~सुधा एम. राई~
आजकल
दिनप्रति दिन बढ़्दै गइरहेको आफ्नै पेट छाम्दै
अन्योलताहरूसित गुम्फित
त्यो क्षितिज हेर्दै
म टटोलिरहेछु।
म बलात्कृत भएको रात
हो त्यो रात!
त्यसकी स्वास्नी काखमा बच्चा च्यापी, बिनाशब्द रोइरहेकी थिई,
गाउँ-शहर खिँचातानी र दङ्गा फसादले नीरवता छाएको थियो,
गल्लीका प्रत्येक झ्याल-ढोका बन्द थिए-
मूल सड़कको गल्लीमा खुल्लम-खुल्ला
त्यसले मेरो शरीरको तन्तु-तन्तु
भोकाएको सिंहले जस्तो चिथ्रा-चिथ्रा पारेका,
यी नील डामहरू
शरीर र मनमा गढ़ेको
कसलाई र कसरी देखाउँ?
जब कि-
हिज शान्त्वना र शुभचिन्तकका
भलादमी अनुहारहरू
अर्कोतिर फर्काई
मेरै छेउबाट कुलेलम् ठोकेथ्यो।
त्यो रात
हो त्यो रात!
मेरो अचेतावस्थामा
गल्लीका एक दर्जन भुस्याहा कुकुरले
मेरो अस्तब्यस्त शरीरलाई सुङ्दै
रात बिताएथ्यो।
मान्छेले मान्छे नपालेर
जन्तु पाल्ने प्रश्नका भ्रमहरू
मेरो मनबाट स्वत: हटेथ्यो।
यो परिवेश
यो अनिच्छा,
यो असमेल पेट,
यो अथाह पीड़ा
प्रदुषणयुक्त सम्मिश्रण वातावरणमा
पुन:त्यही स्थिति दोहोर्याउने
मेरो पेटमा हुर्कंदै गरेको
यो पिलन्धरेनै
भावी पिड़ीलाई कसरी यै उपहार भनुँ?
तिनीहरूको अपेक्षालाई कसरी पदच्यूत पारुँ?
अनि
कसरी तिनीहरूकै पिताका म शिकार हुँ भनुँ?
खोई
– सुधा एम. राई, गान्तोक
(स्रोत : Snowlinenews.com)