~विजय बान्तवा~
अनन्तभित्र फेरि पनि पस्दैछु, पस्दैछु,
रमाउँदैछु, घुम्दैछु, अथाह महासागर छ त्यहॉं,
भेटेकै छैन पर्खाल, सिमाना र आकाश,
उड़दैछु, उड़दैछु, पोखिन्दैछु, पोखिन्दैछु,
समात्दैछु, समात्दैछु, छाम्दैछु, छाप्दैछु,
शून्यताका ढिस्कनाहरू, शून्यताका घरहरू
शून्यताका लहरहरू, शून्यताका शहरहरू।
घुम्दैछु, घुम्दैछु, नाच्दैछु, नाच्दैछु,
शून्यताका आगोहरू ताप्दैछु,
शून्यताकै हावाहरू खॉंदैछु,
शून्यताकै लुगाहरू लाउदैछु,
शून्यताकै हावाजहाज चढ़दैछु,
उड्दैछु, उड़दैछु, शून्यता केवल शून्यता घुम्दैछु।
अहँ! कही शेष दिशा छैन, अन्तिम लक्ष्य छैन,
निमग्न शून्यताको महा संसारमा, महासागरमा,
ब्रह्माण्डमण्डलको भित्र, सर्वत्र व्याप्त,
अहँ! म टुंगिएको छैन, म सकिरहेको छैन,
मसँग बादलहरू छन्, तारामण्डल छन्,
खोला-नाला, नदी सागर सबै एकै साथ छन्,
तर पनि तीहरू टुंगिएका छैनन्,
मेरा फैलिएका हातहरू अनन्तसम्म फैलिएका छन्,
म नटुंगिनु के हो, म नसकिनु के हो,
म यतिविघ दूरीभित्र फैलिरहनु के हो,
त्यत्रो अशेष आकाशहरू तरिसकेको छु
र पनि अशेष आकाशहरू अझै तरिसकेको छैन मैले अझै।
यति लामो अशेष यात्राहरू गरिसकेको छु
र पनि अशेष यात्राहरू मैले बॉंचिरहेको छु अझै।
हिड़दैछु, दगुर्दैछु, हिड़दैछु, दगुर्दैछु, फेरि बादलसितै उड़दैछु,
शून्यता टेकेर, शून्यता नै समातेर
शून्यता यति शक्तिशाली रहेछ, शून्यता यति अशेष रहेछ,
शून्यता यति अनन्त रहेछ,
शून्यताको आँखा पनि चारैतिर व्याप्त,
हात, पाउ शरीर सबै चारैतिर रहेछ,
कुन शून्यताको बिन्दुदेखि कुन शून्यताको बिन्दूसम्म
पुग्न सक्दो रहेछु र मैले?
यता पनि ह्वाल्लै पोखिएको शून्यता,
उतै पनि सललै बगिरहेको शून्यता,
बरू शून्य हावामा म पनि तुर्लुङ्ग तुर्लुङ झुण्डिरहेछु
अन्तरिक्षको सतह सतह
बरू शून्य सतहमा नै साउती लगाइरहेछु
सौर नक्षत्र मण्डलकै तह तह,
आफू पनि शून्यतामा विलय हुनुमा नै
अहिले आनन्द आइरहेको छ आकाश-आकाश
आफू पनि अथाह अनन्तको गर्भभित्र समाहित हुनुमा नै
सम्पूर्णता पोखिरहेछ अशेष अशेष—
(स्रोत : Snowlinenews.com)