~सुधा एम. राई~
अभीप्साका रेतिलो खडेरी
मेरो मूर्छनाको चित्रबस्ती
मौन अनि नि-शब्द
आखिर,
तिमी आयौ
अनवरत मरूभूमि पार गर्दै
परन्तु कसैको निम्ति
ह्रदयग्राही
तिम्रो तृष्णाका केही बुँद
ग्रहण गर्न पाऊँ
तिम्रो जीवनका केही थोपाहरू
यो बञ्जर छाती भिजाउन पाऊँ
अनि पाऊँ
मेरो नग्नतालाई ढाक्न
मात्र हत्केलाभरिको वस्त्र.
यद्यपि
म अ़ञ्जान होइऩ
तिमी स्वयम् पनि मरूभूमिमा छौ
मसम्म पुग्नलाई
तिमी सुस्त-सुस्त कदम बढाऊ यतातिर
खडेरीका प्रखरहरू टेक्दै
नजिक
मेरो हृदयको नजिक
त्यो जीवजल
क्लान्त तिम्रो उच्छवासबाट अनायसै निचोरिएर
चुहुन्छ जब मेरो शुष्क ओंठमा
बञ्जर छातीमा
केही दबेको नाभि हुँदै
यौनाङ्गसम्म अनि
उर्बर भइदिन्छ रेगिस्तान
अभीप्साका रेतिलो खडेरी
ए! मेरो मूर्छनाका चित्रबस्ती
यसक्षण मलाई तिम्रो मौनता र नि-शब्दताबाट
उठेर एउटा जवानी बाँच्न् देऊ
-गान्तोक
(सुधा राईले परिचित सुधा एम राईको भर्खरै ‘पदचिन्ह’ नामक पुस्तकको विमोचन भएको छ।)
(स्रोत : Snowlinenews.com)
