~डा. कविता लामा~
परदेशी छोरा तिमीलाई सम्झी यो पत्र पठाउँछु
खोलेर पढ् आमाको व्यथा पत्रमा लेखेकी छु
आमा र बाउ रोएको कहाँ गाउँ-घरले जान्दछ
पत्र यो लेख्नुपर्ने नै भयो मनले भन्दछ
छोरा,मनले भन्दछ।
कति पो रूनु दिनरातभरि पीडा यो देख्तैन
कति छ अभाव घरमा तिम्रो बाउले भन्दैन
बाउले केही नभने पनि छोराको माया छ
आशालु आँखा यो बाटोभरि निरन्तर पुगेको छ
छोरा, निरन्तर पुगेको छ।
घर नै रित्तो गाउँ नै शून्य वनपाखा अँध्यारो
हरियाली छैन पहाडभरि जग नै अँध्यारो
हे छोरा तिमी फर्क न फर्क यो घर सम्झेर
म बूढी आमा कति दिन बाँच्छु यो घर रूङ्गेर
छोरा, यो घर रुङ्गेर
फर्के आऊ न आमाको काखमा यो दुखी भन्दछ
आमा र बाउको एकमात्र
तिमी सन्तान हो भन्दछ
चाहिएन मलाई रूपियाँ र पैसा घरबार छँदैछ
एकसरो खानु लाउऩु छ यहाँ लोभ किन गर्नुछ
छोरा,लोभ किन गर्नुछ।
आँखाको तारा परदेशमा तिमी कसरी बस्तैछौ
सम्झेर ल्याउँछु तिमी झै छोरा कसरी हास्तैछौ
गलेको शरीर थरथर काँप्छ
जीवनको अन्तिम क्षण
चोरा यो हेर्ने इच्छा छ
साह्रै कति पो थाम्नु मन
छोरा कति पो थाम्नु मन।
फर्केर आऊ न हे, मेरो छोरा नून् भात खानेछौं
परिवार साथ भए पो सधैं शान्तिले बाँच्नेछौं
उमेर पाको भएको बाउले तिमीलाई पर्खनेछ
यसचोटि पनि आएनौ भने मन हाम्रो मर्नेछ
छोरा,मन हाम्रो मर्नेछ।
डाँडा र काँडा काटेर गयौ गाउँ-घर नै भुलेर
के सोची गयौ सधैंलाई तिमी मन कहाँ अल्झेर
पोल्दछ छात्ती चोराको यादमा यो पहाड् हेरेर
पढायौ धेरै सपना बोकी दुख नै गरेर
छोरा दुख नै गरेर।
यो बूढी आमा फुलेकी सेतै तिमीलाई सम्झेर
मुटुको ढुङ्गा फ्याँकेर अब आऊ छोरा फर्केर
छोरालाई सम्झी यो पत्र लेख्छु
आशाले बाँचेकी छु
अँगालो फैलाई बाटो म हेर्छु
तिमीलाई पर्खेकी छु
छोरा,तिमीलाई पर्खेकी छु।
(स्रोत : Snowlinenews.com)