~कमला आँसु~
फूलहरूसँग रंगहरू चोरेर
चन्द्रमा अनि ताराहरूसँग रोशनी सापटी मागेर
कैयौं मनमोहक हावा अनि
पानीहरूसँग अंकमाल गरेर
लाखौं ढुङ्गा माटोहरूसँग लुकाचोरी खेलेर,
पहाड़ झरना, खोला, नदीहरू, नालाहरूसँग रमाउँदै
वट-वृक्ष, पोथ्रा पोथ्री हरियालीहरूमा
कति नॉंचे, उफ्रिए, रमाए
खुशीका अनगन्ती पलहरू
विशाल प्रकृतिको न्यानो मखमली काखमा
नयॉं रूप नयॉं रंगहरूसँग रंगाउँदै
भावविभोर भएर
बधैंचाका थुप्रै फल फूलहरू टिपे
खाए, सजाए, चढाएँ
मग मग वासना चलिरहेको सुनौलो विहानीमा
मन्द गतिको हावासँग अंकमाल गरेर
शितल पवनको मायालु सड़कको छात्तीमा
सुनौलो सूर्यको लालिमाहरूसँग म
निरन्तर ब्रह्ममूहूर्तमा अमृत बेलाको
अपार आनन्दहरूको रस पान गर्दैछु
कति सुन्दर ती पारिका दृश्यहरू
तल खोला अनि बगरहरूबाट
बादलका रेखाहरू कति द्रुत गतिमा
गगनलाई चुम्न सफल भएको
ती क्षितिजहरू कति विशाल,
त्यस्तै क्षितिज विशाल स्वच्छ म
म बॉंच चाहन्छु, हॉंस्न चाहन्छु
गगनमा कति मज्जाले चम्किएका
ती ताराहरू, चन्द्रमा पनि
फेरि सिरिरि हावाको मन्द झोंकाहरूले
मलाई रोम रोममा मुसारिदिन्छ
म पुलकित भएर सूर्य नमस्कार गर्छु
मेरो चेतना जागेको छ, स्मरण शक्ति
मनन र चिन्तनको मधुर ध्वनि –
मभित्र गुञ्जिरहेछ
म हरियो दूबोहरूको मखमली चौरमा
नांगो पाउहरू, शितको थोपाहरूमा डुबाउँदै
दगुर्छु, उफ्रन्छु, रमाउँछु,
अनाथलयाको परिवेशले मलाई
कति मर्महात बनाएको थियो, तर
मान्छेको ममता नचिनेको मनले,
हावाको स्पर्श, शितको शितलता,
सूर्यको अंकमाल,
जूनको माधुर्य पाएको छ,
सॉंच्चै कति मीठो अपार आनन्दको सागर
ब्रह्ममूहूर्तको अमृत बेला!!
(स्रोत : Snowlinenews.com)