , कहिले काही डर पनि लाग्न सक्छ अचानक … ” भन्ने सोचेर काम मा हिडिन् भोली पल्ट । भोलिको दिन कामको व्यस्तताले हिजो रातिको कुरा बिर्सी पनि सकेकी थिईन उनले तर सायद उस्ले बिर्सें पनि अरु कसैले बिर्सेंको थिएन ।
सदा झैँ उनी काम बाट फर्किने क्रम मा फेरी उही बाटो नेर आईपुगिन र अप्रत्यासिलो तरिका ले फेरी उही डर उ भित्र महशुश हुन थाल्यो । दमयन्तिले चारै तिर नजर घुमाइन तर उसलाई झम्टिने , तर्साउने या कुनै डर लाग्दो कुरा केही पनि देखिनन् । मनको भ्रम पनि डर भन्दा पनि डर लाग्दो हुन्छ । सोच्न थालिन् दमयन्ति तर यो सोच उ बाट बेपत्ता हुन एक सेकेन्ड पनि लागेन । हुऋदै घर भये तिर दौडिन लागिन उनी । कसैले उस्को कान नेर आएर फुस्फुसाएको थियो । त्यो के थियो उस्लाई थाहा छैन तर त्याहा उभिएर बस्ने हिम्मत उस्मा थिएन । अघिल्लो राती झै कोठामा पुगेर ढोका लगाएर लामो लामो सास फेर्न थालि उ । अचम्म लागिरहेको थियो उस्लाई । सधैं हिंड्ने बाटो , सधैं निर्भय भएर हिड्थीन । कोही बेला अरु मानिस हुन्थे कोही बेला हुन्नथिए तर यसको अर्थ त्यो ठाउँ या त्यो बाटो कुनै अर्थमा पनि डर मानेर हिंड्नु पर्ने भने थिएन । दमयन्तिको मनमा कैयन प्रश्नहरु आउने जाने गर्न थाले । कुन बेला निदाइ पत्तो भएन । भोली पल्ट त्यही क्रम दोहरियो अनी पर्सी पनि । अब यो क्रम निरन्तर बाध्न थाल्यो । जुन बेला उ त्यो बाटो मा आईपुग्थिन उस्को त्रासको सिमान हुन्न थियो । एकदिन त यहाँ सम्म भयो कि पानी झम झम परिरहेको थियो । उ सँग छाता पनि थिएन दुर्भाग्यबस । जुन बेला उ त्यो ठाउँमा पुगी उस्को सतो पुत्लो पहिल्य नै उडिरहेको थियो तेसमाथि बिजुलीको चमक अनी आकाश को गड्गडाहटको साथ हावाको सर्सराहट ले अझ आगो मा घ्यु थप्ने कार्य गर्यो । उस्का आँखा बाट झरझर आसुँ बग्न थाले । के गरु न के गरुको स्थिती मा पुगिन उनी । फर्केर जाउँ या घर तिर जाउँ । घर सिर्फ ७ मिनेटको बाटो थियो । त्यो ७ मिनेट उस्को लागि यती बेला ७ जूनि जस्तइ भैरहेको अवस्था थियो । त्यही बेला बिजुलिको चमक सँगइ उस्ले तलतिर बाट कोही साइकलमा एउटा सवार आईरहेको देखिन । उसको हृदयमा अलिकती आशा पलायो सुरक्षाको । जुन बेला त्यो साइकल सवार उसको नजिक बाट गुज्रियो उ पनि अन्धाधुन्द त्यो साइकलको क्यरियर समातेर पछी पछी दगुर्न थालिन । पानीको थोपाले उस्को मुखमा कत्ती पटक हिर्कायो उस्ले ठम्म्याउने कोशीश सम्म पनि गरिनन । साइकल सिधा लाग्नुथियो शायद । सिधा बाटो तिर लाग्यो उनी भने बाँया तर्फ मुडिन जहाँ उस्को घर थियो तर आकाशको बिजुली चम्के जस्तै उस्को दिमागमा एउटा कुरा चम्क्यो कि ‘ म एस्तरी सँग सँगइ दौडिदा पनि त्यो मानिसले मलाई किन दौडेको या अरु कुनै प्रश्न नै गरेन । के उस्ले मलाई देखेन ? मैले साइकलको क्यारियर समाएको पनि चाल् पाएन ? दौडिदा मेरो जुताको आवाज त पर पर सम्म पनि गुन्जिरहेको थियो ..? ‘ जे भए पनि साइकल सवारलाई धन्यवाद दिन पर्छ भन्दै एक पाइला अघी मात्र के सरेकी थियिन फेरी स्तब्ध हुन पुगिन … । त्यहाँ कोही थिएन । न साइकल न साइकल सवार । त्यो बाटो यत्ती सिधा थियो कि कमा से काम कोही मुडी हाल्न चाह्यो भने पनि ३ मिनेट त लाग्थ्यो नै । सायद त्यो रुममा भगवान नै आएको थियो मेरो मद्घत को लागि । सोच्दै उनी कोठा तर्फ लागिन ।
भगवान सँग पनि सधैं कहाँ फुर्सद हुन्छ एउटै मानिसलाइ मद्घत गरिरहन । उसलाई आउनु थिएन , आएन । आफ्नो डर अनी त्रास सँग पुनह एक पटक एक्लै जुध्न थालिन् दमयन्ति . यो क्रम घट्दो थिएन बरु बढ्दै थियो . आज भन्दा भोली , अनी भोली भन्दा पर्सी .. . घरमा जो उस्को प्रिय सँगी थिईन उनी भरसक दमयन्ति लाई सोही समय मा फोन गरेर उस्को ध्यान आफु तिर आकर्षण गर्ने प्रयत्न गर्थिन तर एक दिन हैन दुई दिन हैन दमयन्ति स्वयम यो दिनचर्या बाट हैरान भैसकेकि थीइन . साथीलाई पनि अब फोन नगर तिमी सुत समयमा भनेर सम्झाइन । यो समस्या निरन्तर ३ महिना चल्यो । ३ महिना एउटा साधारण केटीको लागि यो समस्या झेल्नु साधारण कुरा पक्कै थिएन तर हरेक कुराको समाधान कही न कही हुन्छ सायद । एकदिन आफ्नी बहिनी सँग उनी फोनमा वार्तालाप गर्दै थिईन । उनी हमेशा आफ्ना समस्याहरु लुकाउने आदी थिईन तर कुन कुराले प्रेरित गर्यो खै त्यो बेला उनिलाई , उनी सबिस्तार आफ्नो ३ महिना देखी झेलिरहेको कथा सुनाउन लागिन । बहिनीले चुपाचाप उस्को सबै कथा बिस्तारमा सुनिन र अन्तमा भनिन । ” ल डराउन पर्दैन , यहाँ एकजना बाजे छन । बच्चाहरुलाई केहि भयो भने आएर झारफुक पनि गर्दिन्छन । म भोली बोलाएर राखुँला अनी तिमी सँग कुरा गराउँला नि त । दमयन्तिले हुन्छ त भनिन तर सोच्न थालिन् कि बच्चाहरुलाई झारफुक गर्ने ले मेरो समस्या के ठीक पार्देला ? तर पनि नहुनु मामा भन्दा कानो मामा जाती भने झैँ चुप लागेर पर्खिनु सिवाय केही छैन भनेर भोलिको प्रतिक्षा गर्न थालिन् ।
भोली पल्ट बिहानै बहिनीले दिएको समयमा दमयन्तिले फोन गरिन । बहिनीले भनेको बाजे फोनकै प्रतिक्षामा रहेछन । बहिनीले ” कुरा गर्नुस ” भनेर बाजेलाई फोन दिईहालिन । बाजेले ” हलो .. म फलाना बोलेको , हजुर दमयन्ति नानी हो हजुर ? ” भनेर भने । दमयन्ति एकछिन बाजेको औपचारिक कुरा मा मुसु मुसु हाँसिन । ” हजुर म बोल्दैछु , हिजो बैनिले भनेकी थीइ … ” हजुर म नै हो , दमयन्तिको कुरा बिचमै काटिदिए उनले ।
अनी के भयो रे हजुर … अली अली त सुनेको हजुरको बहिनिज्यु बाट … ” शायद दमयन्ति को मुखबाट फेरी सुन्न चाहन्थ्यो बाजे । दमयन्तिले एकफेर फेरी बिस्तार लगाइन । सबै कुरा सुनी सके पछी बाजे ले बडो आनन्द सँग भने । ” ए ल ठीक छ , डराउन पर्दैन .. मैले कुरो बुझेँsss भोली बिहान खाली पेटमा म हजुरलाई फुकिदिन्छु । तयार भएर बस्नुहोला हजुर “। आफुलाई पहाड जस्तो भैरहेको कुरालाई बाजेले साधारण तरिकाले लिएकोमा दमयन्तिलाइ खासै चित्त भने बुझिरहेको थिएन तर पनि ‘ हुन्छ भोली फेरी कुरा गर्नेछु ‘ भनेर फोन राखिदीईन ।
जस्तो की सल्लाह भए अनुसार फोनमा एकपटक फेरी कुरा भयो बाजे सँग । त्यो दिन बाजेले जस्तो जस्तो गर्न भने दमयन्ति यन्त्रवत गर्दै गईन । सबैभन्दा पहिला बाजेले धुप बाल्न लगाये अनी शरीरमा पानी छम्किन लगाये । फोनलाई दमयन्तिले बाजेको निर्देशानुसार स्पिकरमा राखेकी थिईन जस्ले गर्दा फोन समाइरहन परेको थिएन । अब बाजेले खरानीको टिका लगाउन भने । दमयन्तिले उसै गरीन । तेसपछी बाजेले फोनलाई आफ्नो टाउकोमा लगेर राख्न भने । दमयन्तिले पनि सोही गरीन । वास्तवमा उ सँग यती बेला अरु कुनै बाटो पनि थिएन । जसले जे गर भने पनि गर्नु पर्ने परिस्थितीमा आफुलाई पाइरहेकी थिईन ।
बाजेले उस्ले फोन टाउको मा राखेकी राखिन एकफेर फेरी दोहराएर सोधे ” हजुरको टाउकोमा नै राख्नुभाको छ हगी नानी फोन ?” ” हजुर मैले टाउको म रखिसके , अब के गरु ? ” सोधिन उनिले । ” केही गर्न पर्दैन , अब एक्छिन एसरी नै फोन टाउकोमा राखम अनी म भन्छु नि हजुर …. ” । दमयन्तिले हस भनेर चुप लागिन् । तेसपछी बाजे केही भट्भटाउन लागे । दमयन्ति चुपचाप सुनिरहिन । लगभग ३ ४ मिनेट जत्ती भट्भटाए पछी उनिले सुनिन बाजे फु फु गरेर फुक्दैछन् । फुकिसके पछी बाजेले ” ल हजुर , अब टाउका बाट फोन हटाउँदा हुन्छ हजुर । ” दमयन्तिले फोन हटाइन् उनी केही बोल्न त खोज्दैथिईन तर बाजेले बिचमै बोलिहाले ” अब केही डर मान्नु पर्दैन हजुर , अब आजै बाट हजुरलाई केही डर सर लाग्दैन । नभए हजुर आफै बिचार गर्नुहोला । ” बाजेको आत्मबिश्वास आफ्नो ठाउँमा थियो अनी दमयन्तिको डर आफ्नो ठाउँमा … । एउटा प्रश्न मन खेलिरहेको थियो दमयन्तिको उनले झट्ट सोधिहालिन् ” बाजे , खास कुरा के हो ? किन अचानक एस्तो भयो मलाई ? फेरी त्यही ठाउमा मात्र किन? को हो ? के हो ? मलाई भन्नुस् न … मैले त केही बुझ्न सकिन … “
” अब किन सबै कुरो बुझ्न पर्यो र हजुर ? मुख्य कुरो भनेको हजुर लाई अब अप्ठ्यारो नपरे भैहाल्यो … जो जस्तो भए पनि मैले भगाई सकेँ , अब हजुर ढुक्क हुँदा हुन्छ हे हे हे … ” बाजेको कुरा अनी उस्को आत्मविश्वास माथि शंका गर्नु की विश्वाश गर्नु जस्तो मनस्थिती थियो उस्को ।
बाजेलाई धन्यवाद दिन भुलिनन दमयन्ति । मन मनै गम्न थालिन ‘हेरौं भरे के हुन्छ … ? ‘ भरेको अनुभव खास उल्लेखनिय रहेन उस्को लागि कारण – जहाँ पुगेर उस्को सातो उड्ने गर्थ्यो शरीरबाट निचोरेर कसैले रगतको थोपा थोपा निकालेको जस्तो हुन्थ्यो त्यो बाटोमा आज उ एक्लै थिईन अन्य मानिसहरु पनि हिडिरहेका थिए । केही मानिस उनी अघी अनी केही मानिस उनी पछी । आजको अनुभव सामान्य रहन पुग्यो । एक मनले खुशी थिईन उनी , मनिसको भिडमा आफ्नो डर भुलेर हिंड्न सकिन भनेर । कोठामा पुगेर भोली पनि यस्तै मनिसको भिड रहोस् भगवान भन्दै निदाउने कोशीश गर्न थालिन् ।
मुख्य परिक्षा आज थियो उस्को लागि । कामबाट हिड्दै आधा त मरिसकेकी थिईन उनी । ” हे भगवान एक्लै हिंड्न नपरोस … एक्लै हिंड्न नपरोस … ” भन्दै प्रार्थना गर्दै बस बाट ओर्लिन र हिंड्न थालिन् । छ सात पाइला हिड्दै बुझिन की जत्ती प्रार्थना गरे पनि आज यो सात मिनेटको बाटो एक्लै तय गर्न छ उफ्फ … सोच्दै अगाडी बढ्न थालिन् । उस्को जुत्ता को आवाज त्यो सुनसान सडकमा गुन्जीरहेको थियो । उ पहिले को जस्तै हिडिरहेकी थिई । सडक उही थियो , समय उही थियो , बातावरणमा सुनिने आवाजहरु पनि उस्तै थिए जस्तो पहिला पहिला सुनिन्थ्यो र उ त्येसमै आनन्द उठाएर हिंड्ने गर्थिन कुनै समय , सबै भन्दा उल्लेखनिय कुरा त यो की , उ स्वयम पनि उही नै थिईन । दमयन्ति एसरी हिडिरहेकी थिईन मानौ यो तीन महिनाको बिचमा उ माथि कुनै संकट नै थिएन । मानौ उनिले त्यस्तो अनुभव सपनामा पनि गरेकी थिईनन् । उनिलाई आफै माथि विश्वास लागेन । एकछिन रोकिएर चारै तीर हेरिन । मानौ बाक्लो तुवाँलो हटिसकेको अवस्था छ या मानौ कुनै भयँकर डरलाग्दो सिनेमा हेरेर घर तिर फर्किने क्रममा छ … । उस्ले आफ्नो टाउको हैन यो हुनै सक्दैन भन्ने भावमा दाँया बायाँ हल्लाइन र अगाडी बढीन । मनमा बाजेको स्वर गुन्जिरहेको थियो । ” जे जस्तो भए पनि मैले भगाईसकें .. अब हजुर ढुक्क हुँदा हुन्छ … “
(स्रोत : Gaurimalla.us)