काया बच्ची भा’की छे । मानौं, उसको बाल्यकाल फेरि फर्किआएको छ । ऊ बाघले झम्टिएझैँ झम्टिन्छे । एकलौटी अडान नछोडी लडीबडी गर्छे । घरमा पालिएको बिरालो जसरी मेरो काखमा बस्न आउँछे । अनि मेरो सर्टको कलर समातेर मलाई प्रेमालिङ्गनमा कस्छे । त्यसपछि ऊ बच्चीलेझैँ अनुरोध गर्छे- ‘ओई ! चट्पटे खान जाम् न !’
उसको उमेर बीस कटेको छैन तर लाग्छ ऊ अझै बालिकै छे । लाग्छ, जिस्किने, चल्ने उसको दैनिक कर्म हो । झन् राक्षसी स्वभावले हाँसी भने भने त बित्यास् नै पार्छे ! तर मलाई उसका बालसुलभ क्रियाकलापहरु एकदमै प्रिय लाग्छन् । म उसका अभिलाषाहरुप्रति तत्कालै सहमति जनाइहाल्छु- ‘जाऔँ, हिँड् ।’
आकाश आगोको भुग्रोमा परिणत भएको छ । अर्थात रातो-पहेँलो घाम टल्किरहेको छ । गोधूलि साँझ छ । दुर क्षितिजमा बादलका राता धब्बाहरु प्रज्वलित भइरहेका छन् । उड्नपंक्षीहरु दिनभरिको घम्साघम्सीपछि आ-आफ्नो बासस्थान फर्किरहेका छन् । चरनतिर गएका गाईबस्तुहरु धुलो उडाउँदै पंक्तिबद्ध आफ्नो गोठ फर्कदै छन् । बसन्त ऋतुको पूर्वसन्ध्या छ । वातावरण एकदमै रोमाञ्चक बनेको छ । बरपीपलहरुमा पालुवा अँकुराइरहेको छ । सायद, चित्रकार हुदोँ हुँ त म यो सौन्दर्यलाई क्यानभासमा उतार्ने थिएँ । तर शब्दको माध्यमद्वारा वर्णन गर्नुको विकल्प छैन । बेला-बेलामा पूर्वीय हावाका मन्द गतिले हाम्रा दुई शरीरलाई स्पर्श गर्छन् । काउकुति लगाउँछ । हामी प्राकृत सौन्दर्यमा आल्हादित हुँदै आफ्ना पाउपंक्तिहरु दौडाइरहेका छौँ ।
काया बसन्ती दिदीले बनाएको चट्पटको रसिक छे । उसै त ऊ चट्पटे भनेपछि हुरुक्कै हुने गर्छे । ऊ प्रत्येक साँझ यसरी नै यहाँ मलाई खिचेर ल्याउछे । म पनि आज्ञाकारी बालकझैँ उसको पछि लहसिँदैँ आइपुग्छु ।
एकदिन,
‘ओई ! के पढेको ?’ उसले भनी ।
‘देखिनस् !’ मैले झर्कदै भनेँ- ‘द सङ्ग अफ लाइफ !’
‘ह्या, कतिचोटि पढ्छस् यो कविता ?’ ऊ कराई- ‘झ्याउँ लाग्दैन यसरी दोहोर्याएर पढ्न ?’
‘झ्याउँ लागेको भए पढ्थे र ?’ मैले प्रतिप्रश्न गरेँ- ‘तँलाई साहित्यको रस था’भए पो !’
‘भो, पदैनु उसले भनी- ‘मलाई पागल बन्नु छैन ।’
‘तेरो मतलब म पागल ?’ म सन्किएँ- ‘बाघलाई मासु खान सिकाउँछेस् ?’
‘तँलाई नै था होला नि ?’ उसले पढाउन खोजी- ‘रियल लेटरेचर क्यान बि क्रियटिड ओन्ली बाइ म्याड मेन, हेरमिट्स, हेरेटिक्स, ड्रिमर्स, रिबेलस एण्ड सेक्टिस नट बाइ डिजिलेन्ट ट्रस्वर्थी फक्सनअरिज ।’
‘त्यै त !’ मैले खिसी गर्दै भनेँ- ‘तिमीहरुजस्ता सद्देले सक्तैनौ !’
‘भो छाड् दे । यस्तो अन्त्यहीन बहस नगरेकै बेस ।’ उसले भनी- ‘ओई ! चट्पटे खान जाम् न !’
‘ह्या, पढिरा’छु ।’ मैले अस्वीकार गरेँ- ‘तँ जा ।’
‘किन भाउ खोजेको ?’ ऊ झर्किई- ‘तँलाई जहिल्यै जबरजस्ती गर्नुपर्छ ?’
बुझ न ! म जान्न ।’ मैले नरम हुदैँ भनेँ- ‘तँ पुगेर आ’न ।’
‘साले ! उसले गाली थाली- ‘सुँगुरजस्तो ब्यहोरा देखाउँछेस् । यहीँ थुतुनो जोतेर बस ।’
ऊ जोडले ढोका खोलेर बाहिर निस्की । म अक्क न बक्क हेरेकोहेर्यै भएँ । अब फकाउन उसको मोबाइलमा फोन गरेँ । कल लाग्न मुश्किल प-यो । उसले ‘इनकमिङ कल ब्लक’ गरिछ । कम्प्यूटर बोल्यो- ‘माफ गर्नुहोला तपाईले सम्पर्क गरेको नम्बरमा आगमन कल निषेध गरिएको छ ।’ त्यसपछि उसको घर गएँ । ऊ ढोका थुनेर बसेकी रहिछ । बाहिरबाट स्वर यन्त्र फाटुञ्जेल बोलाउँदा पनि बोलिन । त्यसपछि मेरो हार भयो । म कोठा फर्किएँ । त्यसपश्चात म एकदमै व्यस्त भएँ । उसलाई फोन गर्न र भेट्न जान समय पनि भएन ।
ऊ कहाँ नबोलिकन बस्न सक्छे र ! एकाबिहानै ङ्च्चि सेता दाँत देखाउँदै मेरो कोठामा आइपुगेकी थिई । उसको अनुपस्थितिमा मलाई पनि न्यास्रो लागिरहेको थियो । ऊ नहुँदा पानी विनाको माछाझैँ ब्याकुल हुने रहेछु । शरीरबाट एउटा अङ्ग छुटैझैँ महसुस हुने रहेछ । सायद घनिष्टताले होला । हामी परस्परमा बाझाबाज जस्तो तँ-तँ म-म गथ्यौं तथापि त्यो असीम प्रिय लाग्थ्यो । म उसको सामीप्य रहन अभ्यस्त बनिसकेको रहेछु । मेरा शरीरका अवयवहरुमा उसकै नामको रक्तसंचार हुदोँ रहेछ । यसलाई मेरो आशक्ति मान्न सकिन्छ ।
मलाई चट्पटेभन्दा पनि बसन्ती दिदीको गफ असाध्यै चाख लाग्थ्यो । प्रेम र दर्शनका कुराहरु सुन्न म लालायित हुने गर्दथेँ । पातलो शरीर, चाउरिँदै गएका गाला थिए उनका । उनी जवानीमै बूढीजस्तै देखिन्थिन् । उनी जहिल्यै नीलो कुर्ता-सुरुवालमा चट्पटे बेच्न बस्थिन् । यद्यपि उनको चटपटे गाउँमै प्रचलित थियो । मान्छेहरु टाढा-टाढाबाट उनको चट्पटेको स्वाद चाख्न आइपुग्थे । उनलाई चट्पटे बनाउन हम्मे-हम्मे पर्ने गथ्र्यो । कति मान्छेहरु घण्टौघण्टा पर्खिएर पनि खान पाउँदैन थिए ।
कुरैकुरामा मैले सोधेको थिएँ- ‘तपाई व्यस्त देखिनुहुन्छ । तपाईँको श्रीमानचाहिँ के गर्नुहुन्छ नि ?’ उनको मुहारमा कुनै परिवर्तन आएन । मानौँ, उनले मेरो प्रश्न सुनेकी छैनन् । उनी २/३ मिनेट मौन बसिन् । मलाई लाग्यो- ‘बिथ्यामा यस्तो प्रश्न सोधेछु !’
‘खै ! के गर्छन् भाइ ?’ उनी बिस्तारै खुलिन्- ‘अब उनी पराया भैसके ।’
उनको प्रतिउत्तरले म दुविधामा परेँ । उनले के भन्न खोजेकी हुन त्यो ठम्याउनै गाह्रो प-यो । यसअघि नै मैले उनको अनुहार पढिसकेको थिएँ । उनको जीवन कहिल्यै सुखपूर्वक बितेन । उनी पल-पल आफ्नो यौवन कागती जसरी निचोर्थिन् । रहरहरु खुर्सानीजसरी टुक्रा-टुक्रा पार्थिन् । मुरै जसरी उनको जीवन बतासिएको थियो । उनको अनुहारमा असन्तुष्टीका आभाहरु देखेको थिएँ । उनको शारिरीक बनावटले नै उनीमाथि केही बित्यास् परेको जस्तो प्रतीत हुन्थ्यो । म उनीसँग आफ्नो अन्तरङ्ग साट्न चाहन्थेँ । तर चट्पटे खानेहरुको भीडले यो सम्भाव्य थिएन । उनि पनि आफ्ना क्रन्धनहरु कसैमाथि पोख्न नपाएर हरियो तलाउजस्तो बनेकी थिइन् । म त्यो तलाउलाई स्पर्श गर्न चाहन्थेँ ।
काया र मात्र थियौँ त्यसबेला । उनी मेरो मुखतिर हेर्दै चुपचाप थिइन् । मैले अन्जान प्रकट गरेँ- ‘दिदी कस्तो पराया ?’
उनी बनावटी हाँसो हाँस्दै बोलिन्- ‘अर्को बिहे गरेपछि पराया हुँदैनन् त लाटा !’
‘ओऽऽ कुरा यस्तो पो !’ म शान्त तलाउलाई चलाउँदै थिएँ- ‘किन उहाँले अर्को बिहे गर्नु भो त ?’
‘खै !’ उनी बहकिँदै थिइन्- ‘म नि यहीँ प्रश्नको उत्तर खोजी गर्दैछु भाइ । ममा के कमी थियो र ?’
‘अनि तपाईले क्यान्टिनचाहिँ किन बन्द गर्नुभयो नि ?’ मैले प्रसङ्ग मोडेँ- ‘घाटा भयो कि ?’
‘ओई ! तँ पत्रकार होस् र ?’ काया मकै भुटेझैँ पड्किन थाली- ‘किन अर्काको नीजी कुरामा सोधखोज गर्छस् ?’
‘तेँरो मुखमा एकछिन बिर्को लगा त !’ म कराएँ- ‘तँ चुप बस्न सक्दिनस् ?’
ऊ चुपचाप रही । बसन्ती दिदी प्याज काट्दै थिईन् । उनका आँखाहरु रसाएका थिए । किनकि मैले उनको निको हुन आटेको घाउलाई कोट्याइ दिएको थिएँ ।
बसन्ती दिदीको ठेलामा थरिथरिका बट्टाहरु राखिएका थिए । त्यसमा चना, मटर भटमास, बदाम भुटेर प्याकेटमा सजाइएका थिए । त्यस्तै स्टिलका आरीमा आलु उसिनिएर राखिएका थिए । एउटा आरीमा हरिया केराउहरु राखिएका थिए । काया त्यो टिपेर खान थाली । म त्यो दृश्य देखेर विचलित हुन्छु । अनि पछारिन पुग्छु आफ्नो बाल्यकालमा-
कान्छाले भन्यो- ‘ओई चाउरे । चट्पटे खान्छस् ?’
हामी धुलोमा खोप्पी खेल्दै थियौँ । लुगाभरि माटैमाटो लागेको थियो । सायद म त्यतिखेर कक्षा ३ मा पढ्दो हुँ । हामी त्यो दिन स्कुल गएका थिएनौँ । मेरो मुख रसायो र भनेँ- ‘पैसा छैन । खुवाउँछस् त ?’ उसले सर्त राख्यो- ‘तेरो गोजीमा भाको सप्पै गुच्चा दे न ।’
‘हुन्छ’ मैले सहमति जनाएँ- ‘बाठो रै’छ गन्देको भाइ ।’
गाउँमा राजन अंकलको चट्पटेको ठेला बेलुखीपख आउँथ्यो । उनले खै कति पढेका थिए कुन्नि ! अंग्रेजीमा बर्बराइरहेका हुन्थे । हामी त्यो सुनेर खित्का छोडी हाँस्ने गथ्र्यौं । केही बुझेर, केही नबुझेर । कान्छाले भन्यो-
‘अंकल दुई रुप्पेको चट्पटे दिनु त ।’
मेरो आँखा ठेलामा राखिएका केराउतिर एकाएक ठोक्कियो । ठूला मान्छेहरु चट्पटे बनाउन लगाएर ती केराउहरु खाने गर्दथें । त्यस्तरी खादा राजन अंकल क्यै भन्दैन थिए । मलाई पनि त्यस्तै गर्न रहर लाग्यो । आरीमा क्वाच्च फोहर हात हालेँ । यो देखेर राजन अंकलले घुमाएर एक चड्कन दिए । त्यसपछि मलाई होसै भएन । कतिखेर कुद्दै-कुद्दै घरमा पुगेर खाटमा सुतेछु । म बेहोस भएछु । मान्छेहरु आएर मलाई पानी छम्केको मात्र याद छ । कसै-कसैले राजन अंकललाई गाली गर्दै थिए- ‘मरेको भए के हुन्थ्यो ?’ त्यसपछि राजन अंकलले सित्तैमा ठूलो सोलीमा मलाई चट्पटे ल्याएर दिए । मैले खुशी हुदैँ कपाकप खान थाले । कान्छा पनि चट्पटे लिएर आइपुग्यो ।
म अद्र्धमुर्छित भएछु । झसङ्ग हुन्छु । अनायासै एउटा विस्मृतिको पाना बत्तासिदै आएको थियो त्यसबेला । काया अट्टहास गर्दै थिई । बसन्ती दिदी भन्दै थिइन्- ‘यहाँ जीवन नै घाटा भएपछि के क्यान्टिनका कुरा भाइ ।’ उहाँ बग्न थाल्नुभयो । कसैले बर्षौदेखिको मनको बाँध खोलिदिएको थियो- ‘हामीले कलेज छेऊमा एउटा क्यान्टिन खोलेका थियौँ । क्याटिन आशातीत भन्दा मजाले चलेको थियो । हामी दैनिक मःम र चाउमिन बनाउँथ्यौँ । विद्यार्थी र प्राध्यापकहरुको भीड अत्याधिक हुने गर्दथ्यो । श्रीमान काउण्टरमा बसेर हिसाब-किताब सम्हाल्ने गर्दथे । म चाहिँ भान्सामै अभ्यस्त रहन्थेँ । केही महिना हामीले अत्याधिक मुनाफा गर्यौँ ।
तर अनायासै उनमा परिवर्तन आएको महशुस हुन थाल्यो । उनि क्यान्टिनको हिसाब-किताबमा लार्पावाही गर्न थाले । उनी जहिल्यै विद्यार्थी केटीहरुसँग जिस्किएर बस्न थाले । मलाई देखी सह्य हुँदैन थियो । म काममा दलिन्थेँ तर उनी रङ्गरङ्गिला गर्दै बस्थे । बिस्तारै हाम्रो क्यान्टिन घाटामा जान थाल्यो । म नहुदाँ केटीहरुलाई उधारो दिँदा रहेछन् । मलाई यो थाहै थिएन, पछि थाहा पाएँ । मेरो रिसले शिर गह्रौ भयो ।
एकसाँझ,
‘अचेल घाटा मात्र लागि रा’छु म स्पष्ट हुन चाहेँ- ‘किन यस्तो ?’
‘सबै उधारो जान्छ ? उनी पन्छिन खोजे- ‘उठ्ला नि बिस्तारै ।’
‘कसरी उठ्ला ? खातामा कसैको नामै छैन ।’ म झर्किएँ- ‘कुन चरीलाई सस्तोमा खुवायौ ?’
‘के रे ?’ उनी कड्किए- ‘खाली शंका गर्नुपर्छ ? रहर लाग्छ भने तँ पनि एउटा नाठो खेला न !’
‘छि ! के भनेको यस्तो ?’ म गर्जिएँ- ‘भोलिदेखि क्यान्टिनमा बस्नुपर्दैन । म पनि एउटा नाठो खेलाउँदै क्यान्टिन चलाउँछु ।’
‘तँ आफैँ गर ।’
उनी बतासिए- ‘तेरो घरमा तँ आफैँ बस् । म गएँ ।’ उनी सम्साँझै घरबाट रिसाएर निस्किए । मलाई असाध्यै रिस उठेको थियो । ‘आखिर मरिच आफ्नै रागले चाहुरिन्छु भनेरे मैले वास्ता गरिनँ । तर अहँ ! महिनादिन बित्यो । उनी आएनन् । मैले आवेगमा केही शब्द चित्त दुख्ने गरी भनेँ होला तर त्यसको सजाय यस्तो दिनुपर्छ ?
एकदिन म तीनछक्क परेँ । उनीप्रतिका मेरा सबै आस्थाका धराहरा ढल्न थाले । उनी बजारमा एउटी केटीसँग अँगालो मार्दै हिँडेको देखेँ । त्यो केटी त्यहीँ थिई जोसँग उनी क्यान्टिनमा लहसिन्थे । मेरा सम्पूर्ण शरीर गले । म चुपचाप आफ्नो कोठा आइपुगेँ । अनायासै आँखा रसाएर आयो । रातैभरि रोएँ । छोरीहरु पनि रुन थाले केही नबुझिकनै । अन्ततः म क्रमशः समालिदै गएँ । क्रमशः सम्हालिनु प-यो ।’
‘लोग्ने मान्छेलाई त मुठ्ठीमा पो लिन सक्नुपर्छ त ?’ काया जान्ने भई- ‘प्रहरीमा बहुविवाहको मुद्दा दर्ता गर्नु पथ्र्यो नि ?’
‘नानी, प्रेम जबरजस्ती हुन सक्दैन ।’ उनी सम्हालिदै सम्झाउन थालिन्- ‘मैले उसलाई स्वतन्त्र छोडिदिएँ । किनकी मैले सच्चा प्रेम गरेकी थिएँ । र अहिले पनि गरिरहेकी छु । उसलाई मसँग बस्न मन रैनुछ । म जबरजस्ती पनि गर्न सक्दिन । आफ्नो पेट र यी छोरीहरुलाई जसरी नि पाल्न सक्छु । मैले यहीँ संकल्प लिएँ ।’
‘कमसेकम आफ्ना छोरीहरुको बारेमा त सोच्नुपर्छ ! मैले अनायासै परेको झरी शान्त पार्न खोजेँ- ‘आफ्नो रगतको त माया लाग्नुपर्ने हो । कस्तो निर्दयी रहेछ- भ्याम्पायर !’
‘त्यै त भाइ’ उनले भनिन्- ‘अहिले छोरीहरु बाउको नामै सुन्न चाहँदैनन् ।’
मेरो चटपटे खल्लो भयो । उनको आर्तनाद सुनेर मेरा आँखाहरु पूर्णतः रसाए । काया पनि स्तब्ध थिई । उसको केटाकेटीपना पनि थिएन ।
‘दिदी अलि धेरै कागती लगाइदिनु है ।’ काया अमिलो देख्नेबित्तिक्कै रयाल चुहाई हाल्थी- ‘मलाई पीरो अमिलो असाध्यै मनपर्छ ।’
‘हुन्छ बैनी । तिम्ले भने बमोजिम गर्छु ।’ उनी जिस्किन थालिन्- ‘यी भाइको जीवनचाहिँ कहिल्यै अमिलो नहोस् । सार्है सोझा लाग्छन् मलाई ।’
काया खितित हाँस्नथाली- ‘आम्मै ! अब म यसलाई कागतीकै झोलमा डुबाइदिन्छु’ -हाऽऽ हाऽऽ हाऽऽ । वातावरणमा हाँसो फैलियो । बसन्ती दिदीलाई पहिलोपटक हाँसेको देखेँ ।
अन्त्यमा,
आजकल त्यहाँको परिवेश प्रेममय भएको छ । बसन्ती दिदीले मन मिल्ने साथी भेट्टाएकी छिन् । उनको छेऊमा अर्को चट्पटे ठेला थपिएको छ । रामलाल बसन्ती दिदीलाई असाध्यै प्रेम गर्छ । दुई चट्पटे मन एक भएका छन् । ग्राहक नआउँदाको बखत हाँसोको मेहफिल जम्ने गर्छ । बसन्ती दिदी रामलालसँग मज्जाले गफिएको देख्न सकिन्छ । उनको अनुहारमा खुशीका आभाहरु तैरिएका छन् । खै के कुरा गर्छन् ? यता काया पनि बदलिएकी छे । उसको केटाकेटीपना के जान्थ्यो र ! उसले आज ‘पल्पसा क्याफे’ पढ्न लागेकी छ । अब ऊ पनि साहित्य पढ्ने रे !
(स्रोत : Ghatanarabichar.com)