~वीणाश्री खरेल~
मेरो आगमनको
एकएक पललाई
आफ्नै घर-आँगनमा
मिलनका सपनाहरू सजाएर बसेकी तिमी
खुशीका गुराँसहरू
मनभरि फुलाएर पर्खेकी तिमी,
मायाका उन्मादमा
बसन्ती भएर मात्तिएकी तिमी
मेरो नआउने खबर पाउँदा,
मरे तुल्य भयौ होला तिमी
प्रिय।
बन्दुकमा बाँधिएको मान्छे परें म,
समय त्यस्तै प-यो-
यस पटक आउन सकिनँ
मलाई क्षमा गर।
सुरक्षित किल्लाहरूमा बसेर
बिहानको रक्तिम सूर्य
तिम्रो सिउँदोभरि छरिएको देख्छु
घढीको सुइ र बिगुलको ध्वनिसंगै ब्युँझेर
चियाको लाइऩमा उभिन्दा
तिम्रो चुराको आवाज सुन्छु
झझल्कोले मुटु दुख्दा मन भित्रभित्रै रून्छु।
धूँवा-धूलो र बारूदमा मृत्युका गन्धहरूमा बसेर
युद्ध-मोर्चाबाट म यो पत्र लेख्दैछु
यद्यपि कर्त्तव्यको वेदीमा पोलिएर
तिमीलाई उज्यालो दिँदैछु।
प्रिय
मृत्युलाई जित्छु भनेर
कसम खाएको मान्छे परेम म-
हुनसक्छ भोलि हार्न पनि सक्छु
समय त्यस्तै प-यो
यसपटक आउऩ सकिनँ
मलाई क्षमा गर।
हामीले रोपेका फूलहरू
सप्तरंगी सपना भएर फुलेका होलान्
त्यसलाई छोराको अनुहारमा हेर्नु
अनि मलाई सम्झेर छात्तीमा टाँस्नु।
पोखरीमा छोडिएका माछाहरूका बच्चाहरू
ठूला-ठूला भए होलान्-
तिनीहरूलाई आफ्नै सम्झेर माया गर्नु
अझ पोखरीलाई तलाउ बनाएर
पौडिनु दिनु।
दशैं गयो-तिहार गयो
ल्होसर र सारा चाड् पर्व गयो
देशभित्रै परेदशी छु म
म नआउने खबरले तिनीहरू सबैसबै विक्षिप्त होलान्
म पति त एंठन परेको छु,
प्रिय।
आफ्नै महत्वकांक्षामा-
केदै भएको मान्छे परें म-
यसपटक यस्तै भयो
तिमीलाई भेट्न आउऩ सकिनँ
मलाई क्षमा गर।
मलाई थाहा छ-घर चुहिने भएको छ,
जब विछोड् वेदना र अभाव नै
चर्किएको छाना भएको छ।
मायाको सिमेन्टले टाल्छु भनेको थिएँ
यसपटक यस्तै प-यो-
आफ्नो लागि नै बाँच्छु भनेर आएँ
थाहा नै नपाई अरूको लागि
बाँच्न बाँच्नु थालेको छु।
आफ्नो सुरक्षा खोज्न म यहां आएँ
थाहै नपाई अरूको सुरक्षामा खटिएँछु
मेरो नआउने खबरले
तिमी बलेंसी भएर रोयौ
हिक्काभरी रोयौ
सिरानीमा घोप्टिएर धेरैबेर रोयौ।
प्रिय-
स्वाधीन भएर पनि
अरूको अधीनमा परेको मान्छे परें म।
विश्वास गर कायर भएर
आफ्नै खुकुरीले नाम काटेर
म आउऩ सकिनँ,
मलाई क्षमा गर।।
-वीणाश्री खरेल, गान्तोक
(स्रोत : Snowlinenews.com)